बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय चुनावको सरगर्मी : मकवानपुरमा दलहरूको चहलपहल बढ्दै

सोमबार, २३ फागुन २०७८, ०९ : ४७
सोमबार, २३ फागुन २०७८

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै मकवानपुरका राजनीतिक दलहरूको सक्रियता बढेको छ । आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनीति दलहरू आन्तरिक तयारीमा जुटेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र र राप्रपाले निर्वाचन केन्द्रित कार्यक्रममा पार्टी भित्र आन्तरिक तयारी अगाडि बढाएको हो । उता सरकार र निर्वाचन आयोगले पनि स्थानीय तह निर्वाचनका कार्यक्रमको आन्तरिक तयारी अगाडि बढाइरहेको छ ।

जिल्लामा विशेष गरी एमाले र काँग्रेसले सङ्गठन विस्तारको बहानामा जनता माझ पुगेर आफ्नो मत मूल्याङ्कन गर्ने र अन्य दलमा आबद्ध व्यक्तिहरूलाई आफूतर्फ आकर्षित गर्ने रणनीति अनुसार काम गरिरहेको छ । काँग्रेस पनि आफ्ना कार्यकर्ता मार्फत मतदाताहरूको घर दैलोमा पुग्ने गरी योजना बनाउनमा व्यस्त देखिन्छ । काँग्रेसले मकवानपुरका हरेक टोल टोलमा आफ्नो संरचना निर्माण तथा कमिटी गठन कार्यलाई तीव्रता दिएको छ । काँग्रेसले जिल्ला समितिको बैठक राखेर स्थानीय तहमा अगाडि बढ्न तथा उम्मेदवार तय गर्नका लागि निश्चित मापदण्ड बनाउने तयारी गरिरहेको छ । काँग्रेस मकवानपुरको हालै जिल्ला अधिवेशन सम्पन्न भएका कारण सबै विषयमा छलफल नभए पनि बैठक बसेर केही विषयहरु टुङ्ग्याएको बताइएको छ ।

माओवादी केन्द्रले आन्तरिकरुपमा वडा तहको अवस्थाको विषयमा बुझ्न सर्कुलर जारी गरिसकेको छ । माओवादी केन्द्रले पनि आफ्ना जनप्रतिनिधिहरू मार्फत निर्वाचनको रणनीति तयार गर्ने अभियानमा रहेको छ । निर्वाचनको रणनीति तयार पारेर सबै भातृ सङ्गठनहरू परिचालन गर्ने माओवादी केन्द्रको तयारी रहेको छ । निर्वाचनलाई केन्द्रित गरेर माओवादी केन्द्रका विभिन्न तहका नेताहरू आन्तरिक छलफल तथा प्रशिक्षण कार्यक्रममा व्यस्त देखिएका छन् ।

प्रचारप्रसारमा केन्द्रित हुन एमालेको निर्देशन

मकवानपुर जिल्लामा २०७४ सालको निर्वाचनमा आफ्नो वर्चस्व जमाउन सफल नेपाल कम्युनिष्ट पार्टी एमाले मकवानपुरले आफ्ना कार्यकर्ताहरूलाई निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन केन्द्रित गरेर पार्टीको केन्द्रीय निर्देशन अनुसार जिल्ला कमिटीले चुनाव केन्द्रित कार्यक्रमको तयारी सुरु गरेको छ । एमालेले स्थानीय तहमा निर्वाचित प्रतिनिधिसँग छलफल गरेर अगाडि बढ्न निर्देशन दिइसकेको छ ।

एमालेले स्थानीय तहको निर्वाचनको तयारी स्वरूप पार्टीमा आबद्ध जनवर्गीय सङ्गठनका नेतृत्व र निर्वाचित जनप्रतिनिधिहरूको छलफल गरेर चुनावी रणनीति, कार्ययोजना र सङ्गठन विस्तारको विषयमा अघि बढ्न निर्देशन दिएको हो । एमालेको नेतृत्वमा रहेको स्थानीय तहमा भएका राम्रा काम, सफल अभ्यास, पूर्वाधार विकासका र आगामी रणनीतिको व्यापक प्रचार प्रसार गर्न कार्यकर्ताहरूलाई भनेको छ ।  

एमालेले आफ्नो पक्षमा आगामी निर्वाचनमा नतिजा निकाल्न जनतासमक्ष एमालेका एजेण्डा पुर्‍याउन र आगामी निर्वाचनमा एमालेका उम्मेदवारका बारेमा टोल टोलमा पुगेर प्रचार प्रसार गर्न पनि कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।

राप्रपाले चैतमा नै उम्मेदवार तोक्ने

यता राप्रपा मकवानपुरले पनि स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रम सुरु गरेको छ । राप्रपाले आगामी चैतमा नै उम्मेदवार तोक्ने गरी तयारी अगाडि बढाएको छ ।

राप्रपाको हालै बसेको बैठकले फागुनभित्र जिल्लाका सबै वडाको बैठक सक्ने र चैत्र पहिलो सातासम्ममा उम्मेदवार छनौट गर्ने निर्णय गरेको राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए । राप्रपाले चैत्रभित्र टोल कमिटी निर्माण गरी उम्मेदवारहरूलाई निर्वाचन केन्द्रित पहिलो चरणको घरदैलो तथा प्रचारप्रसारमा पठाउने कार्यक्रम तय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप