शनिबार, ०१ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

३८ वर्षपछि स्वतन्त्र भएको एउटा पोखरी

शुक्रबार, २० फागुन २०७८, १७ : ४४
शुक्रबार, २० फागुन २०७८

भक्तपुर नगरपालिका–१, सल्लाघारी नजिकै रहेको ‘न्हूः पुखु’ अर्थात् रानीपोखरी पोखरी ३८ वर्षपछि हालै मात्रै पूर्ण रुपमा सर्वसाधारणका लागि खुला भएको छ । २०२१ सालको सरकारी नापीमा समेत सार्वजनिक उल्लेख गरिएको उक्त पोखरी २०४० सालपछि नेपाली सेनाको नियन्त्रणमा थियो । तत्कालीन सरकारले सल्लाघारी आसपासको जमिन नेपाली सेनालाई दिएपछि सिद्वपोखरी भन्दा दक्षिणतर्फ उसले संरचना बनाउन थाल्यो । र, रानीपोखरीमा समेत आफ्नो कब्जा जमाएको थियो ।


वर्षको एक पटक देवाली (कुल पूजा) गर्ने स्थानीयले समेत रानीपोखरी छिर्न सेनासँग झगडा गर्नुपर्ने दिन आयो । स्थानीय सरकारले २०७४ मा पूर्णता पाएपछि भक्तपुरको पहिचान बोकेको कलात्मक न्हूःपुखु पोखरी संरक्षण गर्ने अभियानको सुरुवात भएको भक्तपुर नगरपालिका नगरप्रमुख सुनिल बताउँछन् । नगरपालिकाले सुरुवाती दिनमा रानीपोखरी क्षेत्र वरपर नियमित सरसफाई कार्यक्रम राख्यो । त्यस अभियानमा स्थानीय सर्वसाधारण, प्रहरी, दाफा भजन, विभिन्न गुठी गुठियार, जनप्रतिनिधिले साथ दिए । सुरक्षा घेराबाट स्वतन्त्र हुँदै अहिले बल्ल पुनर्जीवन पायो ।

मल्ल राजाको उपहार 

इतिहास विद्हरुका अनुसार रानीपोखरी १६ औं शताब्दीका मल्ल राजा जग ज्योतिको उपहार हो । उनले वि.स १६८७(ने.स ७५०) मा यो पोखरी निर्माण गर्न लगाएका हुन् । मल्ल राजा जग ज्योतिले नेपाल सम्वत ७२३ देखि ७५९ सम्म भक्तपुरमा शासन गरे । आफ्नी रानी राज्यलक्ष्मीको सम्झनामा हाल ३२ रोपनी क्षेत्रफलमा बगैंचा, द्वार, सत्तलसहितको रानीपोखरी निर्माण गराएको उल्लेख छ । पोखरीको मध्य भागमा सुनले सजिएको नागको कलात्मक आकृति छ ।

 लगातार प्रयासः सम्पदा जोगाउने अभ्यास 

गएको मंगलबार भक्तपुरको रानीपोखरी वरपर खुसीको माहोल थियो । भक्तपुर नगरपालिकाको लगातारको प्रयास र नेपाली सेनाको सकारात्मक समन्वयमा पोखरी पुनर्निर्माण र सर्वसाधारणको लागि खुल्ला गर्ने औपचारिक तयारी भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जानकारी दिए, ‘सेनाको सहमतिपछि २०७६ साल असोज १३ गते यस पोखरीको ऐतिहासिक, सांस्कृतिक, धार्मिक महत्वबारे अध्ययन गर्न संस्कृतिविद् डा. पुरुषोत्तम लोचन श्रेष्ठको संयोजकत्वमा समिति बनायौं । समितिले करिब १४ महिना लगाएर नगरपालिकालाई प्रतिवेदन बुझायो ।’

श्रेष्ठको समितिले बुझाएको प्रतिवेदनमा पोखरीको वास्तविक क्षेत्रफल १५ रोपनी ५ आना २ पैसा यकिन भयो । नगरपालिका नगरप्रमुख सहितको टोलीले रानीपोखरीलाई फर्काउन सेनाका तत्कालीन प्रमुख पूर्णचन्द थापासँग भेट गर्यो । सेनापति सकारात्मक भएपछि पुनर्निर्माणको काम अगाडि बढ्यो । ख्वप इन्जिनियरिङ कलेजका वरिष्ठ इन्जिनियर, संस्कृतिविद् लगायतको समूहले रानीपोखरीको स्वरुप र निर्माण प्रक्रियाको तयारी थाल्यो । नगरप्रमुख प्रजापति भन्छन् ‘नगरपालिकोको आवद्यिक योजनामा समावेश गरेर निर्माणको लागि उपभोक्ता समिति बनायौं’ । 

साढे २ करोडमा निर्माण 

रानीपोखरी क्षेत्रभित्र ह्वाह्वाङ पार्टी, प्रवेशद्वार, पर्खाल भौतिक संरचना कलात्मक र मौलिक किसिमले निर्माण गरिएको छ । पोखरी निर्माणकोलागि प्रारम्भिक अनुमान ४ करोड ४१ लाख १९ हजार  गरिएको थियो । तर, निर्माण सम्पन्न हुँदासम्म रानीपोखरी निर्माणकालागि २ करोड ५४ लाख ८३ हजार ५८७ रुपैयाँ मात्र लागेको छ । जनश्रमदान अन्तर्गत २२ टोलीका ८८४ जनाले काम गरेका थिए । जनश्रमदानले लगत घट्यो । 
पोखरी निर्माणकालागि इंटा, बालुवा, माटो, चुन, काठ, झिंगटीलगायतका मौलिक सामग्रीको प्रयोग गरिएको छ । भक्तपुर नगरपालिका–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीका अनुसार लम्बाई ३८७ फिट, चौडाई २२१ फिट रहेको पोखरी निर्माणको ज्यालातर्फ ९६ लाख ८२ हजार २३ रुपैयाँ खर्च भएको छ । त्यसै गरीसामान खरिद तर्फ १ करोड ७९ लाख १३ हजार १७४ रुपैयाँ खर्च भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप