मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

सहकारीको पनि अब आफ्नै एटिएम कार्ड, प्रयोगकर्ताले अन्तर्राष्ट्रिय सुविधा पाउने

आइतबार, २२ फागुन २०७८, १५ : २८
आइतबार, २२ फागुन २०७८

पहिलोपटक सहकारी संघ–संस्थाहरुले पनि आफ्नै नाममा एटिएम कार्ड जारी गर्न पाउने भएका छन् । एकमात्र राष्ट्रिय सहकारी बैंक (एनसीबीएल)को सहजीकरणमा सहकारी संघ–संस्थाहरुले आफ्ना सेयर सदस्यहरुलाई एटीएम कार्ड उपलब्ध गराउन पाउने भएका हुन् ।
राष्ट्रिय सहकारी बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) तथा ग्लोबल आइएमई बैंकसँग सहकार्य गरी एटीएम कार्ड सेवा सुरु गर्न लागेको हो । एससीटी, ग्लोबल आइएमई र सहकारी बैंकबीच आइतबार औपचारिक सम्झौता हुदैछ । 
योसँगै सहकारी संस्थाहरुले ‘कोप कार्ड’ को नाममा अब आफ्ना सदस्यहरुलाई एटिएम सेवा दिन पाउनेछन् । सहकारी संस्थाहरुले सहकारी बैंकसँग सम्झौता गरी एटिएम सेवा दिनसक्छन् भने कारोबारको सेटलमेन्ट समेत सहकारी बैंकबाटै हुनेछ ।

यस्तो कार्ड यूपीआई नेटवर्कमा जोडिएका जुनकुनै देश र जुनकुनै बैंकको एटिएमबाट पनि प्रयोगकर्ताले नगद झिक्न (विथ ड्र) सक्ने सहकारी बैंकका सूचना तथा प्रविधि प्रमुख नविन कार्कीले जानकारी दिए । यस्तो कार्ड ग्लोबल आइएमई बैंकका सबै एटिएम बुथमा निःशुल्क प्रयोग गर्न पाइने समेत कार्कीले जनाकारी दिए ।

यद्यपि, अन्य बैंक तथा सेवा प्रदायक कम्पनीसँगको कमिसन तथा एटिएम कार्डको शुल्कको विषय भने स्वयम् सहकारी संघ संस्थाहरुलाई स्वनिर्णयको अधिकार दिइएको कार्कीले रातोपाटीसँग बताए । 

कोप कार्डका लागि आज त्रिपक्षीय सम्झौता भएपनि कार्ड भने करिब तीन महिनापछि मात्र उपलब्ध हुनेछ । हाल सहकारी संस्थाहरुले एससिटिसँग सम्झौता गरी एटिएम सेवा दिएपनि हिमालयन बैंकमा सेटलमेन्ट हुने भएकाले सहकारी संस्थाहरुले निश्चित रकम बैंकको खातामा राख्नुपर्ने बाध्यता थियो । सहकारी बैंकले सुरु गरेको सेवाबाट सहकारी संस्था र संस्थाका सदस्यहरूका लागि समेत सस्तो पर्ने बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप