साताका ५ कविताः ‘देश, सपना अनि सेतो बाकस’
हामीले रातोपाटीमा प्राप्त भएका कवितामध्ये केही छानिएका रचनाहरूलाई ‘साताका कविता’ स्तम्भमा शनिबारको साहित्यिक परिशिष्टमा समेट्दै आएका छौं । हरेक साता नियमित रुपमा नभएता पनि प्राप्त भएका कविताहरूका आधारमा यस्तो छनोट गर्ने गरिएको छ ।
यो साता सरोज दाहालको ‘देश, सपना अनि सेतो बाकस’ कवितालाई शीर्ष कविताका रुपमा यहाँ प्रस्तुत गरिएको छ । यी दोलखाली कविले नेपालीहरु कसरी सेतो बाकसमा फर्किरहेका छन् भन्ने तीतो यथार्थ पस्किएका छन् । छन्द कविता लेखन सुस्ताउँदै गएको अवस्थामा कवि जानुका सुवेदीले नारी दिवसको सन्दर्भमा जाग्नेछु पक्कै पनि शीर्षक कवितामा नारी जागरणको विद्रोही कविता लेखेकी छिन् ।
त्यसैगरी यो साताका अन्य कवितामा कवि छविलाल कोपिलाको ‘आऊ हे, साथीहरू’, जुनु थारूको ‘यो गाउँ, त्यो सहर’, र माधव पोख्रेलको ‘मेरा बा’ कविता समेटिएको छ ।
यो साताका ५ कविता–
देश, सपना अनि सेतो बाकस
सरोज दाहाल
गएको थियो उ धन कमाउन भनी थुप्रै सपना बोकेर
परिवारजनका इच्छा पूरा गर्न तर आफ्नो इच्छा रोकेर
गर्थ्यो फोनमा बात उसले छ यहाँ कान्ति, सुख सयल
पसिना बगाउँदै, सुख छ भन्दै सब जनसँग भो गयल ।
काढ्या थियो रिन सयकडा ३ को साहु महाजन सित
कठै यो बज्र अचानक पर्यो यही हो त संसारको रित ?
भन्थ्यो जाने बेला पीर छैन पियारी बसे है ३ वटा बर्ष
ल्याउँछु, कमाउँछु, जोड्ने छु ऐश्वर्य कति होला उसपछि हर्ष ।
घाम तातो, हुँदै थियो ऊ रातो पठाउँथ्यो तलब घरमा
बुवा, आमा, जहान, सन्तति बाँच्या थिए उसकै भरमा
पठाउँथ्यो फोटो शालीन कामको गर्थ्यो उ मजदुरी
देशको दुःख सम्झिदा उसको हुन्थ्यो मन कुरी कुरी ।
लाग्यो उसलाई अचानक बज्र पर्यो त्यही छातीमा
सपना कति बुन्या थियो कठै सबै उडे त्यही रातीमा
उता जहान कुर्दै थिए तलब आज आउने कि भोलि
के थाहा ती अबोध जनलाई लागिसक्यो मुटुमा गोली ।
जहान सँगै धान्दै थियो उसले देशको गार्हस्थ कुल
निमेक भरमा फुत्तै निभ्यो दियो देशको ढुकुटी मुल
पाए खबर बा–आमा, जहान दौडे सब चरी सरी
आयो ऊ सेतो बाकसमा सुतेर कहिल्यै नउठ्ने गरी ।
आयो चिलगाडी बोकेर बाकस बन्द गरी उसको सपना
रुदै मुर्छा पर्दै भक्कानिन्छिन् जहान यो निद्रा हो कि जपना
यता नेताको टाउको गन्ती, हुँदैछ भाग र बन्डा
बालखा उसका कुर्या छन् कठै पर्यो भाग्यमा डन्डा ।
बैतेश्वर–४, दोलखा
जाग्नेछु पक्कै पनि
जानुका सुवेदी
नारी हो अवला भनेर अपमान गर्ने र गाँस काटिने ।
विश्वासै नहुने र मान नदिने बोल्ने, कुरा छाँटिने ।।
यै हो लिङ्ग विभेद भन्नु जसले बुझ्दैन आधा भनी ।।
हारेको यदि ठानियो अव भने उभ्भिन्छु बाधा बनी ।।
आफ्नै त्याग र प्रेम पोषण गरी मेट्नु छ तृष्णा जति ।
बत्तिमा पुतली सरी बहकिदै आफै जलेका कति ।।
अत्याचार गरी दबाइरहने सीता र राधा भनी ।
भोग्य झंै यदि हेरियो जब भने रोक्ने छु बाधा बनी ।।
हामी छौं ममतामयी सहृदयी हाम्रो छ आफ्नैपना ।
नारी नै जननी र शक्ति घरका काली र वीरङ्गना ।।
स्वर्गै झंै घर यो बनाउन भनी खट्ने इराधा पनि ।
विथोल्ने यदि दुष्प्रयास हुन गो उत्रन्छु बाधा बनी ।।
हीराका गहना र पाषणहरु ठान्छु म उस्तै भनी ।
आफ्नै पौरखको छ गुन्द्रुक ढिडो खान्छु म निस्तै पनि ।।
भारी दौलतको र चाकर विना बाँच्नेछु साधा अनि ।
मर्दाङ्गी यदि निर्दयी जब भयो जाग्नेछु बाधा बनी ।।
.....
आऊ हे, साथीहरू
–छविलाल कोपिला
अहिले कालाहरू
कालरात्रिबाट ब्यूँझिएर
भुकिरहेछन् कालो राष्ट्रवाद
र तिनै काला वाक्यांशहरू
अखबारका काला अक्षरहरू बनेर
काला डलरहरूको बुई चढेर
फेरि पनि
मेरो ‘कालापानी’ माथि
नुन खुर्सानी दलिरहेछन्
त्यसैले आऊ साथीहरू
कलमहरूमा विचारको बारुद भरौं
र, प्रहार गरौं
ती काला दरबारहरूमा
अक्षरका राता मिसाइलहरू ।
विचरा सुस्ता, महेशपुर
हरेक बिहान माउले चल्ला बचाएझैँ
उध्रिएको आँचलले
जबरजस्त अस्मिता छोपिरहेछ
लिपुलेक सँधियारहरू बीचको
छिनाझप्टीमा छट्पटाइरहेछ
यता,
सूर्यास्तसँगै
बाँसघारीका भँगेराहरू
मदिरा–भोजनसँगै कालरात्रि मनाइरहेछन्
झारीहरूबाट निस्किएर
स्यालहरू चोक–चोकमा कराइरहेछन्
त्यसैले, आऊ साथीहरू
हामी एक अञ्जुली जून टिपेर
आँगनभरि शान्तिको दीयो बालौं
र, मन्द पवनसँगै बहाऔं
मनका अनेक सुगन्ध ।
....
यो गाउँ, त्यो सहर
जुनु थारू
दाङदेउखुरीको गाउँ छाडेर
काठमाडौं उक्लिएको छु
आफूलाई सहरिया भनाएकी छु
तर सहरमा
जति वर्ष बसे पनि
आफू जन्मिएको गाउँ
आफूले हाँसखेल गरेको ठाउँ
साथ सहेली कहाँ बिर्सिन सकिन्छ र ?
सहरले त केवल पैसा चिन्छ
गाउँमा जसको बारीमा नि
टिपे हुने बेठे साग
सहरमा किन्नुपर्दो रहेछ
शौचालय जाँदा समेत
रुपैंया तिर्नुपर्दो रहेछ ।
कतै जानलाई
कसैसँग ठेगाना सोध्दा
मान्छेले मुन्टो बटार्छन्
मानौं ठेगाना भनेको पनि
उनीहरुको पैसा खर्च हुन्छ ।
गाउँको माघी, दसैं, दीपावली
जसको घर जाऊ, आफ्नै इच्छा
तर,
सहरमा न कुनै चाडपर्व
आएझैं लाग्दो रहेछ
सहरको कुनै साथीलाई
भेटघाट गर्न गए
उसले भन्दो रहेछ,
तिमीले खाएर आएकी होला, हैन ?
त्यसैले,
यो स्वार्थी सहरमा
लागेन कत्ति रित
गाउँ नै छ मेरो मनको नजिक ।
लमही नपा–४, दाङ
हालः कीर्तिपुर, काठमाडौं
मेरा बा
माधव पोखरेल
मेरा बा नब्बे सालको भुँइचालोपछि जन्मनु भो
तर आफू अघि गएको भुँइचालोका बारेमा
एक एक गरेर कथा सुनाउनु हुन्थ्यो ।
पढाई लेखाइका नाममा मेरा बा
महाभारत, रामायणका श्लोकहरू
र, घरायसी स्याहा श्रेस्ता राम्रैसँग राख्नु हुन्थ्यो ।
हामीलाई ईमान जमानका साथ घर खर्चको
बार्षिक विवरण र आगामी वर्षको
अनुमानित खर्च प्रक्षेपण गर्नु हुन्थ्यो ।
हामी छोराछोरीहरूले कतै हिसाबमा
दायाँ बायाँ गर्यो भने घरको कानून अनुसारको
सजाय भोग्नु पर्दथ्यो ।
हामी अनुशासनमा बसेका छौ हिजोदखि आजसम्म ।
मेरा बाले केही गर्न नसके पनि
प्रगतिशील हुनुहुन्थ्यो सधैँ सबैको भलो चिताउने ।
बा बर्षामा खेतीपातीको कामबाहेक केही गर्नु हुन्नथ्यो
किनभने बालाई थाहा थियो बर्षाका समयमा
विकासे काम होइन खेती गर्ने हो
अनि हिउँदका समयमा बाटोघाटो, पुल पुलेसा
भवन निर्माणलगायतका अन्य योजनाहरू सम्पन्न गर्ने ।
तर आज भुँइचालो अघि जन्मेकाहरू घरमा
भुँइचालो ल्याउँछन् र भएको भौतिक पूर्वाधारहरू
भत्काएर बर्षा लागेपछि निर्माणको काममा अघि सर्छन् ।
अरुका बाहरूको दयाहीनताको कति बयान गर्नु
आफ्नै परिवारको आँखा छलेर आफ्नै घरमा आगो लाउने
हाम्रा आधुनिक बाहरू छोराको ईशारामा हिँडेर
गाडी गुड्ने सडकलाई साइकल चल्न नसक्ने बनाउँछन् ।
स्वाभिमान बिक्री गरेर दासता स्वीकार्छन्
स्वाधिनताको नाममा पराधिनता स्वीकार्छन्
हाम्रा आधुनिक बाहरू नेपालीपन बिर्सेर
पश्चिमा संस्कृतिलाई उकेरा लाउँछन् र भन्छन्
देशको माटो सम्झिएर काम गर्नुपर्छ
विदेशी शक्तिलाई परास्त गर्नुपर्छ
सीमा मिचिदा र जयसिंह धामीलाई बेपता पार्दा
बोल्दैनन् हाम्रा आधुनिक बाहरू ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र