शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

हेटौँडा साहित्यिक महोत्सव सम्पन्न

मङ्गलबार, २४ फागुन २०७८, १२ : १४
मङ्गलबार, २४ फागुन २०७८

मकवानपुरका महिला साहित्यकारको संस्था आँचल साहित्य कला पुञ्जले आयोजना गरेको दुई दिने हेटौँडा बृहत् साहित्य महोत्सव सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिकाको सहयोगमा आँचलले मकवानपुरमा पहिलो पटक देशभरका साहित्यकारलाई आमन्त्रण गरी महोत्सवको आयोजना गरेको हो । 

महोत्सवको पहिलो दिन ‘साहित्यमा राजनीति’ विषयमाथि बहस भएको थियो । ध्रुव अधिकारीका अनुसार उक्त कार्यक्रममा साहित्यकार भूपाल राई र समीक्षक घनश्याम घिमिरे वक्ता रहेका थिए भने सहजकर्ताको काम ठाकुर बेलबासेले गरेका थिए । सबै वक्ताहरुले साहित्य राजनीतिबाट टाढा हुन नसक्ने बताए । 

सोही दिन ‘भाषिक दृष्टिले साहित्यमा नारी’ विषयमा कार्यपत्र प्रस्तुत भएको थियो भने साहित्यकार ज्ञानु अधिकारीले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उक्त कार्यपत्रमाथि साहित्यकार प्रणेता र राम अविकासले टिप्पणी गरेका थिए ।
सो कार्यक्रममा मकवानपुरसहित देशभरका ४० जना साहित्यकारले गजल तथा मुक्तक वाचन गरे । साँझ साङ्गीतिक कार्यक्रम भएको थियो । पीएम सेन्टर र सुस्केरा परिवारले आआफ्नो सङ्गीतिक प्रस्तुति दिएका थिए । 

महोत्सवको दोस्रो दिन बिहान हेटौँडामा साइकल संरचनाको सम्भावना विषयमा अन्तक्र्रिया भयो । उक्त कार्यक्रम आँचल र हिमालयन राइडर्स सोसाइटी मकवानपुरले आयोजना गरेरेको थियो भने दोस्रो कार्यक्रम मकवानपुरको पर्यटकीय स्थल गुम्बा डाँडामा भएको थियो । ‘मकवानपुरको साहित्यिक महक’ विषयको बहसमा साहित्यकार तारालाल श्रेष्ठ, विना थिङ र सञ्जय साह बहसकर्ता र सुवास खनाल सहजकर्ता थिए । उक्त कार्यक्रममा मकवानपुरको साहित्यको विगत र वर्तमानका विषयमा छलफल भएको थियो । 

यसैगरी दोस्रो दिनको तेस्रो तथा महोत्सवको अन्तिम बहस कार्यक्रम ‘समकालीन कविताको मार्ग चित्र’ विषयमाथि भएको बहस भएको थियो । त्यसमा साहित्यकार भूषिता वशिष्ठ, नेत्र एटम र चन्द्र गुरुङ वक्ता रहेका थिए । यसको सहजकर्ता साहित्यकार निमेष निखिलले गरेका थिए । बहसमा साहित्यको वर्तमान अवस्था र अबको साहित्य कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल भएको थियो । बहसकर्ताहरुले जस्तो लेखे पनि साहित्य मान्दा समग्र साहित्य क्षेत्र नै कमजोर बन्दै गएको टिप्पणी गरेका थिए । यसैगरी महोत्सवको अन्तिम कार्यक्रम कविता वाचनको रहेको थियो । उक्त कार्यक्रममा मकवानपुरकासहित ६० जना कविले कविता वाचन गरेका थिए । 

महोत्सवमा मकवानपुरबाट प्रकाशित पुस्तकहरुको प्रदर्शनी, चित्रकार तथा साहित्यकार ऋषि केबी र ऋतिक केबीले बनाएको चिकला प्रर्दशनी गरिएको थियो । यस्तै महोत्सवमा मकवानपुरका महिलाहरुले उत्पादन गरेको हस्तकलाका सामाग्रीहरु पनि प्रदर्शनीमा राखिएको थियो । 

आँचलकी अध्यक्ष अनिता न्यौपानले सबैको सहयोगमा बृहत् साहित्य महोत्सव भव्यताका साथ सम्पन्न भएको बताइन् । हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका सामाजिक तथा साहित्यिक संघसंस्थाको सहयोगले महोत्सवलाई सहज रूपमा आयोजना गर्न मद्दत पुगेको उनले बताइन् । महोत्सवले मकवानपुरको भाषा, साहित्य, कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, उद्योग व्यापार र समग्र सामाजिक विकासमा टेवा पुग्नेको अध्यक्ष न्यौपानले उल्लेख गरिन् । 

साहित्य र समाजसँग जोडिएका विषयवस्तुमाथि बहस, अन्तक्र्रियाले नेपाली भाषा साहित्यको उत्थान हुने हुँदा महोत्सवको आयोजना गरिएको अध्यक्ष न्यौपानेले बताए । 
कार्यक्रमको उद्घाटन सत्र आँचलकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्ष तथा बागमती प्रदेशका सांसद प्रेमबहादुर पुुलामी र हेटौँडा उपमहानगरपालिकाका उपमेयर मिना लामाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा सर्जक सञ्जालका अध्यक्ष निमेष निखिल, अग्रज साहित्यकार तुल्सी थापा, हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलको आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुरका साहित्यक सङ्घसंस्था, जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघसंस्थाका प्रतिनिधि सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप