गोडभेंडाले फेरियो महिलाको जीवनशैली
परम्परागत अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि यहाँका किसानको जीवनशैलीमा परिवर्तन देखिएको छ । गोडभेंडाका लागि बजारको भरपर्ने रिब्दीकोट गाउँपालिका–७, मैनादी लघुवा यतिबेला व्यावसायिक गोलभेँडा खेतीका लागि प्रख्यात बनेका छन् । यहाँका महिला किसानले व्यावसायिक रुपमा गोडभेंडा खेतीमा आकर्षित भएका छन् । टनेलभित्र गोडभेंडा उत्पादन गर्दा राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसको व्यावसायिक खेतीमा लागेका हुन् । यसले महिला आत्मनिर्भर बन्दै गएका छन् ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवाकी गङ्गा कुँवरले एक वर्षअघि कुँवर पशुपालन तथा कृषि फर्म गाउँपालिकाको कृषि शाखामा दर्ता गराइन् । व्यावसायिक कृषि कर्म गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याएको फर्ममार्फत उनले आठ वटा टनेलमा गोडभेंडा उत्पादन गरेकी छन् । आठ लाखको लगानीमा सञ्चालनमा ल्याएको टनेलभित्र बेमौसमी तरकारी उत्पादन गर्न सजिलो भएको उनको भनाइ छ । गोडभेंडा खेतीबाट मासिक ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको उनले बताइन् । दसैँपछि नियमित रुपमा आम्दानी भएको कुँवरको भनाइ छ । टनेलभित्र उत्पादित तरकारीमा रोग, कीरा तथा पानीबाट सुरक्षित राख्दा उत्पादन बढी हुने गरेका छन् ।
एक पटक टनेल निर्माण गरेपछि पटक–पटक तरकारी खेतीका लागि संरचना निर्माण गर्नुपर्ने झन्झटसमेत हटेको छ । खुल्ला आकाशमुनि गोलभेँडा खेती गर्ने किसान अहिले टनेलभित्र उत्पादन गर्न थालेपछि असिनापानी तथा शीतबाट जोगाउन सजिलो भएको बताइएको छ । टनेलभित्रको जमिनमा प्लास्टिक विछ्यएकाले झार गोडिरहनुपर्ने समस्या छैन । चिसो तथा पानीबाट जोखिएपछि लामो समय गोडभेंडाले उत्पादन हुने गरेको अर्का किसान शर्मिला कुँवरको भनाइ छ ।
गोडभेंडा खेती गर्न थालेपछि यहाँका किसानले गोडभेंडामा रहेको परनिर्भरता समेत हटाएका छन् । ठूलो मात्रामा गोलभेँडा उत्पादन भएसँगै गरीबी हटाउन समेत सहयोग पुगेको उनको भनाइ छ । पाल्पामा उत्पादित गोडभेंडा रुपन्देहीको बुटबल, रुपन्देही, स्याजा पोखरा, चितवनसम्म निर्यात हुँदै आएको छ । गोलभेँडा खेतीबाट मात्रै पाल्पामा एक हजार बढी किसानले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
यहाँ उत्पादित ८० प्रतिशत गोलभेँडा पोखरामा निर्यात हुँदै आएको छ । पाल्पा, बुटवल र स्याङ्जा क्षेत्रमा २० प्रतिशत निर्यात हुन्छ । उत्पादित गोलभेँडाबाट राम्रो मूल्य र बजार पाउन थालेपछि यहाँका महिला किसान व्यावसायिक कृषितर्फ आकर्षित हुन थालेका छन् । व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि कमजोर आयस्रोत भएका परिवारको दैनिकी परिर्वतन देखिएको छ । आम्दानीको स्रोत बढेपछि स्थानीय वासिन्दा स्वास्थ्य, शिक्षा, सञ्चारलगायतका क्षेत्रमा पहुँच बढेको छ । श्रम र पसिना बगाउन हिम्मत गर्ने महिलाका लागि स्वदेशमा नै राम्रो कमाइ हुने कृषि क्षेत्रमा लागेका महिलाले देखाएका छन् ।
परम्परागत अन्नबालीको विकल्पमा व्यवसायिक गोलभेँडा खेती गरिरहेकी शर्मिला कुँवर आफैले व्यवसायिक खेती गर्दा जीविकोपार्जन गर्न सजिलो भएको बताइन् । आफ्नै कमाइमा छोराछोरी पढाउनदेखि घरव्यवहार चलाउन सफल भएकोमा यहाँका महिलाहरू गर्व गर्छन् । व्यवसायिक गोलभेँडा गर्नुअघि धेरै महिलालाई घर व्यवहार चलाउन निकै मुस्किल थियो । सानो कामको लागि पनि ऋणसापट गर्नुपर्ने बाध्यता भोगेका उनीहरू मिहिनेत गर्यो भने पैसामात्र होइन, सुख पनि पाइने अनुभव व्यक्त गर्छन् । गोलभेँडा बेचेर गतिलो आम्दानी गदै यहाँका महिला किसान भन्छन्, “व्यवसाय गरेर आत्मनिर्भर भएपछि गाउँसमाजले पनि आशा र विश्वासको नजरले हेर्न थालेका छन् ।”
कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्थानीय तह तथा गैरसरकारी संस्थाले गोलभेँडा खेतीमा सहयोग गर्दै आएका छन् । गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले कृषि तथा पशुपालनका क्षेत्रमा अनुदान प्रदान गरिएको बताउनुभयो । गोडभेंडामा उत्पादनको आधारमा अनुदान सहयोग गरेको गाउँपालिकाले सबै वडामा खुर्सानी खेतीमा प्रोत्साहन गरेको हो । ग्रामीण क्षेत्रका महिलाको आर्थिक स्थितिमा सुधार ल्याउन महिला केन्द्रीत कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष जिसीको भनाइ छ ।
व्यावसायिक गोलभेँडा खेतीबाट महिला किसानको जीवनस्तरमा सुधार आएको उनको भनाइ छ । उनले गरीबी हटाउनका लागि निम्न वर्गीय परिवार कृषिलगायतका उत्पादनमूलक क्षेत्रमा मेहनत गर्न आवश्यक रहेको बताए ।