मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

सिरहा काँग्रेसभित्रको विवाद उत्कर्षमा, छुट्टाछुटै स्थानमा अधिवेशन उद्घाटन

शुक्रबार, २० फागुन २०७८, २२ : ३०
शुक्रबार, २० फागुन २०७८

सिरहामा नेपाली काँग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ । आन्तरिक विवाद उत्कर्षमा पुगेपछि शुक्रबार दुई गुटले छुट्टाछुट्टै स्थानमा जिल्ला अधिवेशन उद्घाटन गरेका छन् । एउटा पक्षले गोलबजार र अर्को पक्षले सिरहा सदरमुकाममा  १४ औँ अधिवेशन उद्घाटन गरेका हुन् । काँग्रेस जिल्ला सभापति रामचन्द्र यादव समूहले गोल बजारमा र अर्का सभापतिका आकांक्षी रामसुन्दर चौधरी पक्षले सिराहा सदरमुकाममा अधिवेशन उद्घाटन गरेको हो । यादव पक्षधर गुटले गोल बजारमा आयोजना गरेको उद्घाटनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चित्रलेखा यादव, प्रदेश महामन्त्री उपेन्द्रकुमार यादव, पूर्वसांसद मोहम्मद मुक्तार अहमदलगायत सहभागी भए ।

सभापतिका अर्का आकांक्षी रामसुन्दर चौधरी समूहले सदरमुकाम सिरहाको जिसस समीक्षालयमा आयोजना गरेको उद्घाटन सत्रमा काँग्रेस पूर्व कोषाध्यक्ष सीतादेवी यादव, प्रतिनिधिसभाका सदस्य पद्मनारायण चौधरी, पूर्वसांसद अमियकुमार यादव लगायतको उपस्थिति रहेको थियो । सभापति आकांक्षी चौधरीलाई काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको समर्थन रहेको छ ।

फरक–फरक स्थानमा उद्घाटन भएपनि निर्वाचन अधिकृत सञ्जीव लामाले गोलबजारमै शुक्रवार कार्यालय स्थापना गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालय गोलबजारले शुक्रबार मतदाता नामावली प्रकाशन, दाबी विरोध र छानबिनसहित अन्तिम नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरेको छ । यस्तै शनिबार (फागुन २१) उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, उम्मेदवारको प्रथम सूची प्रकाशन गर्ने तालिका तय भएको छ ।

निर्वाचन कार्यालयले फागुन २२ गते उम्मेदवारको दाबी विरोधमा उजुरी दिने, फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरेको छ । यस्तै फागुन २३ गते सोमबार मतदानको कार्यक्रम रहेको निर्वाचन अधिकृत लामाले बताए ।

गोलबजारमा निर्वाचन गर्ने भनिए पनि स्थानको विषयमा अझै टुङ्गो नलागेको निर्वाचन कार्यालयले जनाएको छ । दुवै पक्षसँग सल्लाह गरेर निर्वाचनस्थल टुङ्ग्याउने तयारी निर्वाचन कार्यालयले गरेको छ । मतदानमा २ हजार ६ सय ५० मतदाता सहभागी हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप