शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनबाट ५ सय ३३ नेपालीलाई सुरक्षित बाहिर निकाल्यौँ : परराष्ट्रमन्त्री खड्का

सोमबार, २३ फागुन २०७८, १९ : ५०
सोमबार, २३ फागुन २०७८

परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित रुपमा बाहिरिएको बताएका छन् । सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले रुसले युक्रेनमा आक्रमणपछि भारतको उद्धार टोलीको सहयोगमा नेपालीको उद्धार गरेको बताए ।

उद्धार गरिएकाहरु मध्ये पोल्याण्ड ४ सय २७ जना र बाँकी अन्य देशमा सुरक्षित रहेको बताए ।  भारत सरकारको उद्धार टोलीलाई नेपालीलाई उद्धार गर्न आग्रह गरेको र सो अनुसार सहयोग भएकोमा भारतलाई धन्यवाद समेत दिए । 

मन्त्री खड्काले राष्ट्रसंघको ११ औं आपतकालीन बैठकमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको  पनि जानकारी गरेको बताए ।  संयुक्त राष्ट्रसंघको बडापत्रको र मानवअधिकारको सम्मान गर्दै युक्रेनको पक्षमा मतदान गरेको बताए । नेपालले असंलग्न परराष्ट्र नीति अन्तरगत नै युक्रेनको समर्थन गरेको र अर्को कुनै गुटमा नगएको बताए । 

उनले छिटै राजदूत खाली रहेको स्थानमा राजदूत पठाउने बताउँदै एमसीसी लगायतका कारणबाट त्यसतर्फ सरकारले ध्यान दिन नपाएको उल्लेख गरे ।  मन्त्री खड्काले इजरायलका नागरिकलाई स्वास्थ्य सेवा दिनका लागि सम्झौता भएको, निर्माण क्षेत्रमा नेपाली युवा युवतीलाई पठाउने प्रक्रिया अगाडि बढेको पनि जानकारी गराएका छन् । 

सरकारले इ–पासपोर्ट लागू गरिएको, ७७ जिल्ला र १८ वटा इलाका प्रशासन कार्यालयबाट राहदानी वितरण कार्यको सुरुवात भएको मन्त्री खड्काको भनाई छ ।  उनले छिट्टै नेपालमा उच्चस्तरीय अन्तर्राष्ट्रिय स्तरका भ्रमणहरु हुने र त्यसबारे पछि जानकारी हुने बताए । आगामी विमेस्टक सम्मेलनमा प्रधानमन्त्रीसहित नेपाली प्रतिनिधिहरू सहभागी हुने उनको भनाई छ । यस्तै चीन संघको तातोपानी नाका खोल्नका लागि चिनियाँ राजदूत, चिनियाँ विदेशमन्त्री लगायतसँग छलफल गरेको र त्यसका लागि प्रयास गरिरहेको जानकारी गराए । 

यस्तै एमसीसी संसदबाट अनुमोदन गराउनका लागि मन्त्रालयले महत्वपूर्ण भूमिका खेलको मन्त्री खड्काको भनाई छ । जर्मनीको बर्लिनमा रहेको नेपाली राजदूतमार्फत युक्रेनमा रहेका नेपालीको उद्धारका लागि पहल गरिरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप