आईपीएल : डु प्लेसिस आरसीबीको नयाँ कप्तान बन्ने, कोहलीको पनि सहमति
रोहित शर्माको कप्तानीमा टेस्ट खेलेपछि विराट कोहलीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा फाफ डु प्लेसिसको कप्तानीमा खेल्ने भएका छन् । रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले आफ्नो नयाँ कप्तान चयन गरेको छ । आरसीबी स्रोतका अनुसार डु प्लेसिस कप्तान बन्ने लगभग निश्चित छ ।
डु प्लेसिसको नाममा सहमित जुटिसकेको छ । उनीसँग ग्लेन म्याक्सवेलको नामको पनि चर्चा भएको थियो तर अन्त्यमा डु प्लेसिसको नाममा सहमति भयो । स्रोतका अनुसार पूर्व कप्तान विराट कोहली पनि उनको नाममा सहमत छन् । आरसीबीले चाँडै डु प्लेसिसको नाम घोषणा गर्न सक्छ।
फाफ डु प्लेसिसलाई टी–२० का विशेषज्ञ ब्याट्सम्यान मानिन्छ। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको कप्तानी समेत गरेका छन् । अफ्रिकाका लागि उनले ३७ टी–२० खेलमा कप्तानी गरेका छन् भने २३ खेलमा जित, १३ हार र १ खेल बराबरी भएको छ । फाफको जितको प्रतिशत ६३.५१ छ । अर्कोतर्फ ग्लेन म्याक्सवेलले उद्घाटन खेल खेल्न पाउने छैनन् । जसका कारण पनि उनी डु प्लेसिसभन्दा पछि परेका हुन् ।
गत वर्ष टिम इन्डियाको टी–२० को कप्तानी छोडेपछि विराट कोहलीले आईपीएलको दोस्रो चरणको अन्त्यपछि आरसीबीको कप्तानी पनि छोडेका थिए । कोहलीले यसको पछाडि ब्याटिङमा ध्यान दिने कारण दिएका थिए । उनी आफूमाथिको कामको बोझ कम गर्न चाहन्थे ।कोहली 2013 सिजनमा आरसीबीको कप्तान भए, तर आफ्नो कप्तानीमा एक पटक पनि आईपीएलको उपाधि जित्न सकेनन् । २०१६ मा टोली फाइनलमा पुगेको थियो तर टोलीले उपाधिबाट भने वञ्चित रह्यो ।
गत वर्ष आईपीएलमा चेन्नई सुपर किंग्सबाट खेल्दा डु प्लेसिसले १६ खेलमा ४५.२१ को औसतमा ६३३ रन बनाएका थिए । योसँगै अहिलेसम्म खेलेका १०० खेलमा ३४.९४ को औसतमा २९३५ रन बनाएका छन् ।