बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रुस र युक्रेन बीचको तनावले खाने तेलको मूल्य बढ्यो

आइतबार, २२ फागुन २०७८, २० : ३४
आइतबार, २२ फागुन २०७८

रुस र युक्रेन बीचको तनावले नेपालमा खाने तेलको मूल्य ह्वात्तै बढेको छ । स्थानीय बजारमा विशेष गरेर सनफ्लावर (सूर्यमुखी) र सोयाविन (भटमास) तेलको मूल्य पछिल्लो एक सातामा ह्वात्तै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेको कारण पनि तेल उद्योगीले मूल्य बढाएका हुन् ।

नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले अहिले युद्धको असरले खाने तेलको कच्चा पदार्थका आपूर्तिमा अवरोध हुँदा अभाव भएकोले मूल्य बढेको बताए । उनले दैनिक रुपमा प्रयोग हुने खाने तेल त्यसमा पनि सनफ्लावर तेल प्रतिलिटर २ सय ४० मा खुद्राँ बिक्री गर्दै आएकोमा हाल २ सय ८० रुपैयाँसम्म पुगेको बताए । यस्तै, सोयाविन तेल प्रतिलिटर २ सय ३० मा विक्रि गर्दै आएकोमा २ सय ७० रुपैयाँसम्म पुगेको बताए । उनले मूल्य बढेपनि सरकारी निकायहरुले अनुगमनमा चासो नदेखाएको गुनासो गरे । उनले रुसले युक्रेनमाथि आक्रमण गर्नु पूर्व नै दाल, चामल लगायत सबै खाद्यान्नको १० प्रतिशतको दरले मूल्यवृद्धि भइसकेको समेत बताए ।

संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले हाल खाने तेल लगायत खाद्यान्नमा भएको मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारका निकायले छलफल अगाडी बढाउन आवश्यक रहेको पनि औंल्याएका छन् । उनले हालको अवस्थालाई सहज बनाउन व्यापारी, उद्योगी, व्यवसायी लगायत सबै सम्बन्धित निकायसँग तत्काल छलफल अगाडि नबढाए मूल्य थप चुलिँदै जाने बताए ।

रुसले युक्रेनमाथि आक्रमण गरेसँगै बजारमा खाने तेल अभाव हुने भन्दै व्यापारीहरुले बजारमा कृत्रिम अभाव सृजना गराएको, मूल्यवृद्धि गरेको उपभोक्ताको आरोप छ । नेपालले युक्रेन, रसिया र अर्जेन्टिनाबाट कच्चा तेल आयात गरी रिफाइन गरेर नेपाली बजार र भारतमा निर्यात गर्दै आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा युक्रेनबाट ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँको कच्चा तेल आयात भएको छ ।  यस्तै रसियाबाट २ अर्ब ५८ करोड ७५ लाख  र अर्जेन्टिनाबाट २६ करोड ५१ लाख रुपैयाँ बराबरको आयात भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप