शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीलाई झस्काउँदै शंकास्पद वस्तु, निर्वाचनमा छैन ठूलो ‘सुरक्षा चुनौती’

शुक्रबार, २० फागुन २०७८, ११ : ३१
शुक्रबार, २० फागुन २०७८

मोरङको बुढीगंगास्थित कोशी राजमार्गको किनारमा बिहीबार ‘शंकास्पद वस्तु कुकर बम’ जस्तै फेला पर्यो । उक्त शंकास्पद वस्तु ‘बम’ हो कि होइन भन्ने विषयमा पहिचान गर्न प्रहरीलाई सकस भयो ।  प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरुणकुमार बिसीले उक्त शंकास्पद वस्तु बम नभएको पुष्टि भएको जानकारी दिए ।

सुरुमा निर्वाचन लक्षित कुनै भूमिगत समूहले गतिविधि गर्न लागेको हो कि भन्ने प्रहरीलाई शंका थियो । ‘पहिले बमै पो हो कि भन्ने लागेको थियो, हामीले आवश्यक सुरक्षा सतर्कता अपनाएर सेनाको टोली बोलाएर डिस्पोज गर्यौं,’ बिसीले भने, ‘तर, बम नभएको प्रमाणित भयो, कुकरभित्र मसलाको पोकाहरु फेला पर्यो ।’

यसअगाडि पनि प्रहरीले झापाको बिर्तामोड बसपार्क र दमकस्थित सिवान चर्चमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला पारेको थियो । घटनामा संलग्न भन्दै ९ जनालाई प्रहरीले पक्राउ पनि गर्यो । त्यसबेला प्रहरीले हिमाल सुरक्षा परिषदको नामको पर्चाहरू पनि फेला पारेको थियो । ‘प्रहरीले सुक्ष्म अनुसन्धान गर्दा उनीहरु पनि ठूलो चुनौतीको रुपमा हामीले देखेका छैनौं’  बिसीले भने ।

प्रहरीलाई यी घटनाभन्दा ठूलो र त्रसित बनाएको अर्को घटना हो झापाको मेची पुलछेउमा ठूलो परिणाममा विष्फोटक पदार्थ भेटिनु । झापाको मेची पुलमा छेउमा प्रहरीले गत माघ २१ गते ८० वटा डेटोनेटर र ९१ वटा नेपोलाइट एक्सप्लोसिभ (विस्फोटक पदार्थ) भेटेको थियो । यो घटनामा संलग्न चिरण रोका मगरलाई सार्वजनिक गरिसकेको छ । 

‘यो घटना सार्वजनिक भएलगत्तै गृहमन्त्रालयमा समेत हल्लाखल्ला भएको थियो, गृहमन्त्रालयले त यसलाई इस्यु नै बनाएको थियो,’ प्रहरी स्रोत बताउँछ, ‘निर्वाचनमा यसपटक ठूलो सुरक्षा चुनौती छैन भनेर ढुक्कले बसेको प्रहरी र गृह प्रशासनलाई यसले झस्का दिएको थियो ।’ तर, अनुसन्धानका क्रममा यो घटनामा संलग्न व्यक्ति र विष्फोटक पदार्थ निर्वाचन बिथोल्न वा शान्ति सुरक्षामा खलल पुर्याउनका लागि भन्दा गुल्मीमा सिलेट खानीमा विष्फोट गराउन ल्याइएको पत्ता लाग्यो । त्यसपछि प्रहरी शान्तिको सास फेरिरहेको छ ।

‘यसपटक चुनाव बिथोल्ने गरी ०७४ सालमा जस्तो कुनै ठूलो भूमिगत समूह छैन,’ प्रदेश १ प्रहरी कार्यालयका प्रमुख बिसीले भने, ‘विप्लव समूह शान्ति प्रक्रियामा आइसक्यो, विप्लवसँग मत बाझिनसक्ने समूहले त्यसखालको गतिविधि गर्छन् कि भनेर हेरिरहेका छौं, तर ठूलो समस्या देखिसकिएको छैन ।’ केही समय अगाडि सिके राउत समूहले तराईका जिल्लामा लगातार प्रदर्शनलाई आक्रामक बनाउन सुरु गरेका थिए । तर अहिले पनि त्यो समूह सेलाएको प्रहरीको निष्कर्ष छ । 

‘२०७४ सालमा भएको स्थानीय तहको चुनावको चुनौतीभन्दा अहिलेको चुनौती भिन्न छ । यो पटक भूमिगत समूहहरु अहिलेसम्म देखिएको छैन । त्यसबेलाका भूमिगत समूहहरु शान्तिपूर्ण राजनीतिमा आइसकेको कारण हामीले चुनौती धेरै लिएका छैनौं,’ बिसीले भने, ‘त्यसो भएपनि सरकारसँग असन्तुष्टी राख्नसक्ने थुप्रै किसिमका समूहबाट निर्वाचनलाई प्रभावित पार्नसक्ने अवस्था देखियो भने तत्कालै नियन्त्रणमा लिनसक्ने मेकानिजम हामीले तयार गरिसकेका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप