आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

काँग्रेस चितवनको अधिवेशन आज : नेतृत्वका लागि पाँच जना मैदानमा

शुक्रबार, २० फागुन २०७८, ०८ : ५३
शुक्रबार, २० फागुन २०७८

नेपाली काँग्रेस चितवनको अधिवेशन आज (शुक्रबार) हुँदै छ । आज बिहान ९ बजेदेखि नारायणी कला मन्दिरमा मतदानको सुरु हुने छ। उम्मेदवारी मतदाताको अन्तिम नामावली प्रकाशनपछि मतदान सुरु हुने निर्वाचन अधिकृत ज्ञानेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । 

अधिवेशनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । यसैगरी तीन क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्यको चयन हुनेछ । नेतृत्वका लागि पार्टी संस्थापन र इतर समूह गरि  ५ जना उमेदवार मैदानमा छन् । सभापति शेरबहादुर देउवा समूहबाट १ जना र शेखर कोइराला समूहबाट ४ जनाले मनोनयन दर्ता गरेका छन् ।

०६४ मा पार्टी एकता भएपछि एक पटक पनि जिल्लाको नेतृत्व गर्न नपाएको सभापति देउवा समूह इतर पक्षबाट धेरै उमेदवार हुँदा उत्साहित देखिएको छ । देउवा खेमाबाट मिलनबाबु  श्रेष्ठमात्रै उम्मेदवार हुँदा कोइराला खेमाबाट प्रा.डा.सूर्यकान्त घिमिरे, राजेश्वर खनाल, उत्तम जोशी र कैलाश कोइराला उम्मेदवार छन् ।

घिमिरे नेविसंघका पूर्व जिल्ला सभापति एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्ट्रार हुन् । खनाल र भुषाल महासमिति सदस्य हुन् भने कोइराला हालका उपसभापति र जोशी सचिव छन् । श्रेष्ठ बागमती प्रदेशसभा सदस्य एवं मन्त्री हुन् । 

संस्थापनबाट १ र इतरबाट ४ जना उमेदवार रहेकाले पहिलो चरणमा सभापति छनोट नहुने आँकलन गरिएको छ । दोस्रो चरणमा डा. घिमिरे र मन्त्री श्रेष्ठबीच प्रतिस्पर्धा हुने अनुमान छ । काँग्रेसमा दुई जनाभन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ । यता आफू पक्षीय उम्मेदवारलाई जिताउन केन्द्रीय नेताहरु नै सक्रिय भएका छन् ।

मन्त्री श्रेष्ठलाई जिताउन संघीय राज्यमन्त्री एवं केन्द्रीय सदस्य उमेश श्रेष्ठ, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ लगायत खुलेरै लागेका छन् । इत पक्षमा ४ उमेदवार भएपछि कोइराला खेमाका केन्द्रीय नेताहरु मौन देखिन्छन् ।

पार्टी सभापति जितनारायण श्रेष्ठले धेरै उमेदवार हुनु चितवनको संस्कार बनिसकेकाले दोस्रो चरणमा मात्र   चुनावको आंकलन हुने बताए  । कोइराला समूहको साझा उमेदवार तय गर्न केन्द्रीय सदस्य अर्जुननरसिंह केसी लगायतले  पहल गरेका थिए । तर चार जनाले सभापतिमा मनोनयन दर्ता गराएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप