बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमण : काठमाडौँ उपत्यकामा सबै प्रतिबन्ध हट्यो

शनिबार, २१ फागुन २०७८, ०६ : २७
शनिबार, २१ फागुन २०७८

ओमिक्रोन भेरियन्ट फैलिएसँगै नेपालमा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि काठमाडौँ उपत्यकामा लागू गरिएका सबै प्रकारका प्रतिबन्ध शनिबारबाट लागू हुने गरी हटाइएको छ । शुक्रबार उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । 

तीनवटै जिल्लाले अलग–अलग रूपमा जारी गरेको आदेशमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागू भएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको जानकारी दिइएको छ । कोरोना संक्रमण फैलिएसँगै मन्त्रिपरिषद्को निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले विगतमा विभिन्न समयमा प्रतिबन्ध लगाएको थियो । उपत्यकामा माघ २३ गतेबाट स्मार्ट लकडाउन लागू गरिएको थियो । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी आदेशमा भनिएको छ :
विश्वव्यापी महामारीको रुपमा कोभिड-१९ को संक्रमण, रोकथाम, नियन्त्रण, निदान र उपचारलाई प्रभावकारी बनाउन नेपाल सरकार (मन्त्रिपरिषद्) बाट भएका निर्णयहरु, कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, कोभिड-१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि,२०७८, संक्रमक रोग ऐन,२०२० र स्थानीय प्रशासन ऐन,२०२८ समेतले दिएको अधिकार प्रयोग गरी यस कार्यालयबाट विभिन्न मितिमा आदेश जारी भएकोमा हाल कोभिङ-१९ को संक्रमण घट्दै गएकोले मिति २०७८/११/२१ देखि लागू हुने गरी प्रचलित कानून बमोजिमका राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक, व्यवसायिक लगायतका क्रियाकलापहरू प्रचलित स्वास्थ्य मापदण्डको पालना गरी, गराई नियमित रुपमा संचालन गर्न, गराउन यस अघि जारी भएका आदेशहरुमा भएका प्रतिबन्धात्मक व्यवस्थाहरु पूर्ण रुपमा हटाइएको व्यहोरा जानकारी गराइन्छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप