संसद अवरोध गर्नु गैरजिम्मेवारी हो : भीम रावल, अरु कसले के भने ?
नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले निरन्तर संसद अवरोध हुनु जनताको सार्वभौम अधिकार माथिको खेलबाड भएको बताएका छन् । आइतवार संसद भवन परिसरमा सांसद रावलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै निरन्तरको संसद अवरोध जनताको सार्वभौम अधिकार माथिको खेलबाड भएको बताएका हुन् ।
उनले संसद अवरोध गर्नु गैरजिम्मेवार काम भएको टिप्पणी समेत गरे । देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलपत्र पारिएको भन्दै उनले यस्तो गर्नु देशलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र भएको आशंका व्यक्त गरे ।
‘यो त नेपाली जनताको जुन सार्वभौम अधिकार माथिको खेलबाड हो । र यो एकदम अत्यन्त गैरजिम्मेवार काम हो’, रावलले भने, ‘किनभने नेपाली जनताले आफ्नो निर्वाचित जनप्रतिनिधिमार्फत राष्ट्रको स्वाधिनता, स्वतन्त्रता, जनताको जिविका जस्ता महत्वपूर्ण विषयमा छलफल होला, त्यसले निकास देला भनेर उनीहरुले अपेक्षा गरेका हुन्छन् र संसद भनेको देशमा उत्पन्न समस्याहरूको निकास दिने महत्वपूर्ण थलो हो । तर जसरी खेलबाड गरिएको छ, देशको कार्यपालिका, व्यवस्थापिका संसद, न्यायपालिका सारा अलपत्र गर्ने काम जुन गरिएको छ, यो मलाई लाग्छ नेपाल राष्ट्रलाई कमजोर बनाउने कतैबाट सुनियोजित खेल त भइराख्या छैन भन्ने कहिलेकाहीँ मनमा शंका लाग्छ ।’
त्यस्तै संसद भवनमै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद निरन्तर अवरोध हुने भए संसद भंग गरेर चुनावमा जानुपर्ने धारणा व्यक्त गरे ।
संसद चल्न नदिएर संसदलाई पंगु बनाइएको भन्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको वितण्डालाई सामना गर्नका लागि संसद भंग गर्नुपर्ने बताएका हुन् । संसद भंग गरिदिए केपी ओलीको हंगामा गर्ने ठाउँ नरहने नेपालको टिप्पणी छ । ‘हाउस चल्न पनि नदिने । केही गतिविधि गर्न पनि नदिने । हाउसलाई पंगु बनाउने, भत्ता सत्ता खाने, हामीलाई पनि हैरान पार्ने । त्यस्तो हो भने त्योभन्दा पहिले पुरै संसदले नै अब केपी ओलीको वितण्डाको सामना गर्नलाई यसलाई भंग गरिदिने । न संसद रहन्छ । न हंगामा गर्ने ठाउँ नै रहन्छ, चुनावमा जाने’, नेपालको भनाइ छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुक अर्ली इलेक्शनमा जाने भन्ने कुरा आफुलाई थाहा नभएको टिप्पणी गरे । उनले वर्तमान सरकार पुरा अवधिसम्म रहने र संसदको अवधि समाप्त भएपछि मात्रै चुनाव हुने उनले बताए ।
उनले भने, ‘खोइ मलाइ त थाहा भएन अर्ली इलेक्शनमा जान्छ भनेर, मलाई थाहा भएको कुरा के हो भने पुरै अवधिसम्म यो सरकार रहन्छ । संसदको अवधि समाप्त भएपछि चुनाव हुन्छ ।’ नेकपा(माओवादी केन्द्र) का सांसद वर्षमान पुनले अर्ली इन्जेक्सनको सम्भावना नभएको बताए । बैशाखमा स्थानीय तहको निर्वाचन हुँदा अर्ली इलेक्शन गर्ने समय नहुने पुनको भनाइ छ ।
‘सामान्यतया हाम्रो नेपालमा दुईटा सिजनमा निर्वाचन हुने गरेको छ । कार्तिक, मंसिर, चैत, वैशाख, जेठ सम्म । पाँच वर्षमा संघीय, प्रदेश र स्थानीय चुनाव हुने संवैधानिक व्यवस्था छ । यसरी हेर्दा अर्ली इलेक्शनको सम्भावना अब छैन’, पुनको भनाइ छ ।
उनले बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने भनेपछि अर्को चुनावका लागि समय नहुने पनि बताए । ‘हामीसँग टाइम नै हुँदैन । स्वतः कार्तिक, मंसिर जान्छ । यद्यपि, कानूनी रुपले र व्यवहारिक रुपले अभ्यासको रुपमा, परम्पराको रुपमा गरौँभन्दा मङसिरपछि पाँच वर्ष संघीय संसदको कार्यकाल पाँच वर्षमा प्रवेश गरिसकेपछि गर्न नमिल्ने होइन’, पुनले भने, ‘संवैधानिक रुपले पनि परम्पराको हिसाबले पनि हाम्रो देशको भौगोलिक अवस्था, मौसमी अवस्थाले दुईवटा सिजन बाहेक हामी निर्वाचन गर्न सक्दैनौँ । अब अर्लि भनेर साउन, भदौ, असोजतिर गर्न सकिदैन । त्यसो हुँदा अर्लि इलेक्शनको त मौसमी हिसाबले पनि कुनै चान्स नै छैन । पाँच, छ महिनादेखि संसद अनिर्णयको अवस्थामा रहने, चल्न सक्ने अवस्था नहुने, जनताको सार्वभौम प्रतिनिधिहरुले जनताका विषयमा छलफल गर्न नपाउने अवस्थामा राजनीतिक रुपले त्यसरी सोच्नु ठिकै हो । तर हामीसँग मौसमी, भौगोलिक जटिलताले गर्दा अब स्थानीय निर्वाचन गर्ने भएसी अर्ली इलेक्शनको सन्दर्भ लगभग सिद्धिए जस्तो लाग्छ ।’
सांसद पुनले संसद लामो समयदेखि अनिर्णयको अवस्थामा रहँदा विघटन गरेर अर्ली इलेक्शनमा जाने कुरा राजनीतिक रुपले ठिकै भएपनि नेपालको भौगोलिक जटिलता र मौसमी अवस्थाका कारण पनि त्यसो गर्न नसकिने बताए ।