समानता घरबाटै थालौँ, बोल्नुको साटो देखाऔँ
आज २१ औं शताब्दीमा आइपुग्दा हरेका गाउँ, शहर, देश र विदेशमा लैङ्गिक हिंसाविरुद्ध थुप्रै संघसंस्था, मानवअधिकारकर्मी, सरकार, गरिब या धनी देश सबैतिर चर्चा हुने गरेको छ । चर्चा–परिचर्चा, गोष्ठी, सेमिनार लगायत पत्रकारहरूले सञ्चारमाध्यमबाट आवाज उठाउने काम भइरहेको छ । तर, लैङ्गिक हिंसा समस्या ज्यूँका त्यू छ ।
कार्यालयदेखि देश÷विदेशसम्म महिला हिंसाका घटना भइरहेका छन् । बाबुले छोरीलाई, दाजुले बहिनीलाई, श्रीमानले श्रीमतीलाई या साथी÷साथीबीच हिंसाले प्रश्रय पाइरहेको छ । विभेदबाट घर, परिवार, समाज या देश कोही कहीँ पनि अछुतो छैन । यो निकै दुःखदायी अवस्था हो ।
जुनसुकै प्रकारका हिंसाको पृष्ठभूमिमा गरिबी, अशिक्षा, संस्कार, मानसिकता वा पितृसत्तात्मक सोच रहन्छ । तर, हिंसा भन्ने कुरा मानिसको सोच, मानसिकता, मन र बचनमा पनि निर्भर गर्छ । यी सवालमा कर्मठ नबनेसम्म १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान मनाएर खासै उपलब्धि हासिल हुने देखिँदैन ।
अब कुरा गरौँ ः सन्तान जन्माउने कुराबाट । आज हामी छोरा या छोरी, कसलाई जन्म दिँदैछौं भन्ने विन्दुबाटै हिंसा, घृणा, असन्तुष्टि, मनमुटाव र झगडा सुरु हुन्छ । महिलाको जीवनलाई नै छोरा या छोरी पाएको आधारमा विभेद गरिन्छ । आज पनि छोरी पाएकै कारण या सन्तान जन्माउन नसकेकै कारण महिलाहरू हिंसापीडित छन् । सन्तान जन्माउने, छोरी पाउने या सन्तान नपाउने मामिलाको दोष महिलाको मात्र हो ? अवश्य होइन । तर, हाम्रो समाज पितृसत्तात्मक भएकाले परापूर्वकालदेखि नै पुरुषहरू महिलामाथि हाबी हुन चाहिरहेका छन् । महिलाभन्दा आफूलाई फरक देखाउनकै लागि पुरुषहरूले उनीहरूको बाबुबाजेबाट त्यही खालको संस्कार पाएका छन् ।
महिलामात्र हिंसापीडित छैनन् । अहिले महिला र पुरुष नै हिंसामा छन् । हाम्रो संस्कार हेरौँ ः सानैबाट बाबुआमाले छोरा र छोरीलाई नै विभेद गरिरहेका हुन्छन् । ‘छोरी भएर ठूलो स्वर गर्नुहुन्न । छोरीले घरको काम गर्नुपर्छ । बाहिर गएर घर फर्कन ढिला गर्नु हुँदैन...’ आदि । तर, छोराले पनि त ठूलो स्वर गर्नु हुँदैन । बाहिर गएर ढिला आउँदा हुन्छ त ? कहाँ लेखेको छ ? यो हामीबीच नै हुर्किएका विषाक्त सांस्कारिक नतिजा हुन् । यसैलाई लिएर महिलामाथि हिंसा भएको छ ।
व्यवहारमा केटाकेटी र छोराछोरीलाई समानताका साथ हुुर्काइबढाई पढाएर समान व्यवहारिक र नैतिक शिक्षा दिनु प्रत्येक आमा बाबुको जिम्मेवारी र आवश्यकता हो । तर, हामी आमाबाबु पनि उस्तै छौँ । छोराले बुढेसकालमा पाल्छ भनेर छोरीलाई विभेद गर्छौँ । छोरीले पनि पाल्न सक्छन् भन्ने हामी ठान्दैनौँ । आज सबै बाबुआमालाई छोराले नै पालेका छन् त ? कसैले पशुपतिमा, वृद्धाश्रममा, कसैलाई बाटोमा तिनै छोराले छोडेका छन् । यी मामिला हाम्रो हुर्काइको मनोविज्ञानसँग जोडिएको छ ।
छोरी–बुहारीको ठाउँबाट हेर्दा अर्को महिला हिंसा देख्न सकिन्छ । त्यही छोरी भएकामा विभेद र बुहारी भएपछिका मानसिक÷शारीरिक विभेद फरक छ । छोरीलाई बाबुआमाले माया गर्न नजिकबाट बुझ्ने, सरसल्लाह लिने÷दिने गर्दा छोरीबाट दर्बिलो आत्मीयता पाइन्छ । तीनै बाबुआमाले बुहारीलाई व्यवहार, दिने जिम्मेवारी, दया, माया, गराइ र बुझाइ फरक पर्ने गरेको छ । बुझाई र भोगाई नै यसको प्रमाण हो । त्यही छोरी, त्यही महिला, त्यही आमा श्रीमती नै व्यवहारिक, मानसिक, सामाजिक, सांस्कृतिक अनि पितृसत्तात्मक चिन्तन र व्यवहार अर्थात् हिंसा भोग्न तयार भएको देख्न सकिन्छ ।
एउटा सानो उदाहरण ः मेरो छोरीलाई ज्वाइँँले त सहयोग गर्नुहुन्छ । सरसल्लाह लिने दिने गर्नुहुन्छ । भन्दा कति राम्रो ज्वाइँ पाएको ! सहयोगी, बुझ्ने खालको, मिलनसार ! छोरीलाई सुख छ भन्न चाहन्छन् । तर, तिनै बाबुआमा छोराबुहारीका मामिलामा भन्छन् ः छोराले बुहारीको कुरा सुन्छ । बुहारीलाई सरसहयोग गर्छ । एक अर्कोप्रति समझदार छन् भनी बुझ्नुको साटो छोरालाई जोइटिङ्ग्रे, श्रीमतीबाट डराएको, खाली बुहारीको मात्र कुरा सुनेको जस्ता कचिंगलयुक्त कुरा गर्छन् ।
छोरी र बुहारीबीच विभेद यहीँनेर छ । नीच सोच, ईर्ष्या , डाह, अव्यवहारिक मान्यता, संस्कार, दरिद्र सोचकै कारण हाम्रो समाज विभेदको लाठी समातेर बसिरहेको छ । यस्तो सोच भएको समाजले समय र परिवर्तनको गतिलाई बुझ्न सक्दैन । यही कारण तन, मन र घर, समाज, व्यवहार, मानसिक, शारीरिक तवरबाटै जबसम्म हटाउन सकिँदैन; तबसम्म महिलामात्र होइन, पुरुष पनि हिंसामा परिरहन्छन् ।
हामी त अहिलेसम्म शारीरिक र मानसिक हिंसा के हो भन्ने नै बुझ्न सकिरहेका छैनौँ । विश्वास, सामाजिक, आर्थिक, मानसिक, राजनीतिक लगायत सबै क्षेत्रको सोच र व्यवहार परिवर्तन नगरेसम्म हिंसा घट्नुको साटो बढ्दै जान्छ ।
अब राजनीतिक पाटो हेरौँ । कानुन बनाइयो, हिंसा न्यूनीकरण पहलमा केही प्रगति भयो । तर, त्यही कानुन कति मर्यादित, सम्मानित र परिपालनायुक्त छ त ? नागरिकले कानुन पालना गरिरहेका छन् ? यो निकै ठूलो गम्भीर प्रश्न हो । राजनीतिमा आबद्ध महिलाहरू पनि हिंसापीडित छन् । देश हाँक्न र नीति निर्माण गर्न गएका महिला आफैँ पीडित हुने गरेको बताइरहेका छन् ।
लोकतन्त्रमा पनि अब कहिलेसम्म महिलाहरूलाई हेर्ने दृष्टिकोण फरक भइरहने हो । नेतृत्वमा बसेका महिलाहरूको आवाज नसुन्नु, आवाज उठाउन नसक्नु अथवा त्यो ठाउँमा पुगेपछि पितृसत्ता आवरणमा पर्नु हिंसा नै हो । कानुन कार्यान्वयन गर्ने संयन्त्रहरूले पनि यस्तो स्थिति निम्तिँदा काम गर्न सकिरहेका छैनन् । महिलाहरूलाई हेर्ने विभेदयुक्त नजर, असमान शक्ति संयन्त्र, जताततै पुरुष हाबी भइरहेको अवस्था, नेतृत्व गरिरहेका महिलाहरू पनि विवादित हुनु । यसले हिंसा र विभेदलाई झनै गहन बनाइरहेको छ । अब राजनेताहरूले पनि बोल्ने भन्दा पनि काम गरेर देखाउने बेला आएको छ ।
अब कानुन कार्यान्वयन पाटो केलाउनुपर्छ । प्रहरी प्रशासन निकै जिम्मेवारी हुनुपर्छ । नागरिक समाज, मनो–सामाजिक सेवा, हरेक नेपाली परिवार, समाज, नगर, शहर सबै ठाउँबाट सचेततासाथथ ठूलो साथ आवश्यक छ । उपलब्ध हरेक अवसरमा महिला अझैसम्म पछि नै परिरहेका छन् । जसकारण उनीहरूमा चेतनाको विकास पनि अवरुद्ध छ । यो स्थिति अन्त्य गर्न अब समानता अभ्यास घरबाटै थाल्नुपर्छ । बोलेर मात्र होइन, व्यवहारमै समानता कार्यान्वयन गरेर देखाउनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको अफवाहबिच मनिष मल्होत्राको घरमा किन पुगे तमन्ना–विजय ?
-
धितोपत्र बोर्ड अध्यक्षमा सिफारिस भएकाहरू को कस्तो ?
-
आइतबार शुल्क तिरेर ६६३ जनाले चढे धरहरा
-
एनिमल र सञ्जूमाथि पाएको आलोचनाबारे रणबीर कपूरले के भने ?
-
माछाको आयात प्रतिस्थापनमात्र होइन, निर्यात गर्ने लक्ष्य
-
महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानाको पत्र