...अनि रिसायो रुस, पुटिनको आँखामा किन सधैँ बिझ्छ युक्रेन ?
फेब्रुअरी २३, २०१४ को साँझ सोची शीतकालीन ओलम्पिक खेलकुदको समापन समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उपस्थित हुँदा उनको अनुहारमा सन्तुष्टिको छुट्टै मुस्कान थियो । त्यस दिनको सुरुमा मस्कोमा उनले अज्ञात योद्धाहरूको समाधिमा फूलहरू अर्पण गरेका थिए ।
उनलाई देख्ने कसैलाई पनि थाहा थिएन कि उनले त्यो दिनको बिहान भएको महत्त्वपूर्ण बैठकमा युक्रेनको बारेमा ठूलो निर्णय लिएका थिए । सो बैठकमा उनका निकटतम व्यक्तिहरू रक्षामन्त्री सर्गेई शोएगु, सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेफ, एफएसबीका निर्देशक अलेक्ज्याण्डर बोर्टिनकोभ र राष्ट्रपतिका चीफ अफ स्टाफ सर्गेई इभानोफ सामेल थिए ।
पछि आफ्नो नाभा-ओगारेभो निवासमा भएको भेटवार्ताको विवरण दिँदै पुटिनले भनेका थिए, ‘त्यो बैठक बिहान सात बजे सकियो। त्यसपछि मैले सबैलाई सुत्न भनेँ । बाटोमा जाँदा जाँदै मैले मेरा चारजना साथीलाई भने – युक्रेनमा यस्तो अवस्था आएको छ कि क्राइमियालाई रुसमा एकीकरण गर्नका लागि काम सुरु गर्न आवश्यक भएको छ ।
बैठकमा युक्रेनमा सेना पठाउने निर्णय
प्रधानमन्त्री मेदभेदभ, विदेशमन्त्री लाभ्रोभ र वित्तमन्त्री सिलवानाफलाई निम्तोसमेत नआएको तथ्यबाट उक्त बैठकको गोपनीयतालाई केलाउन सकिन्छ ।
रोबर्ट सर्विसले पुटिनको जीवनी 'क्रेमलिन विन्टर : रसिया एन्ड द सेकेन्ड कमिङ अफ भ्लादिमिर पुटिन' मा लेखेका छन्, "यो बैठकलाई सन् १९७९ को डिसेम्बरमा सम्पन्न बैठकसँग तुलना गर्न सकिन्छ । यो बैठकलाई अस्वस्थ रहेका पार्टीका महासचिव लियोनिद ब्रेझ्नफले बोलाएका थिए, जसमा अफगानिस्तानमा फौज पठाउने निर्णय गरिएको थियो । बैठकमा तत्कालीन रक्षा मन्त्री दिमित्री उस्तीनेफ, केजीबी प्रमुख युरी आन्द्रोपोफ, विदेशमन्त्री आन्द्रे ग्रोमिको र पोलिटब्युरो सदस्य मिखाइल सुस्लोफको सहभागिता थियो ।"
"बैठकमा प्रधानमन्त्री अलेक्जेई कोसिजिन उपस्थित थिएनन्। सन् २०१४ को बैठक र सो बैठकबीचको भिन्नता यति मात्र थियो कि उक्त बैठकमा परराष्ट्रमन्त्री ग्रोमिकोलाई बोलाइएको थियो भने रोगले थलिएका ब्रेझ्नफभन्दा पनि पुटिन स्वस्थ थिए ।"
रुसी सेनाहरूलाई तुरुन्तै युक्रेन पठाउनुपर्छ भन्ने विश्वास निकोलाइ पात्रुसेफको थियो । साथै, अफगानिस्तानको अनुभवलाई ध्यानमा राख्दै सर्गेई शोइगुले सावधानी अपनाउन सल्लाह दिँदै आएका थिए । सायद यो अभियानमा रुसी सेनाको प्रदर्शनको जिम्मेवारी केवल उनको मात्रै हुने भएकोले पनि हुन सक्छ ।
क्राइमियालाई रुसमा गाभियो
त्यसपछि उनले प्रायद्वीपका अन्य महत्त्वपूर्ण भवनहरूलाई आफ्नो नियन्त्रणमा लिए । यसपछि, रुसी समर्थक विधायकहरूले रुसी एकता पार्टीका प्रमुख सर्गेई अक्सानोफलाई प्रधानमन्त्रीको रूपमा चुने।
यो मत युक्रेनको संविधानको उल्लङ्घन थियो किनभने त्यस्तो कुनै पनि मतका लागि युक्रेनका राष्ट्रपतिको अनुमति आवश्यक थियो। सत्ता सम्हालेलगत्तै अक्सानोफको पहिलो काम क्राइमियामा रुससँग विलयसम्बन्धी जनमत सङ्ग्रह गर्नु थियो । मार्च १६ मा क्राइमियाका मतदाताले ठूलो बहुमतका साथ रुससँग गाभिनेमा मतदान गरे ।
त्यसको दुई दिनपछि पुटिनले क्राइमियालाई रुससँग गाभ्ने प्रस्ताव लिएर मस्कोको संघीय सभा अगाडि सरे । पुटिनको प्रस्तावको एक जना सांसद इल्या पोनोमारेफले मात्र विरोध गरे। पुटिनले उनको सदस्यता समाप्त गरेर यसको बदला लिए । उनी अन्ततः युक्रेनमा शरण लिन बाध्य भए । २७ फेब्रुअरी २०१४ मा रुसी सेनाले भेष बदलेर युक्रेनको सिमफेरोपोलमा रहेको क्राइमियाको सर्वोच्च परिषद्मा कब्जा गर्यो ।
रुस र युक्रेनबीच धेरै वर्षदेखि तनाव
रुस र युक्रेनबीचको तनावको लामो इतिहास छ। गोर्बाचोफको समयदेखि नै सानै भए पनि युक्रेनमा रूसविरुद्ध विद्रोहका आवाजहरू आएका थिए । तर मानिसहरू सडकमा निस्किएनन्।
भूतपूर्व रुसी प्रधानमन्त्री एभगेनी प्रिमाकोफ आफ्नो पुस्तक 'गोडी भर्सेज बोल्सोई पोलिटिक' मा लेख्छन्, "सन् १९९१ मा गोर्बाकोफविरुद्ध असफल विद्रोहपछि, केही प्रभावशाली रुसीहरू रुस भाषीहरूको बाहुल्य रहेको युक्रेनको केही भाग रुसले आफ्नो अधीनमा लिएको हेर्न चाहन्थे । तर केही कुरा यस्तो भयो कि रुसी राष्ट्रपति बोरिस येल्तसिनले युक्रेनका नेताहरू क्राभचुक र लियोनिड कुचमासँग वार्ता गरेर यो सम्भावना टारे ।"
सन् १९९४ मा बुडापेस्ट मेमोरन्डमको नाममा रुस, युक्रेन, अमेरिका र बेलायतबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । जसअन्तर्गत रुस र युक्रेन दुवैले एक अर्काको सार्वभौमसत्ता र सीमाका लागि आफ्नो प्रतिबद्धता लाई दोहोर्याएका थिए ।
यस सम्झौताअन्तर्गत युक्रेनले आफ्ना सबै आणविक स्रोतहरू त्यागेको थियो । जसका कारण इन्धन आपूर्तिका लागि युक्रेन पुरै रुसमा निर्भर हुन थालेपछि युक्रेनमा रुसको प्रभाव थप बढेको थियो ।
युरोपियन युनियनसँग नजिक, रुस रिसायो
सन् २००४ मा भिक्टर युशचेन्कोले युक्रेनको राष्ट्रपति चुनाव जितेपछि युरोपेली संघसँग निकटता बढाउने र यसको सदस्य हुने विषयमा कुरा गर्न थालेपछि रुस र युक्रेनबीचको तनाव अझ बढ्यो। युक्रेन नेटोको सदस्य पनि बन्न चाहन्छ भन्ने कुरा पनि थियो। फलस्वरूप, रुसले युक्रेनको क्राइमियामा रूसीभाषी मानिसहरूलाई आफ्नो अधिकारको लागि लड्न प्रोत्साहन दिन थाल्यो।
फेब्रुअरी १०, २००७ मा म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा पुटिनले नेटोले पूर्वतर्फ विस्तार नगर्ने सन् १९९० को ग्यारेन्टी पूरा गरेको छैन भन्ने गुनासो गरे।
राष्ट्रपति बुशले कोसोभो सरकारको पूर्ण स्वतन्त्रताको मागलाई स्वीकार गरेकोले पुटिनको रिस पनि बढेको थियो । रुसको विरोधलाई पन्छाएर संयुक्त राज्य अमेरिकाले कोसोभोलाई फेब्रुअरी १८, २००८ मा मान्यता दियो ।
प्रश्न उठ्छ, पुटिनले युक्रेनमाथि आक्रमण गरेर क्राइमियालाई रुससँग गाभ्ने निर्णय किन गरे ?
पुटिनका जीवनीकार स्टिभन ली मायर्सले आफ्नो पुस्तक 'द न्यु जार : द राइज एण्ड रेन अफ भ्लादिमिर पुटिन' मा लेखेका छन्, "पुटिनले धेरै पटक भनेका छन् कि क्राइमिया कुनै समय विशाल रुसी साम्राज्यको भाग थियो। सन् १९५४ मा निकिता ख्रुश्चोफले क्राइमियालाई युक्रेनमा गाभे।"
"पुटिनले युक्रेन एउटा कृत्रिम राजनैतिक इकाई भएको कुरा पनि बताइरहे जसको पश्चिमी भाग दोस्रो विश्वयुद्धअघि पोल्याण्डको थियो। उनको दोस्रो तर्क थियो – यदि अमेरिकाले अन्य देशहरूमा आक्रमण गर्न सक्छ भने रुस किन सक्दैन?"
भ्लादिमीर पुटिनको करिअरलाई ट्रयाक गर्ने अमेरिकी गुप्तचर अधिकारी फ्योना हिलले न्युयोर्क टाइम्समा प्रकाशित आफ्नो लेखमा लेखेकी छन्, 'पुटिनले युक्रेनलाई वर्षौंदेखि नियन्त्रण गर्ने प्रयास गर्दै आएका थिए । सन् २००६ मा तीनले युक्रेनमा ग्याँस आपूर्ति गर्न बन्द गरे। उनी सत्तामा आएको २२ वर्ष रहे र पुरै समय युक्रेनलाई नियन्त्रण गर्ने कुरा उनको मनमा घुमिरहेको थियो ।
पुटिन सधैँ युक्रेनलाई रुस ल्याउने पक्षमा थिए
पुटिनले नसोची युक्रेनको बारेमा निर्णय गरे कि भन्ने प्रश्नमा फियोना हिल भन्छिन्– "उनको दृष्टिकोणबाट हेर्दा त्यस्तो भएको छैन । उनको सोचाइ हाम्रोभन्दा बिलकुलै फरक छ । उनी आफूलाई रुसको इतिहासमा रेकर्ड गरिएका नेताको रूपमा लिन्छन्। उनको नजरमा युक्रेनलाई हर हालतमा रुसी प्रभावमा फर्काउनुपरेको छ। दोस्रो, पुटिन सधैँ नेटोको विस्तारको विरोधमा रहेका छन्। उनी अमेरिका युरोपबाट बाहिर निस्केको हेर्न चाहन्छन्।"
युरोपका अमेरिकी कूटनीतिज्ञहरूले बारम्बार चेतावनी दिएका छन् कि युक्रेनलाई नेटोमा समावेश गर्ने प्रयासले पुटिनलाई क्रुद्ध बनाउने । तर फ्र्याङ्कलिन फोअर एटलान्टिक पत्रिकामा लेख्छन्, "युक्रेन नेटोको सदस्य बन्ने कुरामा पुटिन त्यति चिन्तित छैनन्। उनी युक्रेन युरोपको भाग बन्नेमा बढी चिन्तित छन्।"
फोर्ब्स पत्रिकाले पुटिनलाई संसारकै सबैभन्दा शक्तिशाली व्यक्ति भनेको थियो
युक्रेनको मुद्दामा हालै युरोपेली नेताहरू पुटिनसँग भेटवार्ता गरेका छन्। सबै भेटमा उनले २० फिट लामो टेबलमा बसेर सामाजिक दुरीको बहानामा उनीहरूसँग कुरा गरेका छन्।
न्युयोर्क टाइम्सको मस्को ब्यूरो प्रमुख एन्टोन ट्रोनोस्की यस्तो लेख्छन्: "वास्तवमा, यो २० फिट लामो टेबुलले संसारबाट उनको दुरीको सङ्केत गर्छ। झण्डै दुई वर्षदेखि पुटिन सार्वजनिक स्थलमा विरलै देखिँदै आएका छन् । राज्य टेलिभिजनले तिनलाई अक्सर एउटा कोठामा टेलिकन्फेरेन्सिङ गरिरहेको देखाएको छ। उनले आफ्ना क्याबिनेट सदस्यहरूलाई पनि आफूबाट टाढा राखेका छन् ।"
लाखौँ रुसीहरूले पुटिनलाई रुसको देशभक्त छोराको रूपमा हेर्छन् जसले उनीसँगै देशलाई माथि उठाएका छन्। यो सहस्राब्दीको सुरुमा उनी रुसको राष्ट्रपति बने र मार्च २०१८ मा उनी चौथो पटक रुसको राष्ट्रपति निर्वाचित भए। फोर्ब्स पत्रिकाले सन् २०१७ र २०१८ मा उनलाई विश्वकै शक्तिशाली व्यक्ति घोषणा गरेको थियो ।
राम्रो स्वास्थ्यका धनी
पुटिनले आफ्नो स्वास्थ्यलाई धेरै गम्भीरतापूर्वक लिन्छन् र दशकौँदेखि जुडो प्रतियोगितामा भाग लिएका छन्। हालैका वर्षहरूमा आइस हक्कीप्रति तिनको चासो उल्लेखनीय वृद्धि भएको छ। उनलाई अक्सर घोडा चढेर माछा मार्दै गरेको देखिन्छ।
नाङ्गो शरीरको फोटो खिच्नसमेत उनी पछि परेका छैनन्। सन् २०११ मा उनले ब्ल्याक सी को स्कुबा डाइभिङमा पनि सहभागी भएका थिए ।
टाससँगको अन्तर्वार्तामा पुटिन आफैँले बेलाबेलामा मात्र रक्सी पिउने गरेको र चिया नै आफूलाई सबैभन्दा मन पर्ने पेय भएको स्वीकार गरेका थिए । रक्सी नपिउने उनको बानीले गर्दा उनी रुसी महिलाहरूमाझ निकै लोकप्रिय भएका छन् ।
रोबर्ट सर्भेले आफ्नो जीवनीमा लेखेका छन्, "स्टालिन, ब्रेझनोफ, आँद्रोपोफ र येल्तसिन र गोर्बाकोफलाई यतिसम्म स्वास्थ्य समस्या थियो कि मानिसहरू उनीहरूले अवकाश लिओस् भन्ने चाहन्थे। तर पुटिन त्यसको अपवाद हुन्। रुसी जनतालाई आफ्ना नेताहरू स्वस्थ छन् भन्ने छाप पार्न यो उनको जनसम्पर्क नीतिको एउटा भाग हो।"
युक्रेनलाई रुससँग ल्याउने पुटिनको चाहना
पुटिन सार्वजनिक जीवनमा इमानदारिताको पक्षमा रहेको देखाउँछन्। क्रेमलिनको एक वेबसाइटका अनुसार सन् २०१५ को अप्रिलमा पुटिन आफैँले आफ्नो आम्दानी एक लाख बीस हजार डलर बराबर रहेको घोषणा गरेका थिए । तिनको दुईवटा सानो फ्ल्याट र एउटा ग्यारेज छ। तिनीहरूको तीनवटा गाडी छ र ती सबै रुसमा बनाइएका छन् ।
तर, उनी महँगो घडी लगाउन मन पराउँछन् । उनका घडीहरू यति महँगो छन् कि एउटा रुसी अखबारले यस विषयमा एउटा लेखसमेत लेखेको थिए । पुटिनले सधैँ रुस र युक्रेनको साझा राष्ट्रिय पहिचानमा जोड दिएका छन्। जून २०१७ मा ओलिभर स्टोनसँगको एक अन्तर्वार्तामा उनले भनेका थिए, "हामी युक्रेनलाई प्रेम गर्छौँ। त्यहाँका मानिसहरूलाई हामी हाम्रा भाइहरूले जस्तै व्यवहार गर्छौँ।"
तर जब पनि युक्रेनी राजनीतिज्ञहरूले इयु र नेटोको सदस्यता लिने इच्छा व्यक्त गरेका हुन्छन्, पुटिनले यसलाई खतराको घण्टीको रूपमा लिएका छन्।
रुसी कमान्डर क्राइमियाको सेभाटोपाल नौसैनिक आधारलाई रुसी सुरक्षाको लागि अत्यन्तै महत्त्वपूर्ण ठान्छन् । आफ्नो पुस्ताका धेरै रुसीहरू जस्तै भ्लादिमिर पुटिनले पनि ९० को दशमको सोभियत संघको विघटन र विश्व राजनीतिमा रुसको घट्दो प्रभावलाई व्यक्तिगत हारका रूपमा हेरेका छन्।
सोभियत संघको विघटनपछि पश्चिमा देशले आफ्नो कमजोरीको फाइदा उठाउँदै आफ्नै सिमाना नजिक आउन खोजेको क्रेमलिनले सधैँ मनमा लिएको छ । युक्रेनमाथि रुसको आक्रमणलाई यसलाई रोक्ने प्रयासका रूपमा हेर्न सकिन्छ। यो प्रयासमा रुस सफल हुन्छ कि हुँदैन, त्यो हेर्न बाँकी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
-
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’
-
पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
-
शुभकार्य वा यात्रा गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको राशिफल
-
विदेशी मुद्राको भाउ केही 'तलमाथि', कसको कति ?
-
इटालीको युभेन्टसलाई झट्का