शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

ओमथान खोलामा ट्रस पुल निर्माण

सोमबार, २३ फागुन २०७८, १० : २०
सोमबार, २३ फागुन २०७८

म्याग्दीको धौलागिरी गाउँपालिका–१ गुर्जास्थित ओमथान खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ । लुलाङ हुँदै गुर्जा जोड्ने पदमार्गमा पर्ने ओमथान खोलामा निर्माण भएको पुलको आइतबार वडाध्यक्ष झकबहादुर छन्त्यालले शुभारम्भ गरे । पुलले गुर्जा आउजाउ सहज र सुरक्षित बनाउन सघाएको वडाध्यक्ष छन्त्यालले बताए । यसअघि सो ठाउँमा रहेको अस्थायी प्रकृतिको झोलुङ्गे पुल थियो । बर्खायाममा खोलामा बाढी आउँदा वारपार गर्न समस्या हुने गरेको थियो । 

गाउँपालिकाका इञ्जिनियर सोबिन जिसीका अनुसार २८ मिटर लामो पुल निर्माणका लागि उपभोक्ता समितिसँग रु ३० लाख ९३ हजार ३५२ मा सम्झौता भएको थियो । पुलबाट २५८ घरधुरी लाभान्वित भएका छन् । टिभिएसयुद्वारा सञ्चालित स्वाप परियोजना, गाउँपालिका र समुदायको साझेदारीमा पुल निर्माण भएको हो । धौलागिरि गाउँपालिकामा गत वर्ष सुरु भएका चार वटा स्टिल ट्रस र तीन वटा झोलुङ्गे पुलमध्ये पाँच वटा सम्पन्न भएका इन्जिनियर जिसीले बताउनुभयो । वडा नम्बर ६ मराङको अस्कारे खोलामा रु ३० लाख ५० हजारको लागतमा ३५ मिटर लामो ट्रस प्रविधिको पुल निर्माण भएको थियो । 

वडा नम्बर ४ नाउराको कोपिलाघाटमा रु ४० लाख ९४ हजार ४०५ को लातमा ६७ मिटर लामो झोलुङ्गे र वडा नम्बर २ को आवासखोलामा रु ३२ लाख ४१ हजार ८४९ को लागतमा ३२ मिटर लामो ट्रस पुल निर्माण भइसकेको गाउँपालिकाका प्राविधिक दिलीप थापाले बताए । गुर्जाको धुनधुनाखोलामा पनि २८ मिटर लामो स्टिल ट्रस पुल निर्माण सकिएको छ । 

मुनाको पुल्टिसखोला र मल्कवाङको खोलाखर्कको झोलुङ्गे पुल अन्तिम चरणमा छन् । पुल निर्माणका क्रममा सामाजिक तथा प्राविधिक सहजीकरण गैरसरकारी संस्था मिलन म्याग्दीले गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप