सम्झौताअनुसार सडक निर्माण नसक्दा ठेक्का तोड्ने तयारी
निर्माणाधीन घोराही–तुलसीपुर चारलेनको सडक निर्माण नसकिँदै ठेकेदार कम्पनीसँगको सम्झौता तोड्ने तयारी सुरू भएको छ । सडक निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ इन्फ्रा प्रोजेक्टले समयमा काम गर्न नसकेपछि सडक आयोजनाले ठेक्का तोड्ने तयारी गरेको हो । सम्झौता रद्द हुने भएपछि घोराही–तुलसीपुर सडक निर्माण थप अन्योलमा परेको छ ।
यो सडक निर्माण असार २०७६ मा सुरु भइ वैशाख २०७८ मा सम्पन्न भइसक्नु पर्ने थियो । सडक आयोजनाका अनुसार काम सुरु भएको तीन वर्ष हुनै लाग्दा वित्तीय प्रगति १४ प्रतिशत र भौतिक प्रगति सात प्रतिशत मात्र छ । सडक निर्माण नहुँदा जीर्ण बनेको सडक खण्डमा दुर्घटनाका कारण डेढ दर्जन नागरिकले ज्यान गुमाइसकेका छन् भने थुप्रै भौतिक क्षति भएको छ । अझै पनि ठेकेदार कम्पनीको बाटो कुर्ने हो भने थप जनधनको क्षति हुने आयोजनाको भनाइ छ । आयोजनाका प्रमुख अर्जुन बमले ठेक्का तोड्ने प्रक्रिया सुरु गइसकेको र यसका लागि सुरुमा स्पष्टिकरण सोधिने बताए । “पटक पटक काम गर्छु भन्दै ढिलासुस्ती गरेकाले अब ठेक्का तोड्नुको विकल्प छैन,“ उनले भने ।
सडक आयोजनाले ठेकेदार कम्पनीसँग पेश्की रकम फिर्ता लिने प्रक्रिया समेत थालेको छ । आयोजनाले रकम फिर्ता लिन खोजेपछि निर्माण कम्पनीका प्रतिनिधि सुवास श्रेष्ठले उच्च अदालत पाटनमा दायर गरेको मुद्दामा अदालतले आयोजनाकै पक्षमा अन्तरिम आदेश दिएको छ । पेश्की रकम फिर्ता लिन सकिने भनेर अदालतबाट अन्तरिक आदेश आएसँगै सडक सुधार तथा विकास आयोजना निर्देशनालयले नेपाल बंगलादेश बैंकको कालीमाटी शाखामा पेश्की रकम फिर्ताका लागि पत्र पठाएको छ ।
आयोजना प्रमुख बमले पेश्कीस्वरुप १२ करोड रुपैयाँ दिएको र दुई करोडको भुक्तानी भैसकेकाले १० करोड रुपैयाँ फिर्ता लिने प्रक्रिया सुरु भएको बताए । यो सडक निर्माण कार्यका लागि भारतीय एक्जिम बैंकले सवा अर्ब रुपैयाँ सहयोग गरेको छ । संघीय सरकारले भारतीय एक्जिम बैंकको सहयोगमा चार वर्षअघि लमही–तुलसीपुर सडकलाई चार लेन बनाउने गरी आयोजना कार्यालय लमहीमा स्थापना गरेको थियो । पहिलो चरणमा घोराहीको बबई नदीदेखि तुलसीपुरसम्मको २८.१९ किलोमिटर सडक विस्तार हुन लागेको हो । त्यसमध्ये पनि १४.४ किलोमिटर मात्रै चार लेनको हुने र बाँकी करिब १४ किलोमिटर दुई लेनको हुने बताइएको थियो । न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
-
एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो