शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सोचे जस्तो यहाँ हुँदो रहेनछ : उपाध्यक्ष दाहाल

शुक्रबार, २० फागुन २०७८, १९ : ०१
शुक्रबार, २० फागुन २०७८

राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले प्रतिनिधिसभामा उत्पन्न राजनीतिक विवादले राष्ट्रियसभाको बैठक प्रभावित हुनुहुँदैन भन्ने आफ्नो मान्यता रहेको बताएकी छन् । 

आफ्नो कार्यकालको उपलब्धिबारे रासससगँ कुरा गर्दै उनले विज्ञको प्रतिनिधित्व भएको स्थायी सदनका रूपमा व्याख्या गरी रहँदा प्रतिनिधिसभामा उत्पन्न राजनीतिक विवादले राष्ट्रियसभालाई प्रभावित पार्न नहुने बताइन् ।  उपाध्यक्ष दाहालले भनिन्, “चार वर्षको अवधिमा गर्न पर्ने धेरै थियो, हिजो जुन सोचेर आएको थिए, सोचे जस्तो यहाँ हुँदो रहेनछ । कोरोना र राजनीतिक सङ्क्रमणले पछिल्ला दुई वर्ष काम कारबाही अघि बढाउने सवालमा झन ओझेलमा प¥यो ।”

सातै प्रदेशका उपसभामुख भेलाबाट पारित  घोषणापत्र कार्यान्वयन भएमा सरकार, संघीय संसद् र प्रदेशसभा संविधानको मर्म र भावना अनुरूप समावेशी मुद्दा कार्यान्वयनमा सहजता हुने बताउँदै उनले वर्तमान अवस्थामा जस्तै प्रदेशका सभामुख, प्रदेश प्रमुख र मुख्यमन्त्री पुरुष मात्र हुने प्रवृत्तिको अन्त्य भई समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न जरुरी भएको बताइन् ।  
    
उपाध्यक्ष दाहालले भनिन्, “चार वर्षे कार्यकालमा संसदीय समिति बैठक र प्रदेशसभा भाग लिन नपाएकोमा खल्लो महसुस लागेको छ । संसदीय अभ्यासमा धेरै अनुभव भए पनि आफैँले सभा सञ्चालन र अन्त्य गर्न तथा सभामा बोल्न नपाएकोमा सोचे जस्तो भएन भन्ने लागेको छ । कानुनमा उपाध्यक्षले सदन चलाउन नपाइने भन्ने थिएन, आगामी दिनमा सदन चलाउन र बोल्न पाउने संस्कार सुरु गर्नुपर्छ ।” उपाध्यक्ष दाहालसहित तीन विषयगत समितिका सभापतिसहित २० राष्ट्रियसभा सदस्यको चार वर्षे कार्यकाल आजैदेखि समाप्त हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप