सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

व्यापारी मृत्यु प्रकरण : असई शेरसिंह धामीविरुद्ध किटानी जाहेरी दर्ता गरिँदै, आन्दोलन स्थगित

आइतबार, २२ फागुन २०७८, १४ : ४१
आइतबार, २२ फागुन २०७८

सुर्खेतमा कालिकोटका व्यापारी कृष्ण हमाल (मिनी) को शंकास्पद मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्तले सुब्बा कुना प्रहरी सहायक निरीक्षक (असई) शेरसिंह धामी विरुद्ध किटानी जाहेरी दर्ता गर्न लागेका छन् ।

प्रहरीको कुटाइबाट हमालको मृत्यु भएको भन्दै आफन्तले उनीविरुद्ध किटानी जाहेरी दर्ता गर्न लागेका हुन् । मृतकका आफन्तले प्रहरीको लापरवाहीले उनको मृत्यु भएको आरोप लगाएका छन् । शुक्रबार साँझ वीरेन्द्रनगर भित्रिने प्रवेशद्वार सुब्बा कुनामा हमाल सवार ट्रकलाई नियन्त्रणमा लिएर हमाललाई कुटपिट भएको र उनको मृत्यु भएको उनीहरुको आरोप छ । 

यद्यपि आफन्त र प्रशासनबीच भने एक खालको सहमति भएर आन्दोलन स्थगित गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय सुर्खेत र हमालका आफन्तबीच भएको मौखिक सहमतिपछि मृतकका आफन्तले आन्दोलन नगर्ने भएका हुन् ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार शनिबार बनाइएको चार जनाको छानबिन समितिमा प्रदेश अस्पतालका कार्यरत एकजना चिकित्सकलाई सदस्यका रूपमा थप गर्ने आफन्त र प्रशासनबीच सहमति भएको हो ।

यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीमगर, अनुसन्धान अधिकृत गोपाल थापा र उच्च अदालत बार एसोसिएशन सुर्खेत अध्यक्ष उत्तमप्रसाद आचार्य सदस्य रहेको छानबिन समिति गठन गरिएको थियो ।

उक्त समितिले ३ दिनभित्र छानबिन गरेर प्रतिवेदन प्रमुख जिल्ला अधिकारीसमक्ष पेश गर्नु पर्नेलाई समय बढाएर एक हप्ता पुर्याइएको प्रशासनले जनाएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप