बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय

इन्जिनियरहरूको चुनाव : काँग्रेसमा विद्रोह, पाँच प्यानल मैदानमा

कुन प्यानलबाट को–को छन् उम्मेदवार, कसले मार्ला बाजी ?
आइतबार, २२ फागुन २०७८, १९ : ०२
आइतबार, २२ फागुन २०७८

नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए)को केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्व निर्वाचन काठमाडौंमा हुँदैछ । कार्यसमितिको १२ जना सदस्यहरुको लागि ६२ जना प्रतिस्पर्धामा छन् । २७ गते बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म हुने मतदानका लागि प्रदेशअनुसार मतदान केन्द्र तोकिएका छन् ।

नेइएको ३३ औं केन्द्रीय कार्यकारिणी समितिको लागि अध्यक्षमा ५ जना भिड्दैछन् । महासचिव र सदस्यमा बाहेक ५ वटा प्यानलबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । काँग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) बाट नेइएको नेतृत्वका लागि दुई जना मैदानमा छन् ।

सिडेनले डा.हरिबहादुर दर्लामीलाई अगाडि सारेको छ भने सिडेनकै दिलीप कुमार झाले विद्रोह गरेर अर्को टीम खडा गरेका छन् । यस्तै नेकपा एमालेको प्रोग्रेसिभ इन्जिनियरिङ प्रोफेसनल्स एसोसिएसन नेपाल (पेपान)बाट डा.सुरज लामिछाने चुनावी मैदानमा छन् ।

यस्तै माओवादी केन्द्रको नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन (निओन), नेकपा एकीकृत समावादीको समाजवादी इन्जिनियरिङ नेपाल (सिन) र जनता समाजवादी पार्टी (जसपा) को नेपाल इन्जिनियरिङ संघबीच गठबन्धनले डा.हरिराम पराजुलीलाई अगाडि सारेको छ । यता नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को इन्जिनियर समाज नेपाल  राजेन्द्र प्रसाद हाडाको नेतृत्वमा चुनावी प्रतिस्र्धा गर्न लागेको छ ।

सिडेनबाट दर्लामी र झा चुनावी मैदानमा

नेइएको निर्वाचनमा काँग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)बीच नै समूहगत प्रतिस्पर्धा हुने भएको छ । नेइएको नेतृत्वका लागि डा.हरिबहादुर दर्लामी नेतृत्वको सिडेनको लोकतान्त्रिक समूह निर्वाचनमा होमिएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक दर्लामी नेतृत्वको सिडेनको समूहमा उपाध्यक्षमा डा.नारायणप्रसाद अधिकारी, महासचिवमा रविभूषण झा, उपमहासचिवमा सरोज धिताल,कोषाध्यक्षमा दिनेश त्रिपाठी र सहकोषाध्यक्षमा दिपक अधिकारी उमेदवार छन् ।

समितिको सदस्यमा सुरज चापागाईं, सागर भट्टराई, विनोद बहादुर पाल, कुशलता न्यौपाने, अनुपम पराजुली, निशान नेपाल, ईश्वर पोख्रेल, मनिष मल्लिक, अशेष निरौला, हरिनारायण राय यादव, खुमबहादुर भण्डारी र विद्या बराल उमेदवार छन् । त्यस्तै, नेपाल ईन्जिनियरिङ परिषद्का सदस्यमा होमनाथ पोखे्रल पोषण थापा, राजन लामा,भरत रेग्मी र हरिराम दुवाडी उमेदवार छन् ।

नेइएको नेतृत्वका लागि सिडेनमा विद्रोह गरेर दिलीप कुमार झा पनि समूह नै खडा गरेर चुनावमा होमिएका छन् । उनको समूहको उपाध्यक्ष पदमा  ऋषि कोइराला, महासचिवमा कृष्णसिंह बस्नेत, उपमहासचिवमा  सुधिर गुरागाईं, कोषाध्यक्षमा रमिता श्रेष्ठ, सह–कोषाध्यक्षमा  संजय कुमार महतोका उम्मेदवार छन् ।

झा समूहबाट सदस्यमा डा. ढुण्डिराज दाहाल,  डा. भरत मण्डल,  पराग कायस्थ,  अन्जिनी कुमार देवजु श्रेष्ठ, बज्रमान सिंह थापा,  सुभाष जोशी, लैला श्रेष्ठ,  नविन तिवारी,  प्रजन हाडा,  रामशंकर जयसवाल,  लक्ष्मण मण्डल,  भोजराज यादवले उम्मेदवारी दिएका छन् ।

सिडेनका अध्यक्ष उमेश थानी दर्लामीको पक्षमा उभिए पनि झा नेतृत्वको समूहलाई नेइएका पूर्व अध्यक्षहरुको बलियो साथ छ ।

पूर्व अध्यक्षहरु चेतप्रसाद भट्टराई, डा.जीवराज पोख्रेल, किशोर शाक्य, हरिओम श्रीवास्तव, हरेराम श्रेष्ठ, ध्रुवराज थापाहरुको समर्थन झालाई रहेको छ । उपाध्यक्षका उम्मेदवार ऋषि कोइरालाको राम्रो नेटवर्कले टीमलाई फाइदा हुने झा समूहको आशा छ । उनी नेपाल भ्यालुयर्स एसोसियनको केन्द्रीय अध्यक्ष समेत रहेकाले उनको ईन्जिनियर समुदायमा राम्रो नेटवर्क छ । उनी अध्यक्ष भएको संस्थाको मातहतमा करिव ७५० कन्सल्टिङ फर्म आवद्ध छन् । भ्यालुयसनको काम गर्दा इन्जिनियरहरु समस्यामा पर्दा न्यायका लागि साथ दिएका कारण उनी इन्जिनियरहरुमाझ चिनिएका छन् ।

केही महिना अगाडि गायक योगेश्वर अमात्यको जग्गाको भ्यालुयसन काण्डमा इन्जिनियर राजेश कुमार चौरासियालाई प्रहरीले थुनामा राख्दा ऋषि कोइरालाको  नेतृत्वमा देशभरि आन्दोलन गरिएको थियो ।

नेइएको चुनावमा एमाले एक ढिक्का

नेइएको चुनावमा नेकपा एमालेसम्बद्ध पेपान एक ढिक्का देखिएको छ । पेपानले नेइएको अध्यक्षमा  डा. सुरज लामिछानेलाई अगाडि सारेको छ । उपाध्यक्षमा देउकाजी गुरुङ, महासचिवमा डा.भेष राज थापा, उपमहासचिवमा  शिवराम केसी, कोषाध्यक्षमा आनन्द सिंह र सहकोषाध्यक्षमा  अर्जुन पौडेलले प्रतिस्पर्धा गर्दैछन् ।

पेपानबाट सदस्यमा  तिलक लामिछाने, प्रवेश पौडेल, सदस्य  विवशराज आचार्य,  चन्द्र राना, सौरभ कार्की, हरि बराल,  अशोक पौडेल,  मनोज लुईंटेल,  लक्ष्मी नारायण चौधरी,  अविनाश अमर,  शोभा थापा र  सुरज गौतमको उम्मेदवारी परेको छ । नेइएको चुनावमा पेपानको उपस्थिति बलियो छ । सिडेन विभाजित हुँदा पेपानले बाजी मार्न सक्ने आँकलन गरिएको छ ।

तीन दलको गठबन्धन

माओवादी केन्द्रको (निओन), एकीकृत समाजवादी सिन र जसपा नेपाल इन्जिनियरिङ संघले डा.हरिराम पराजुलीको नेतृत्वमा गठबन्धन बनाएको छ ।

पराजुली प्यानलको उपाध्यक्षमा  न्हसला तुलाधर, महासचिवमा  डा. शंखर ढकाल, उपमहासचिवमा  डा. समित थापा, कोषाध्यक्षमा  श्याम नारायण चौधरी र सह–कोषाध्यक्षमा  स्मिता भट्टको उम्मेदवारी रहेको छ ।

यस्तै सदस्यमा  संजिव नारायण यादव,  विकास महर्जन, रामु श्रेष्ठ,  योगेन्द्र थापा,  कुल भुषण शेखर शर्मा,  पुष्प बहादुर कटुवाल,  अनिल कुमार जयसवाल,  सुरज रेग्मी,  अनुप श्रेष्ठ,  विशाल अधिकारी,  सुनिल दाहाल र  अर्जुन श्रेष्ठ उम्मेदवार छन् । गठबन्धनसहित चुनावी मैदानमा उत्रिएपछि पराजुलीलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।

नेमकिपा पनि प्रतिस्पर्धामा

नेमकिपाको इन्जिनियर समाज नेपालबाट राजेन्द्र प्रसाद हाडा टीम नै बनाए प्रतिस्पर्धामा उत्रिएका छन् ।

हाडाको प्यानलको उपाध्यक्षमा  सविन महर्जन, महासचिवमा  रुपेश प्रजापति, उपमहासचिवमा  सुनिता दुवाल, कोषाध्यक्षमा  सुरेन्द्र राय यादव र सहकोषाध्यक्षमा  रविन कासुलाले उम्मेदवारी दिएका छन् ।

यस्तै सदस्यमा  गणेशराम ध्वँजू,  सदाम बाला,  अनु अवाल, योगेश बज्राचार्य,  अमित प्रजापति,  प्रशान्त लाखेमरु,  दिपेन्द्र बहादुर शाही,  अमित शंकर रञ्जित,  श्याम सुन्दर बासुकला,  विजयराम कोजू,  पदम बहादुर थापा र  जेन बाटीको उम्मेदवारी परेको छ ।

नेमकिपा निकट इन्जिनियर समाज नेपालको करिव ७ सय मत रहेको छ । अन्य समूहसँग गठबन्धनका लागि सहमति नभएपछि हाडा प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

२२ हजार मतदाता

नेइएले निर्वाचनमा भाग लिनेलाई फागुन २५ गतेसम्म परिचयपत्र लिइ सक्न पनि आग्रह गरेको छ । निर्वाचनका लागि १४ वटा मतदान केन्द्र तोकिएका छन् । फागुन २७ र २८ गते हुने निर्वाचनले करिब ६० हजार इन्जिनियरको नयाँ नेतृत्व चयन गर्नेछ ।

हाल नेपाल इन्जिनियरिङ परिषदबाट ६० हजार इन्जिनियरले लाइसेन्स लिए पनि नेपाल इन्जिनियर्स एशोसियसनमा ३५ हजार सदस्य मात्र आबद्ध छन् । नेइएको नयाँ नेतृत्व चयनका सदस्यले मात्र मतदान गर्न पाउने व्यवस्था छ । निर्वाचनमा करिब २२ हजार इन्जिनियरहरुको मात्र मतदाता नामावलीमा नाम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप