सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको आयत असीमित हुँदै गएकोमा मन्त्री खाँणको चिन्ता

शनिबार, २१ फागुन २०७८, १८ : ३०
शनिबार, २१ फागुन २०७८

गृहमन्त्री बालकृष्ण खाँणले सरकारले उद्योगी र व्यवसायीप्रति मैत्रीपूर्ण व्यवहार गरिरहेको बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवाको ६३औँ वार्षिक साधरणसभामा मन्तव्य राख्दै गृहमन्त्री खाँणले भने, “निजी क्षेत्रप्रति राज्यले गरेको भरोसा कहिल्यै टुट्न दिइने छैन, राज्य सञ्चालनमा निजी क्षेत्रको अहम् भूमिका छ ।”

मन्त्री खाँणले पेट्रोलियम पदार्थको आयत असीमित हुँदै गएको भन्दै चिन्तासमेत व्यक्त गरे । उनले भने, “गाउँगाउँमा समेत दाउरा बाल्न छाडियो, ग्यास गाउँगाउँमा पुग्यो, यसले पनि पेट्रोलियम पदार्थ आयात बढायो, यसलाई विस्थापित गर्ने भनेकै विद्युत्को प्रयोग हो, यसैले विद्युत्को ट्रान्समिटर बनाउने गरी एमसिसी सम्झौता भएको हो ।”

उनले एमसिसी सम्झौता नगरेको भए नेपालमा डलरको सङ्कट देखिने तर्क गर्दै एमसिसीले विकासमा धेरै सहयोग पुर्‍याउनेसमेत दाबी गरे । सो अवसरमा मन्त्री खाँणले भैरहवास्थित जिल्ला कारागार अन्यत्र स्थानान्तरण गर्न सरकारले सघाउने पनि बताए । उनले विद्युत्को ट्रङ्कलाइनको महसुल नतिरे पनि लाइन नकाटिने भन्दै उद्योगीलाई आश्वास्त पार्दै भने, “लाइन काट्न विद्युत् प्राधिकरण उद्योगमा गए पनि प्रहरीले सहयोग गर्दैन, समस्या सम्बोधन गर्न सरकार अग्रसर छ, ट्रङ्कलाइनको महसुल नतिरे पनि लाइन काटिदैन ।”

ट्रङ्कलाइनवापतको विद्युत्को बाँकी बक्यौता महसुल करिब रु आठ अर्ब रकम उठ्न बाँकी छ । उक्त रकम नतिर्ने भन्दै उद्योगीहरूले अटेर गरिरहेका छन् भने नेपाल विद्युत् प्राधिकरणले रकम तिर्न ताकेता गरेको छ । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले सभ्य समाज, सभ्य परिवार हरेक ठाउँमा समस्या हुने भएता पनि समाधान गर्ने विधि, शैली ठिक भएमा त्यसले दीर्घकालसम्म राम्रो नतिजा दिने बताए । उनले प्राचीनकालदेखि अहिलेसम्म विश्व अर्थतन्त्रमा निजी क्षेत्रको ठूलो भूमिका रहेको तथ्य र घटनासमेत सुनाए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरोकारवाला पक्षलाई नराखी नीति, नियम बनाउँदा बेला–बेला सरकारबाट निजी क्षेत्रमा समस्या सिर्जना भइरहेको बताए । उनले निजी क्षेत्रको योगदानलाई राज्यले महत्व दिनुपर्नेमा समेत जोड दिए । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारी, उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष रामु सङ्घाइ, उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यद्वय महेन्द्रकुमार श्रेष्ठ र राजेश अग्रवाललगायतले मन्तव्य राख्दै कोरोनाका कारण निजी क्षेत्र धरासायी भएको हुँदा राज्यले विशेष प्याकेजका साथ निजी क्षेत्रको प्रवद्र्धन र संरक्षणमा लाग्नुपर्नेमा जोड दिएको सङ्घका महासचिव विजय पाण्डेले बताए । 

सो अवसरमा सिद्धार्थ उद्योग वाणिज्य सङ्घ पत्रकारिता पुरस्कारबाट लुम्बिनी प्रेस क्लबका सचिव शङ्करप्रसाद पाण्डे, रुद्र विलास तुलाचन पुरस्कारबाट वरिष्ठ साहित्यकार रुद्र ज्ञवालीलगायतलाई नगदसहित सम्मानसमेत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप