बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनता आवास कार्यक्रम : चार सय ३७ घर निर्माणाधीन

आइतबार, २२ फागुन २०७८, १४ : १६
आइतबार, २२ फागुन २०७८

जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुर र कैलालीमा ४३७ दुईकोठे घर निर्माणाधीन अवस्थामा रहेका छन् । न्यून आय भएका दलित एवं विपन्न परिवारका लागि सरकारले १० करोड रकम विनियोजन गरेर घर बनाइदिन लागेको हो । गत आर्थिक वर्षदेखि यहाँ उक्त कार्यक्रमअन्तर्गत निर्माणको काम थालिए पनि कोरोना भाइरस सङ्क्रमणका कारण काम प्रभावित बनेको थियो ।

जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरमा २३७ र कैलालीमा २०० घर निर्माण भइरहेको शहरी विकास तथा भवन कार्यालय धनगढीका प्रमुख गोविन्द देवकोटाले जानकारी दिए । “चालू आर्थिक वर्षमा ९० प्रतिशत घर निर्माण गरिसक्ने लक्ष्य रहेको छ”, प्रमुख देवकोटाले भने, “अहिले घर निर्माणको प्राविधिक र अन्य रेखदेखको काम हामीले नै गरिरहेका छौँ ।” उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकामा ६६, कृष्णपुर नपामा ३३, पुनर्वास नपामा ३३, दोधारा–चाँदनी नगरपालिकामा ३९, बेलौरी नपामा ३३ र बेदकोट नपामा ३३ घर बनिरहेका छन् ।

त्यसैगरी कैलालीमा धनगढी उपमहानगरपालिकामा ४२, गोदावरी नपामा २८, गौरीगङ्गा गाउँपालिकामा नौ, घोडाघोडीमा २३, बर्दगोरिया गाउँपालिकामा १४, लम्कीचुहा नगरपालिकामा २७, जानकी गाउँपालिकामा १५, भजनी नगरपालिकामा २१ र टीकापुर नगरपालिकामा २१ घर निर्माण भइरहेका छन् । “उभोक्ता र लाभग्राहीसित सम्झौता भएर घर बन्दैछन्”, प्रमुख देवकोटाले भने, “घर बनाउन प्रति परिवार रु तीन लाख ३६ हजार सरकारले दिएको छ ।” उनका अनुसार प्रति परिवार र उपभोक्ता समितिले १० प्रतिशत श्रमदान गर्नुपर्ने प्रावधान रहेको छ । घर निर्माणका लागि कैलालीमा पाँच करोड पाँच लाख र कञ्चनपुरमा पाँच करोड ७६ लाख रकम विनियोजन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप