आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

छोरीको उज्ज्वल भविष्यका लागि दैनिक १५/१६ घण्टा खट्छिन् कृष्णकुमारी

सडकमा तरकारी बेचेरै छोरीहरुलाई उच्च शिक्षा दिलाउँदै
मङ्गलबार, २४ फागुन २०७८, १० : ०८
मङ्गलबार, २४ फागुन २०७८

आज अन्तर्राष्ट्रिय नारी दिवस । हरेक वर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । नारी दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिन्छ ।

यसरी नारी दिवस मनाइरहँदा हाम्रो समाजमा सङ्घर्षमय जीवन बिताउँदै आएका कयौं महिला भने आफ्नो दैनिकीबाट रत्तिभर पृथक अनुभूति गर्न पाउँदैनन् । उनीहरु नारी दिवसका अवसरमा आयोजना हुने यस्ता कार्यक्रमप्रति बेखबर हुनेमात्र होइन, दुई छाक टार्ने र परिवारप्रतिको दायित्व निर्वाह गर्ने व्यस्तताबाट छुटकारासमेत पाउँदैनन् ।

यस्तै एक सङ्घर्षशील नारी हुन् गुल्मी सिमलटारीकी कृष्णकुमारी जिसी बस्नेत । दुई छोरीकी आमा उनी पतिको साथ तथा सहयोग बिनानै ती छोरीलाई हुर्काउने तथा पढाउने दायित्व वहन गर्दै आएकी छन् । गुल्मीमा जन्मे पनि बुटवलका सडकमा तरकारी व्यापार गर्दै उनी आफ्नो जिन्दगीको सपना कोर्दै छिन् भने छोरीहरुलाई उच्च शिक्षा दिलाइरहेकी छन् ।

गुल्मीको इस्मा दोहोलीमा २०२६ सालमा जन्मेकी कृष्ण बुटवलमा झरेर सङ्घर्ष गर्न थालेको एक दशकभन्दा धेरै भयो । उनी बुटवल उपमहानगरपालिका वडा नं. ४, जेसिस चोकमा एउटा किराना पसल अगाडि सडक पेटीमा बसेर दैनिक रुपमा हरियो तरकारी बिक्री गर्दै आएकी छन् । यसका लागि उनी दैनिक १५/१६ घण्टा खट्नु पर्दछ । यसअघि सानो होटल चलाउँदै आएकी उनलाई कोरोना महामारीका क्रममा लगाइएको ‘लकडाउन’ ले सडकमा तरकारी बेच्न बाध्य बनाएको हो ।

लकडाउन भएपछि होटल बन्द भयो । दुई वर्षसम्म होटल नचले पनि भाडा तिरेर राखिन् । ‘सामान्य अवस्थामा फर्किएपछि फेरि होटल चलाउन सकिएला भन्ने आशमा महिनाको २५ हजार भाडा तिरेर बसेँ,’ उनले भनिन्, ‘नचलेको होटलको भाडा, यता आफ्नो छुट्टै डेरा भाडा गर्दा खर्च धेरै भयो ।’

अनि छोरीहरुसँगको सल्लाहमा आफूले होटल छाडेर सडकमा तरकारी विक्री गर्न थालेको उनले बताइन् । अहिले त्यसबाट आम्दानी पनि राम्रै भएको छ । उनका दुई छोरीमध्ये एउटी छोरी अहिले सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा डिग्री अध्ययन गर्दै छिन् भने अर्की बुटवल बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत छिन् ।

छोरीहरुको पढाइसँगै बुटवलमा बस्नेखाने सबै खर्च कृष्णकुमारीले यही सडकमा तरकारी बेचेरै धानेकी छन् । सामान्य लेखपढ गर्न सक्ने उनले श्रीमान्को साथ सहयोग नपाएको वर्षौं भयो । श्रीमान्को साथ सहयोग नभए पनि आफ्ना दुई छोरीलाई हुर्काउनेदेखि पढाउने काममा उनले कुनै कमी हुन दिएकी छैनन् ।

यसरी सुरु हुन्छ उनको दैनिकी

कृष्णकुमारी दैनिक बिहान ४ बजे उठ्नु पर्छ । त्यसपछि ५ बजेतिर पाल्पा, सल्यानको कपुर, चितवनको नारायणगढ लगायतका ठाउँबाट आउने तरकारी लिनका लागि कहिले गोलपार्क, कहिले नेपालगञ्ज रोड, कहिले राजमार्ग चौराहामा उनी पुग्छिन् ।

त्यहाँ पुगेर ल्याएको तरकारीका आइटमहरु छुट्याएर उनी सडकमा बिक्रीका लागि राख्ने गर्दछिन् । साँझ ८ बजेसम्म तरकारी बिक्री गर्ने अनि बचेको तरकारी मिलाउने र पोको पारेर लैजाँदा साँझ ९ बजिसकेको हुन्छ ।

प्रायः राति ९ बजेपछि उनी डेरामा फर्किन्छिन् । पहिला होटल छँदा पनि यस्तै व्यस्तता थियो उनको । अहिले तरकारी बेच्दा पनि झिसमिसे नहुँदैदेखि राति अबेरसम्म उनी आफ्नै कर्ममा व्यस्त हुन्छिन् ।

बुटवलमा बसेको लामो समय भए पनि उनले राम्रोसँग बुटवल बजार नघुमेको निकै भयो । दैनिक एउटै दिनचर्यामा व्यस्त हुनुपर्दा उनलाई बजार घुम्ने फुर्सद नै हुँदैन ।

‘सुरुमा गुल्मीबाट आउँदा घुमिएको होला, अहिले ५ मिनेट पनि फुर्सद छैन,’ उनी भन्छिन्, ‘तरकारी ल्याउने, मिलाउने, बेच्ने । दैनिक यही काममा व्यस्त हुनु परेकाले बजारतिर घुम्ने फुर्सद नै हुँदैन ।’

यसरी व्यापार गरेर आम्दानी भएको रकमको एउटा हिस्सा उनी दैनिक जम्मा गर्दछिन् । कहिले हजार, कहिले ५ सय उनले फाइनान्समा जम्मा गर्दै आएकी छन् ।

यसरी जम्मा गरेको रकमले नै उनले लकडाउनको समयमा बन्द भएको होटलको भाडा तिर्न सकेकी थिइन् । अहिले उनले पढ्दै गरेकी छोरीलाई सानो सटरमा पसल पनि खोलिदिएकी छन् । भर्खर खोलिदिएको पसलको भाडा बुझाउनका लागि पनि आफ्नो त्यो दैनिक बचतले सहज हुने उनको भनाइ छ ।

‘बिहानदेखि साँझसम्मको मेरो दैनिक मेहनत छोरीहरुका लागि हो । म छोरीहरुलाई जागिर खुवाउँदिनँ, पढाएर व्यापारी बनाउने हो,’ उनले आफ्नो योजना सुनाइन्, ‘त्यसकारण  मैले सङ्घर्ष गरेकी छु । छोरीहरुले पनि साथ दिएका छन् । बिहान पढ्ने र दिउँसो पसल चलाउन थालेको दुई महिना भयो । मेरा सुखदुःख भनेका छोरीहरु नै हुन् ।’

अहिले छोरीले चलाएको पसलको मासिक भाडा ३६ हजार तिर्नुपर्छ । तरकारी व्यापारबाट कम्तीमा भाडा तिर्न पुग्ने गरी बचे पनि आफूहरुलाई सहज हुने उनको भनाइ छ ।

‘यो चोकमा बसेर तरकारी बेच्न थालेको पनि दुई वर्षभन्दा बढी भयो, सुरुको लकडानउपछि सुरु गरेको यो व्यापारले दैनिक खान पुगेको छ, छोरीहरु पढाउन सकेकी छु,’ उनले भनिन्, ‘छोरीहरुको पढाइ अझै बाँकी छ तर अब धेरै वर्ष छैन । मैले सङ्घर्ष गरेर भए पनि मेरो र छोरीको भविष्य बनाउनु छ । त्यसका लागि बिहान ४ बजेदेखि साँझ ८ बजेसम्म यही सडकको धुलो, धुवासँग खेल्दै काम गर्नु परेको छ ।’

तरकारी पसलमा दैनिक १४–१५ हजारको कारोबार हुने उनी बताउँछिन् । गुल्मीको सिमलटारीमा उनको केही जग्गा छ । उक्त जग्गा उनले गाउँलेलाई अधियामा दिएकी छन् ।

श्रीमान्ले कुनै सहयोग नगरे पनि आफूले बुटवलमा आएर संघर्ष गर्दै छोरीहरुलाई राम्रोसँग पढाउन सकेकोमा उनलाई गर्व छ । ‘मैले मेहनत गरेर छोरीलाई यहाँसम्म पढाउन सकेकी छु, अझै पढाउँछु,’ उनी भन्छिन्, ‘उनीहरुलाई जागिरेभन्दा पनि व्यवसायी बनुन् भन्ने चाहना छ ।’

आफूहरुजस्ता महिलालाई नारी दिवसको खासै महत्व नहुने उनको भनाइ छ । ‘ठुला होटलमा कार्यक्रम हुन्छन् । मञ्चमा भाषण हुन्छ । मलाई त्यहाँ जाने कुनै फुर्सद छैन,’ उनी भन्छिन्, ‘तरकारी खोज्ने, मिलाउने, बिक्री गर्ने नै मेरो दैनिकी हो, जुनसूकै दिवस आए पनि आफूले काम गर्नैपर्छ ।’

आफूले कर्म गरेर आफ्नो जीवन सफल तुल्याउनुपर्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप