मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ को नाम कोशी–किरात : मुख्यमन्त्री राई

सोमबार, २३ फागुन २०७८, १७ : ४८
सोमबार, २३ फागुन २०७८

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामा कोशी किरात रहने बताएका छन् । मुख्यमन्त्री राईले तत्कालीन एमाले तथा नेकपा हुँदा संसदीय दलले गरेको निर्णय स्मरण गराउँदै प्रदेशको नाम कोशी किरात हुनुपर्ने बताएका हुन् । मुख्यमन्त्री राईले रातोपार्टीसँगका कुराकानीका क्रममा भने, ‘स्वतन्त्र भोटिङ गर्ने हो भने बहुमत सांसदले किराँत–सगरमाथा राख्नुपर्छ भन्नेमा मत हाल्छन् तर, दुई तिहाई चाहिं पुग्दैन,’ उनले भने, ‘त्यतिबेलाको नेकपाको संसदीय दलको बैठकमा कुरा राख्दा सगरमाथा किराँत राख्न बहुसंख्यकको सुझाव थियो । कोशी भन्ने त दुई चार मत मात्रै थियो । कोशी भन्दा त सगरमाथा भन्नेहरू धेरै छन् ।’ 

यसअघि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापामा आयोजित एक कार्यक्रममा प्रदेश १ को नाम कोशी हुनुपर्ने सुझाव दिएका थिए । मुख्यमन्त्री राईको यो भनाईले अध्यक्ष ओलीको प्रस्ताव अस्वीकार गर्ने संकेत मिलेको छ । 

राईले तत्कालीन एमालेको निर्णय तथा नेकपा हुँदाको संसदीय दलमा कोशी–किरात राख्नुपर्छ भन्नेको बहुमत रहेको स्मरण गर्दै राईले त्यही निर्णय आफ्नो पार्टीको लाइन भएको बताए ।   राईले आफ्नो पार्टीको निर्णय र लाइन पनि विगतको एमालेले गरेको निर्णयको आधारमा भएको भन्दै तत्कालीन एमालेले कोशी–किरात हुनुपर्छ भन्ने विषयमा निर्णय गरेको दाबी गरे । ‘मैले पुरानो निर्णयलाई, दस्तावेजलाई (एमालेकै महाधिवेशन र केन्द्रीय सदस्य तथा कार्यदलको) हेर्ने हो भने यो ठाउँ भनेको किरात–कोशी भनेर स्पष्टसाथ लेखिएको थियो,’ उनले भने, ‘त्यसो हुँदा मैले सार्वजनिक हिसावले बोल्दा बहुपहिचानको कुरा गरिरहेको छु । ह्विप नलगाउँदा त्यो हिसाबले जाने कुरा हुन्छ । केन्द्रीय निर्णय भएको अवस्थामा भने अर्को कुरा हो । तर, पार्टीको पुरानो निर्णयको आधारमा भन्ने हो भने अहिलेसम्मको चाहिं बहुपहिचानको आधारमा किरात–कोशी हुनुपर्छ भन्ने कुरा हाम्रो हो ।’

उनले आफ्नै कार्यकालमा यो विषयलाई टुंगोमा पुर्याउने पनि बताए । ‘म एकदमै जोड दिएर त्यसमा लागेको छु, डराएर, भागेर बस्दिन, सगरमाथा भएपनि कोशी भएपनि वा बहुपहिचान भएपनि भोटिङमा जाने नै भन्नेमा छु,’ उनले भने, ‘कोशी वा सगरमाथा भूगोलको पहिचानको कुरा गर्नेहरूले भनेका छन् । जातीय पहिचानको कुरा गर्दा किराँत, लिम्बुवान वा शेर्पा भन्ने कुरा पनि आएको छ ।’

अर्को प्रसंगमा उनले आउँदो स्थानीय तहको निर्वाचनमा एमाले कमजोर हुने दाबी गरे । आफ्नो पार्टी सुदृढ भइनसकेको भएपनि एमाले जस्ताको तस्तै नरहने बताए । ‘हामी भर्खर पार्टी निर्माणको क्रममा भएको हुनाले त्यति सुदृढ छैनौं । तर, एमाले जस्ताको तस्तै हुने कुरा असत्य हो । छुट्टा–छुट्टै लड्दा पनि एमाले निक्कै कमजोर हुने अवस्था छ भने गठबन्धन भयो भने त एमाले शून्य जस्तै हुने देखिन्छ,’ उनले भने । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले अब एक महिने गठन पुनः गठन र प्रशिक्षणको कार्यक्रम चलाउने तयारी गरेको र त्यो चुनावको तयारी नै हुने पनि बताए । 

प्रदेश १ सरकारमा किन खटपट भएको भन्ने प्रश्नमा उनले त्यसलाई स्वभाविक रुपमा लिएको बताए । उनले त्यस्ता सानातिना खटपटले सरकार नढल्ने पनि दाबी गरे । ‘माथिको शर्तले यो सरकार परिवर्तन हुने ढल्ने हुने भयो भने बेग्लै कुरा हो । तर, यहाँको आन्तरिक सम्बन्ध भनेको बलियो छ । सानोतिनो कुराहरु भनेको कतिपय राज्यमन्त्री बनाउनुपर्यो, बजेटको विभाजनका क्रममा आफ्नो मन्त्रालयमा बढी हाल्दिनुपर्यो भन्ने कुरा हो,’ कुराकानीको क्रममै उनले भने, ‘यहाँ सरकार नै परिवर्तन हुने गरी भएको छैन । एमालेलाई पुनः सरकारको अवसर दिनुपर्छ भन्ने गरी कोही पनि आएको देखिँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप