मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सीके राउतको दोहोरो नीति : एकातिर चुनावको तयारी, अर्कोतिर बहिष्कारको चेतावनी

शनिबार, २१ फागुन २०७८, ०६ : ४९
शनिबार, २१ फागुन २०७८

सीके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन अघि आफूहरूको माग पूरा नभए चुनाव बिथोल्ने चेतावनी दिएको छ । जबकि केही महिना अघिदेखि नै सो पार्टी चुनावको तयारीमा जुटेको हो ।

किसान आन्दोलनलाई स्थानीय तह केन्द्रित गरेको जनमत पार्टीले फागुन १० र २० गते निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाएर चुनावअघि आफूहरूको माग पूरा गर्न दबाब दिएको छ । जनमत पार्टीका झापास्थित नेता भीम राजवंशीले आफूहरूको माग पूरा नभए चुनावमा भाग नलिने निर्णय पार्टीले गरेको बताए । उनले भने, पार्टीको बैठकहरूमा पनि डाक्टर साहब (सीके राउत) ले यही भन्नुहुन्छ, हाम्रो माग पूरा भएन भने हामी चुनाव हुन दिन्नौँ भन्नेमा हामी अडिग छौँ ।’

जनमत पार्टीले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘निर्वाचन गर्नु पूर्व जारी किसान आन्दोलनको माग नेपाल सरकारद्वारा सम्बोधन गर्ने ठोस पहल गरेको हुनुपर्ने, निर्वाचन आयोगमा दर्ता रहेका र आयोगबाट चुनाव चिह्न पाइसकेका दलहरूलाई सोही चुनाव चिह्न वितरण गर्नु पर्ने, मतदाता परिचयपत्र र नागरिकता परिचयपत्रको आधारमा मतदान गर्न दिनुपर्ने, निर्वाचन आयोगदेखि लिएर निर्वाचन अधिकृतहरूले कुनै पनि सत्ताधारी पार्टीको पक्ष लिन नहुने, चुनावको क्रममा अरू पार्टीका कार्यकर्ताहरूद्वारा आक्रमण, डर त्रास देखाउने, पैसाको लोभ दिने, मत खरिदबिक्री गर्ने, मत हाल्न अवरोध सिर्जना गर्ने, मतगणनामा गड़बड़ी गर्ने जस्ता कामको पार्टीले घोर भर्त्सना गर्दछ ।’

यी माग पूरा नभए स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन हुन नसक्ने हुँदा सो विभेदपूर्ण निर्वाचनको प्रक्रिया रोक्न बाध्य हुने समेत सो पार्टीले ज्ञापनपत्रमा उल्लेख गरेको छ । आफ्ना माग पूरा नभए चुनाव बहिष्कार गर्ने चेतावनी दिएको जनमत पार्टीले निर्वाचन आयोगमा भने स्थानीय तहको निर्वाचन प्रयोजनका लागि पहिलो नम्बरमै दल दर्ता गराएको छ र चुनाव प्रचारलाई तीव्रता दिएको छ ।

एकातिर चुनाव हुन नदिने अर्कोतिर त्यही चुनावको प्रचार प्रसार गर्ने दोहोरो नीति किन ? भन्ने रातोपाटीको प्रश्नमा जनमत पार्टी सर्लाही जिल्लाका इन्चार्ज रवीन्द्र साह भन्छन्, ‘हो हामी चुनावको तयारीमा पनि छौँ, यदि भोलि हाम्रो माग पूरा भयो भने त्यतिबेला तयारी गरेर हुँदैन । त्यसैले हामी विरोधका साथसाथै चुनावको तयारीमा पनि लागेका छौँ ।’

निर्वाचनअघि आफूहरूको माग पूरा नभए चुनाव बहिष्कार हुने बताउँदै उनले त्यो अवस्थामा चुनाव हुन नदिने पार्टीको नीति रहेको बताए । माग पूरा गराउन पार्टीले केन्द्रदेखि जिल्ला, प्रदेश, स्थानीय तहमा दबाब बढाइरहेको उनको भनाइ छ ।

उनले भने, ‘अहिलेसम्मको निर्णय अनुसार चुनाव बहिस्कारदेखि चुनाव हुन नदिने नै हो तर यसको बारेमा केन्द्रीय समितिको बैठक बसेर थप निर्णय लिन्छ ।’

स्थानीय तहको चुनावका लागि जनमत पार्टीले उम्मेदवार छनौट काम सुरु गरिसकेको छ । स्थानीय तहबाट तीन जनाको नाम चयन गरेर केन्द्रमा पठाइसकेको र केन्द्रीय समितिको बैठकले त्यसलाई अन्तिम रूप दिने जनाइएको छ ।

अन्य पार्टीले उम्मेदवारको बारेमा अहिले सोच्न पनि नभ्याएको अवस्थामा जनमत पार्टीले आफ्नो उम्मेदवार चयन गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । जनमत पार्टीले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला संसद् भङ्ग गरी चुनावको मिति तय गर्दादेखि नै चुनावको तयारी थालेको हो ।

जनमत पार्टीका केन्द्रीय सदस्य राजेन्द्र रायले आफूहरू चुनावको विरोधी नभएको तर माग पूरा नभए चुनाव बहिष्कार नै गर्ने दाबी गरे । यदि माग पूरा भयो भने तामझामका साथ चुनावमा जानका लागि नै अहिलेदेखि नै चुनावको तयारी थालिएको उनको भनाइ छ ।

सीके राउतले कस्तालाई बनाउँदैछन् उम्मेदवार ?

व्यापक जनाधार र जनसमर्थन भएको तथा जित्ने निश्चित भएकालाई उम्मेदवार बनाउने मापदण्ड जनमत पार्टीले बनाएको छ । पार्टीको अनुशासन र कमान्ड चेनमा रहने, नेतृत्व, संगठन विस्तार, आन्दोलनमा वा आर्थिक रूपले योगदान दिएको, पार्टीमा फुलटाइमर जस्तो काम गरेको, चुनाव खर्च आफै व्यहोर्न सक्ने जस्ता मापदण्ड पूरा गरेकाले मात्र जनमत पार्टीबाट चुनावका लागि उम्मेदवार बन्न पाउने प्रावधान राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप