सोपानले थाल्यो औषधी उत्पादन, ६ प्रकारका औषधी सार्वजनिक
सोपान फर्मासिटिकल्सले नेपाली बजारमा विभिन्न प्रकारका ६ औषधी उत्पादन तथा सार्वजनिक गरेको छ । कम्पनीले ब्याक्टेरियल, दम, एलर्जी र एलजीए रोग उपचार गर्न मिल्ने माइजिथ, मन्ट्रिन, एलर्ज, सिप्राइट, अनमिट र एनियुर सार्वजनिक गरेको हो ।
माइजिथले व्याक्टेरियल इन्फेक्सनसँग सम्बन्धित औषधी हो । यस्तै, मन्ट्रिनले दम र एलजीएका लागि काम गर्ने कम्पनीले बताएको छ । त्यस्तै एलर्जले एलर्जी, सिप्राइटले एलर्जी र भोक, अनमिटले वान्ता र एनियुरले भिटामिन बी १ को कमी निको पार्छ ।
कोभिड–१९ महामारीको समयमा सोपानले अक्सिजन उत्पादन गरेर विभिन्न अस्पतालमा आपूर्ति गरेको थियो । कम्पनीका अध्यक्ष रामेश्व रिजालले सोपानले उत्पादन गरेका औषधी देशभर सहजरूपमा पुर्याउने र आकस्मिक उपचारमा प्रयोग गर्न मिल्ने बताए ।
कम्पनीको वार्षिक उत्पादन क्षमता ९० करोड ट्याबलेट, ७ करोड क्याप्सुल, ३ लाख लिटर लिक्विड, ३० लाख बोटल सुख्खा पाउडर र ३० लाख ट्युबमलम रहेको बताइएको छ । कम्पनीमा उत्पादित औषधीहरूको गुणस्तरीयता परीक्षण गर्न आवश्यक पर्ने उपकरण समेत जडान गरिएको अध्यक्ष रिजालले बताए ।
कम्पनीले यसअघि शिक्षा, स्वास्थ्य र ऊर्जा क्षेत्रमा लगानी गर्दै आएको थियो । यससँगै फर्मासिटिकल्स क्षेत्रमा समेत लगानी बढाएको कम्पनीले १ अर्ब २७ करोडको लगानीमा औषधी उत्पादन थालेको जानकारी दिएको छ ।