निबन्ध : सालिकको चरो
चतुरनाथले कपिल सिंहतिर औँल्याउँदै खिसी बोले– “कपिल सिंहको जीवनको करिष्मा सकियो !... रोगले च्याप्यो ! मुस्किलले जागिर धानिरहेका छन् ! घरदेखि अफिस, अफिसदेखि घरसम्मको यात्रा उनका लागि कठिन बनिरहेको छ । तर पनि सकी नसकी घस्रिरहेका छन् !”
सबैतिरबाट उनको ओरालो गति देखेर उनले यो टिप्पणी बोलेका हुँदा हुन् । यो कुरा मेरो मनमा कसैले हानेको बाँण सरी यसरी गड्यो; यसले एकैचोटि हजार झ्वाँला छुटेतुल्य बनेँ । भित्रैबाट असह्य पीडाले दुखेर म बोलेँ– “जीवनको करिष्मा कसैको पनि अजम्मरी छैन चतुरनाथ दाइ ! चालीस नाघेपछि सबैको यात्रा ओरालोतिरै अभिमुख हुन्छ । जीवनमा झुल्किने करिष्मा कहिल्यै नओइलाउने फूल होइन; यो फूल त एक दिन अवश्य ओइली झर्छ ।”
एक जनाको करिष्मा मात्र ओइली झर्ने होइन, सबैको गति उही हुन्छ । संसार जित्नै निस्केको थियो सिकन्दर । सो घडी उसको ओज र करिष्मा कति प्रज्ज्वल थियो । तर करिष्मा सकिएपछि आफ्नो मुलुक मेसेडोनिया पुग्न नपाई बाटामै लम्पसार प¥यो ।
संसार जित्नै निस्केको थियो नेपोलियन बोनापार्ट । युरोपलाई आफ्नो साम्राज्यमा गाभिरहँदा उसको तेज कति प्रखर थियो । उसको करिष्मा कति चहकिलो थियो । आखिर जित्दा जित्दै हार्नुपर्यो । र, सेन्ट हेलेनाको द्वीपमा निरीह कैदी जीवन मर्नु पर्यो । संसार जित्नै हिँडेको थियो हिटलर पनि । एकचोटि अखिल विश्व हिटलरको नाम सुन्नासाथ त्राहिमाम त्राहिमाम बन्यो । हिटलरले देखाएको करिष्मा पनि एक दिन बङ्करमा लुकेर आफूले आफैँलाई गोली पड्काएर मार्नुमा टुङ्गियो । करौडौँको ज्यान लिने हिटलर निरीह बनेर आफैँ आत्मघात गर्ने अवस्थामा पुग्यो ।
विपुल करिष्माका पहाड उभ्याउने कति–कति मनुवा एक दिन यही माटामा धुलिसात बने । जित्ने कुरा नै एक झुट भइदियो । विश्व–सम्राट बन्ने सपना नै एक भ्रम भैदियो ।
मानव जीवनमा सुख, समृद्धि र हाई हाई एक चोटि आउँछ र त्यो रेखा ऊध्र्वगामी बन्दै उकालो चढ्छ । एक सीमासम्म त्यो उकालो जान्छ । अनि विस्तारै ओरालो झर्न सुरु गर्छ । अस्तित्वको नियमै यही छ । सगरमाथाको शिर टेकेका पैतलाहरू शिखरमा कति नै लामो समय अडिरहन सक्छन् र ? ती पैतलाहरूले शिखरबाट फेदीतिर ओर्लिनै पर्छ । धर्तीका सबै जीवन्त फूलहरू एक दिन ओइलाउनै पर्छ । नओइलाउने फूल प्रकृतिमा फुल्दै फुल्दैन । निर्जीव प्लास्टिकको फूल ओइलाउँदैन । किनभने त्यसमा ओइलाउने तत्त्व हुन्न । जीवन्त प्राकृतिक फूलमा मात्र त्यो तत्त्व विद्यमान रहन्छ ।
मानव जीवन प्रकृतिको जीवन्त फूल जस्तै छ; जसरी फूल फुल्छ, फूल हाँस्छ । त्यसरी नै मानिसको जीवन पनि एक दिन फक्रिन्छ फुल्छ । फुलेको फूल एक दिन ओइलिन्छ । त्यसको रङ्ग र रोशनी उड्छ र भुइँमा खस्छ । सोही रीतले मानवको जवानी एक दिन मुर्झाउँछ । शिथिल बन्छ । सबैको गति यही हो । सबैको नियति यही हो । जीवनको करिष्मा नओइलिने फूल जस्तो सदावहार एकै विन्दुमा अडिने चीज होइन ।
यो धर्तीमा बुद्ध पनि बूढो भए । क्लियोपेट्राको छालामा पनि चाउरी आयो । अमिताभ वच्चन साहेब पनि सेतामसुर फुलिसके अर्थात् सबैको करिष्मा उड्ने तरखरमै हुन्छ । आकाश हेर्छु, पूर्णचन्द्रको बाटुलो आकृति रात प्रतिरात खुँडे बन्दो छ । चन्द्रमाका दुइटै पाटा छन् । कँचिया आकारको खुँडे चन्द्रमा दिनदिनै भरिँदै भरिँदै जान्छ । पूर्ण हुँदै जान्छ र एक दिन पूर्णचन्द्रको ज्योत्सनाले चहचह धर्ती रङ्गिन्छ । तर जूनको त्यो करिष्मा सदाकाल सदाबहार आकाशमा छाइरहन्न । पूर्णिमाको भोलि पल्टबाटै त्यो घट्न थाल्छ । आकार खुँडे बन्न थाल्छ र एक दिन त्यो आकाशबाट नामेट बन्छ । अमावश्याको दिनमा पुग्दा चन्द्रमाको अस्तित्व आकाशमा गोचरसम्म हुन्न ।
सबै आयामबाट उत्कर्ष टेकेको मान्छेलाई हेर्दा पूर्णचन्द्रको आकृति–विम्बमा ठम्याउनु पर्ला । जसरी पूर्णचन्द्रको आकार खण्डित हुन थाल्छ । खुँडे बन्न थाल्छ । खिइन सुरु हुन्छ । त्यसरी नै हाम्रो जोवनको लाली पनि पातलिन सुरु हुन्छ । ऊध्र्वतलमा चढेको ज्योति ओरालो झर्न थाल्छ । मानिसको जीवन, जवानी, उमेर अनि चन्द्रमाको घट्ने–बढ्ने कला एकै एकै लाग्छ ।
हरेक रात आकाशमा चम्किला देखिएका तारा पनि त्यहाँबाट अकारण खस्ने गर्छन् । हरेक बिहान अरुणिमा छिचोल्दै आकाश चढेको घाम सन्ध्या नहुँदै अस्ताचलमा खुट्टा पसार्छ । प्रकृतिमा त उत्कर्षबाट अपकर्षमा ओर्लिनुका अनेकौँ विम्बहरू छन् । दृष्टान्त र उपमाहरू छन् । यसबाट मानव चरीले अलिकति पनि ज्ञान लिन सकेको छैन । रत्तिभर पाठ सिक्न सकेको छैन । मानौँ ऊ ठानिरहेको छ; करिष्मा भन्ने चिज अजम्मरी वस्तु हो, यो कहिल्यै नासिँदैन । कहिल्यै मासिँदैन । यस्तो सोच नै सर्वथा गलत छ । प्रत्येक जन्मिने चिजको मृत्यु निश्चित छ ।
बुद्धले कुनै पनि चिज शाश्वत छैन भने । संसार अनित्य छ भने । हुन पनि हो, कुनै पनि जीवजन्तुले चिरञ्जीवी आयु पाएका हुन्नन् । जतिसुकै निरोगी शरीर पनि एक दिन रोगको गुँड बन्छ । वसन्तको कालीन वहरले पनि आफ्नो अवधि सक्किएपछि प्रकृतिबाट बिदा लिनुपर्छ । शरदको शस्यश्यामल हरियालीले शिशिर याममा सिक्रो भई उजाडिनुपर्छ । प्रकृतिको करिष्मा त स्थायी छैन भने मान्छेको जीवनले आर्जन गरेको कृत्रिम चमक कतिन्जेल टिक्न सक्ला र !
भर्खरै बलिउडका सिने कलाकार राजेश खन्नाको जीवनको उत्थान र पतनका घटनाहरू पढिरहेको थिएँ । उनी आजभन्दा नौ दस वर्षअघि सन् २०१२ मा यस संसारबाट अस्ताएका थिए । उनी सिने जगत्मा प्रवेश गरेपछि सुरु सुरुका अनेकौँ सिनेमा सुपरहिट भए । उनको कलाकारिताले ओस्कार फिल्म महोत्सवसम्म पनि प्रवेश पायो । हेर्दाहेर्दै उनको ख्याति र सफलता नाप्नै नसकिने गतिमा उकालो लाग्यो ।
भनिन्छ, उत्कर्षका दिनमा सेतो कारमाथि सवार भएर हिँड्दा महिला फ्यानहरूले कारमाथि चुम्बन गर्थे । लिपिस्टिकको दागले सिङ्गो कार रातो हुन्थ्यो । सहरमा उनी विसन्चो भएको खबर फैलिनासाथ महिला फ्यानहरूले तस्बिरमा पानी चढाउँथे अरे । चौबीस वर्षमा सिने जगत् छिरेका उनी छब्बीस वर्षमा सुपरहिट भइसकेका थिए । उनी जहाँ जान्थे, त्यहाँ सम्हाली नसक्नु गरी मान्छेको भीड लाग्थ्यो । उनी सडकमा निस्केपछि बम्बई पुलिसलाई सुरक्षाको निम्ति सधैँ तनावको विषय हुन्थ्यो । उनले बिहे गरेको साल प्रहरीले समुद्री किनारा र महिला छात्रवास सिलबन्दी गर्नुपरेको थियो अरे ।
केही समयपछि सिने जगत्मा राजेश खन्नाको ओरालो यात्रा सुरु भयो । उनका फिल्म लगातार फ्लप खान थाले । उनको ठाउँ विस्तारै अमिताभ वच्चनले लिन थाले । ‘नमक हराम’ सिनेमाबाट वच्चनको लोकप्रियता उत्कर्षतिर चढ्यो भने खन्ना साब ओरालो लागेको मृग बने । करिष्मा सकिएपछि कपाल काट्ने शैलुनमा समेत राजेश खन्ना हेयर कट– रु. दुई रुपैयाँ, अमिताभ वच्चन हेयर कट– रु. तीन रुपैयाँ पचास पैसा यो गतिमा उनको अवमूल्यन भयोे । उनको मृत्युको बखत नौ लाख मलामीको लर्को छुट्यो भनिन्छ । दुःखद् संयोग हो या सुखद् संयोग हो, प्रसिद्धिका दिनमा पनि उनी सडकमा निस्किँदा पुलिसले लाठी चार्ज गर्नुपर्यो । शवयात्रामा पनि भीड नियन्त्रण गर्न लाठी चार्ज गर्नुपर्यो । यसरी राजेश खन्नाको जीवनले एक सबक सिकाइरहेको छ– जीवनको करिष्मा सधैँ एउटै व्यक्तिसित टाँसिइरहने चिज होइन । यो त एक दिन खुइलिएर या उडेर जाने चिज हो ।
राजा योगनरेन्द्रको शिरको चरो एक दिन उड्छ भन्ने मान्यतामा म अडिग छु । योगनरेन्द्र मल्ल विम्बमा बोल्ने राजा रहेछन् । इतिहास पढ्दा त्यस्तै लाग्छ । मल्लकालीन राजाहरूको इतिहास पढ्दा उनको नाम र काम भेटिन्छ । यिनी पाटनका प्रतापी राजा थिए । चालीस नपुग्दै आफ्नो उत्तराधिकारी मरेपछि पुत्र शोकले आकुल–व्याकुल बने । केही समयपछि राजा संन्यासी जस्तो बने । राजकाज मन्त्रीलाई सुम्पेर आफ्ना एकतीस जना रानीसहित चाँगुमा गएर बस्न थाले अरे ।
आफू जीवित हुँदै उनले आफ्नो भव्य सालिक बनाउन लाएछन् र सालिकको शिरमा चरो पनि राख्न लाएछन् । दरबार छाडेर चाँगु–बासमा जानुअघि आफ्ना मन्त्रीहरूलाई बोलाएर भने अरे– जबसम्म मेरो सालिकमाथिको चरो त्यहीँ रहन्छ, तबसम्म म जीवित रहनेछु भनी दरबारको झ्याल खुला राख्नू, कोठामा विछ्याउना ठीक पारिराख्नू !”
योगनरेन्द्रको आदेशमा एक सङ्केत थियो । शिरको चरो एक ओज हो । एक प्राण हो । एक श्री हो । एक करिष्मा हो । यसले नछोडुन्जेल मान्छे जीवित रहन्छ । अस्तित्ववान् रहन्छ । जुन दिन चरो उड्छ, त्यस दिन ऊ अस्तित्वहीन बन्छ । मेरो विचारमा योगनरेन्द्रको सालिकमा झँै प्रत्येक व्यक्तिको शिरोभागमा एक एक थान चरो बसेको छ । चराको चिरबिर गान चलुन्जेल हाम्रो ताउर–माउर चल्छ । जुन दिन चरो हामीलाई छोडेर उड्छ, त्यस दिनबाट सबको ओरालो यात्रा अवश्यम्भावी छ ।
विज्ञान भन्छ; संसारमा चौध करोड वर्षसम्म डाइनोसरको एकछत्र राज चल्यो । डाइनोसरका अगाडि अरू पशुप्राणी त फुच्चे लिलिपुट भैहाले । डाइनोसर युगमा यसको करिष्मा कति बढी थियो । यस्तो भीमकाय शक्तिशाली प्राणी पनि कतै लोप होला ? कल्पना गर्न पनि हिच्किचाहट पैदा हुन्छ । तर एक दिन अग्निज्वाला ओकल्दै आयो एक धुम्रकेतु । त्यो पृथ्वीमा यसरी ठोक्कियो । त्यसको अग्निज्वालाले सबै जीवजन्तु जलेर भष्मखरानी भए । छ करोड पचास लाख वर्षअगाडि त्यसै आगाको लप्कामा डाइनोसर खरानी बन्यो । त्यो बेला पृथ्वीको तापमान नै दुई सय डिग्री पुग्यो भन्ने अनुमान गर्छन् वैज्ञानिकहरू । ठूला पशु प्राणी सबै स्वाहा भए । तीस केजीभन्दा साना दस प्रतिशत जीव मात्र बाँकी रहे । त्यही साना जीवमध्ये एउटा जीव कलान्तरमा बाँदर बन्यो, त्यसैबाट मान्छे विकसित भयो भनिन्छ । जे भए पनि विराट करिष्माको टाकुरी छोएको डाइनोसरको पनि ओरालो गति आउँदो रहेछ । दुई खुट्टे मनुवा अहिले पृथ्वी ग्रहमा ताहुर–माहुर गरिरहेको छ । आफ्नो करिष्मा देखाइरहेको छ । के ठेगान डाइनोसर मासिएभन्दा पनि खराब ढङ्गले यसको नामेट हुने त होइन ? अनेक सन्देहले आक्रान्त छ विश्व । चतुरनाथ दाइलाई सोध्न मन छ, कहाँ गयो हँ डाइनोसरको करिष्मा ?
रोज रोज यस सडकमा हिँड्दा बूढो साँढे उपर आँखा पर्छन् । पाँच वर्ष अघिको साँढे र अहिलेको साँढे तुलना गर्छु । यिनका बीच काहीँ सङ्गति भेट्दिन । अहिले यसको चाल थकित थकित छ, गलित गलित छ । पहिले यसको खुट्टाको चालै अर्काे थियो । यसको हिँडाइको वेगै बेगल थियो । समयले साँढेलाई थला पार्दै लगेको छ । अब यसको होक्राँ सेलाइसकेको छ । अब यसको हुङ्कारले बिदाइ लिइसकेको छ । हिजो कस्तो थियो, यसको लमक लमक ! आफैँमा लोमहर्षकारी ! आज मानाँै यो मरेको बिरालो काखी च्यापेर लोथ्रे चालमा ठिमीको उकालो हिँडिरहेको छ । हिँडिरहेको पनि के भनौँ बडा मुस्किलले घस्रिरहेको छ ।
साँढेको ओजमा आएको क्षयीकरणले आफूभित्रको अहङ्कारलाई अलिकति गलाउँछ । त्यस्तो साँढेको त करिष्मा सकिँदो रहेछ, मान्छेको के कुरा ? त्यसै बूढापाकाले उखान हालेका होइनन्– बाघ बूढो भएपछि फट्याङ्ग्रा टिप्छ । ठूलो सिकारको सामथ्र्य हराएपछि फट्याङग्रा टिप्नु बाघको नियति होला । नत्र जिउँदो अर्ना र हात्ती चिथोर्ने बाघको करिष्मा कसले देखेका छैनन् र ?
२०७२ बैशाखको भूकम्पले काठमाडौंको छातीमा उभिएको धरहरा पनि बुच्चो हुने गरी ढल्यो । सानका साथ खडिखडाउ थियो धरहरा । त्यो एक किसिमले मानव करिष्माकै निसानी थियो । अनुपम मानव धरोहरको प्रतीक थियो । ढलेर बुच्चो हुनुमा पनि अनेक शिक्षाहरू छन् । अर्थका अनेक सङ्कथनहरू छन् अर्थात् जतिसुकै तलाको धाक दिएर ढडिए पनि एक दिन ढल्नुपर्ने प्राकृतिक नियतिलाई यसले उद्घोष गरिरहेको छ ।
चतुरनाथले कपिल सिंह दाइको करिष्मा सकियो भने पनि उहाँका जिजीविषाहरू अझै अत्यन्त बलशाली छन् । नजिकबाट उहाँलाई मैले नियालिरहेको छु । अझै पनि पहाड चढेर आफ्नो पैतृक थलोमा बाख्रापालन गर्ने, बाख्राको विशाल खोर बनाएर जोरनाले बन्दुक राखेर, सिकारी भोटे कुकुर पालेर महँगो मूल्यमा खसी बेच्ने र दारिम खेती लाउने सपना बुनिरहनु भएको छ । दाइको शरीरलाई रोगले गाँजे पनि उहाँ भित्रको मनलाई निराशा, हताशा र विषाद भावले अलिकति पनि गाँजेको छैन । उत्तिकै ज्याद्रो आशावाद उहाँको रौँ रौँमा गाडिएको अनुभूति हुन्छ मलाई । अरूले उहाँलाई सेलाउँदै गएको देखे पनि उहाँ त दिन पर दिन अरू तातिँदै गएको, अरू रापिँदै गएको अनेक अनूभूतिहरू छन् मसित । उहाँको आँटमा अलिकति पनि आँच आएको छैन । उहाँको हिम्मत र मनोबलमा अलिकति पनि घुनपुत्ली धमिरा पसेको छैन । त्यस अर्थमा दाइ अजस्र प्रेरणाको सलेदो बन्नु भएको छ र हामीलाई नित्य दृढ इच्छाशक्तिको उज्यालो फालिरहनु भएको छ ।
सूर्यको राप र रोशनी त एक दिन सेलाउने अनुमान गर्छन् वैज्ञानिकहरू । बित्ते आयुको मान्छेको के कुरा ? केही वर्ष अघि पछिको कुरा मात्र हो । मान्छे अर्काको करिष्मा सकिएको कुरा चर्काे रूपमा देखिरहेको छ । तर आफ्नो करिष्मा सकिएको कुरा चाहिँ भुलिरहेको छ । समयले कसैको तालुका भुत्ला तानेर खुइले खल्वाट बनाइरहेछ । कसैका तालुमा तुसारो खसाएर कालो कपाल सेतो काँसघारी बनाइरहेको छ । तर अरूको तालुखुइले टाउको देख्ने आँखा आफ्नै कपालमा हिउँ खसेको दृश्य देख्न असमर्थ छन् । कसैको करिष्मा सकिएको उद्घोष गरिरहँदा आफ्नो करिष्मामा पनि प्रतिपल पहिरो धस्किएको दृश्य देख्न असमर्थ छन् ।
शरीर टुटेर केही हुन्न । शरीरका अङ्गप्रत्यङ्ग टुटेर जीवनको करिष्मा सक्किइहाल्ने होइन । मूल कुरा मान्छेभित्रबाट टुट्न थालेको दिन उसको करिष्मा घट्न थाल्छ । भित्रबाट मनोबल टुटेपछि उसको ओजले ओरालोतिर बाटो तताउँछ । कपिल सिंह दाइ भित्रबाट अलिकति पनि टुट्नु भएको छैन । जीवनदेखि अलिकति पनि थकित, क्लान्त र शिथिल बन्नु भएको छैन । त्यसैले म ठोकुवाका साथ भन्नु सक्छु; उहाँको करिष्मा सकिएको छैन । अलिकति घटेको वा क्षयीकरण भएको छैन । हो एक दिन गल्ने शरीर हो गल्छ । ढल्ने शरीर हो ढल्छ । रोगले गुँड बनाउने शरीर हो, गुँड लाउँछ । शरीर जस्तै छ मन पनि । यो पनि गल्छ, ढल्छ, रोगी हुन्छ । शरीर र मन दुवै टुटेका दिन, दुवै गलेका दिन एकमुष्ट रूपमा जीवनको करिष्मा सकिन्छ र सालिकको शिरमा बसेको चरो पनि वेग हानी उड्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ : अर्थमन्त्री पौडेल
-
चिकित्साबाट ग्ल्यामर क्षेत्रमा डेनिलाको छलाङ
-
माओवादी केन्द्रले आज कीर्तिपुरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने
-
वीरगन्जबाट पोखरा जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते
-
एमालेको जागरणसभाका लागि र्याली सुरू (तस्बिरहरू)
-
प्रधानमन्त्रीले सडकमा शक्ति देखाउनु लोकतन्त्रको मर्म होइन : गणेश कार्की