सुन चोरीको मुद्दा मिलापत्र गराउने महाशाखाका इन्स्पेक्टरलाई कारवाही
सुन चोरीको मुद्दामा मिलापत्र गराएको आरोप लागेका महानगरीय अपराध महाशाखाको ललितपुर शाखामा कार्यरत इन्स्पेक्टर सानुकान्छा रम्तेललाई कारवाही गरिएको छ । छानविन गर्दा त्रुटी गरेको भेटिएपछि उनलाई कारवाही गरिएको महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए ।
रम्तेललाई नसियत दिइएको छ । उनलाई यसअघि ललितपुर शाखाको इन्चार्जबाट हटाएर छानबिन गरिएको थियो । ललितपुरको गोदावरीमा सुजन बराइलीले सञ्चालन गरेको सुन पसलबाट ४ तोला सुन चोरी भएको घटनामा उनले मिलापत्र गराएको अनुसन्धानबाट थाहा भएको छ ।
माघ पहिलो साता चोरीमा संलग्न आरोपीलाई पक्रेर रम्तेलले मुद्दा प्रक्रियामा नलगेर मिलापत्र गराएका थिए । चोरीमा संलग्न आरोपीलाई सुन बापतको रकम तिराएर उनले मिलापत्र गराएको सूचना पाएपछि महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले छानविन गर्न निर्देशन दिएका थिए ।
महाशाखाका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको समितीले घटना छानविन गरेको थियो । समितिमा इन्स्पेक्टर किरण न्यौपाने सदस्य थिए । कारवाही पछि इन्स्पेक्टर रम्तेललाई महानगरीय प्रहरी कार्यालयले त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा काज सरुवा गरेको छ ।