शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पल शाह प्रकरण : घरधनी दम्पतीको बयान–‘पल र बालिका सँगै बसेका थिए’

पललाई उपस्थित गराइदिन नवलपरासी प्रहरीको पत्र
आइतबार, २२ फागुन २०७८, २२ : १५
आइतबार, २२ फागुन २०७८

जबरजस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ । फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) तनहुँ प्रहरीको हिरासतमा छन् ।

आइतबार दोस्रोपटक म्याद थप हुँदासम्म प्रहरीले पल शाहसहित ५ जनाको बयान लिएको छ । १७ वर्षीया बालिकाले म्युजिक भिडियो छायाङ्कनका क्रममा आफुसँग नजिकिएका शाहले पटक–पटक बलात्कार र यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।

फागुन ११ मा बालिकाले दिएको जाहेरीमा २०७८ वैशाख १४ मा तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित प्रदीप थापाको घरमा पलले बलात्कार गरेको जिकिर गरिएको छ । तनहुँ प्रहरीले घरधनी प्रदिप थापा र उनकी पत्नीसँग बयान लिएको छ । घरधनी दम्पतीले प्रहरीसँग भनेका छन्–‘त्यसदिन पल र बालिका सँगै बसेका हुन् ।’ घटना भएको दिन कमल खत्री भन्ने व्यक्ति सो घरको छुट्टै कोठामा बसेका थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार प्रदिप थापा दम्पतीले बालिकाको उजुरीलाई सहयोग पुग्नेगरी बयान दिएका छन् ।

कलाकार दुर्गेश थापा र सम्राट चौलागाईंले गत बुधवार दमौलीमा गएर बयान दिएका थिए । आइतबारसम्म ५ जनाको बयान सकिएको नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले रातोपाटीलाई बताए । उनले भने–‘बयानसँगै प्रमाण संकलन गर्ने काम भइरहेको छ ।’

आरोपी पल शाहले चाहिँ ‘बलात्कार’ अस्वीकार गरेका छन् । तनहुँका अनुसन्धान अधिकृत र सरकारी वकिल कार्यालयका अधिकारीसँगको बयानमा शाहले आरोप अस्वीकार गरेका हुन् । प्रहरीले पीडित बालिकाको पनि घटना विवरण कागज गराएको छ ।

नवलपरासी प्रहरीको पत्र
पल शाहविरुद्ध पूर्वी नवलपरासी प्रहरी कार्यालयमा पनि उजूरी परेको छ । बलात्कार मुद्दामा अनुसन्धान र बयानका लागि जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले शाहलाई उपस्थित गराइदिन भन्दै तनहुँ प्रहरीलाई पत्र लेखेको छ ।

जिल्ला अदालत पूर्वी नवलपरासीले उनलाई पक्राउ गर्न छुट्टै पक्राउ अनुमति जारी गरेको छ । प्रहरीले पनि छुट्टै मिसिल तयार गरेको छ । पललाई केही दिनमा पूर्वी नवलपरासीमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

युट्युबरले तनहुँ छाडे

अनुसन्धानलाई प्रभावित पार्नेगरी सामग्री प्रसारण गर्न थालेपछि गृह मन्त्रालय र साइबर ब्यूरोको चेतावनी सँगै युट्युबरले तनहुँ छाडेका छन् । प्रहरीले कारवाहीको तयारी गरेसँगै युट्युबरले तनहुँ छाडेको तनहुँमा कार्यरत एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

मानव अधिकार आयोगले पनि अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गतिविधि नगर्न आग्रह गरेको छ ।  प्रहरीको साइबर ब्यूरोले युट्युव भिडियो र टिकटक पोष्टमाथि निगरानी गरिरहेको जानकारी दिँदै  त्यस्ता क्रियाकलाप गरे विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही गर्ने चेतावनी दिएको थियो । सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने र अनुसन्धान प्रभावित पार्नेलाई कारवाही हुने गृह मन्त्रालयको चेतावनी र प्रेस काउन्सिलको चेतावनीपछि युट्युबरले तनहुँ छाडेका हुन् ।

प्रेस काउन्सिलले १६ युट्युब च्यानलमाथि अनुसन्धान गरेर कारवाही अघि बढाउन साइबर ब्यूरोलाई सिफारिस गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप