नेपालमा हरेक वर्ष ३ हजार मृगौलाका बिरामी थपिँदै
नेपालमा हरेक वर्ष करिब ३ हजार मृगौला सम्बन्धी रोगका बिरामी थपिँदै गएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रकी डा. कल्पना श्रेष्ठले भनिन्, ‘नेपालमा मृगौला सम्बन्धी रोगका बिरामीको संख्या वृद्धि हुँदै गएको छ ।’
केही वर्ष अगाडिसम्म १ हजार २ सयको हाराहारीमा रहेका मृगौला रोगीहरुको संख्यामा वृद्धि भएर अहिले ५ हजार ५ सयको हाराहारीमा रहेको डा.श्रेष्ठको भनाई छ । उच्च रक्तचाप र मधुमेहका रोगीको संख्यामा वृद्धि भएसँगै मृगौलाका रोगीको पनि वृद्धि भएको उनले बताइन् । सरकारले राजधानीमा २७ र देशभर ७३ स्थानमा निःशुल्क डायलासिस गर्ने व्यवस्था गरेपनि आवश्यक उपकरण र जनशक्तिको अभावमा सोचेजस्तो सेवा प्रवाह हुन सकिरहेको छैन ।
डायलासिस गर्ने एउटा मेसिनको आयु न्यूनतम ८ हजार घण्टा भए पनि नेपालमा १२ हजार घण्टासम्म चल्ने गरेका छन् । केन्द्रमा हाल ३५ वटा यस्ता मेशिन चालू रहेका छन् । ‘प्राविधिक समस्या आएन भने हामी ४० वटासम्म मेशिन दैनिक २४ घण्टा चलाउन सक्छौं,’ डा.कल्पनाले भनिन् ।
‘एकजना बिरामीको हप्ता कम्तीमा दुईपटक डायलासिस गर्नुपर्ने हुन्छ । त्यसका लागि ४ घण्टा समय लाग्दछ । हामीकहाँ अहिले ३ सय ३१ जना पालो कुरेर बस्नुभएको छ,’ डा. कल्पनाले भनिन् । मधुमेह र उच्च रक्तचापको नियमित औषधी सेवन गरिरहेकाहरु वर्षको एक एकपटक भएपनि आफ्नो मृगौला जाँच गर्नु पर्न केन्द्रका डा.सुमित आचार्यले बताएका छन् ।
‘खानपानमा ध्यान दिएर दैनिक शारीरिक व्यायाम गर्ने हो भने यस रोगबाट बच्न सकिन्छ,’ डा.आचार्यले भने । नियमित स्वास्थ्य परीक्षण गर्ने बानी बसाल्नु सबैभन्दा हितकारी हुने उनको भनाइ रहेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हाल दैनिक १ सय २० जनाको डायलासिस गर्दै आइरहेका केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । ‘केन्द्र स्थापना भएको १० वर्षमा ८ सय २२ जनाको मृगौला प्रत्यारोपण गरिएको छ,’डा. पुकारले भने । ६ जनाको कलेजो समेत केन्द्रमा प्रत्यारोपण गरिएको छ । पारिवारिक साटासाट अन्र्तगत ३७ जोडीको मृगौला प्रत्यारोपण गरिएको केन्द्रले जानकारी दिएको छ ।
केन्द्रमा सबैलाई डायलासिस गर्न समस्या भएकाले अन्यत्र १०० सय बेडको डायलासिस केन्द्र सञ्चालन गर्न लागिएको समेत सो अवसरमा जानकारी दिएको छ । गणेशमान वाटिकाको जग्गा भाडामा लिएर ३ महिनाभित्र उक्त केन्द्र सञ्चालन गर्छौ डा. श्रेष्ठले भने ।
यो वर्षको विश्व मृगौला दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाउने तयारी भइरहेको केन्द्रका निर्देशक डा. श्रेष्ठले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी