काँग्रेस धनुषाका जिल्ला सभापतिमा तीन जनाको उम्मेदवारी दर्ता
नेपाली काँग्रेस धनुषाको सभापतिमा तीन जनाले उम्मेदवारी दिएका छन् । २३ फागुनमा हुने मतदानमा काँग्रेसका विभिन्न तीन समूहबाट उम्मेदवारी परेको छ । पार्टी सभापति शेरबहादुर देउवा संस्थापन पक्षबाट जिल्ला सभापतिमा वर्तमान जिल्ला उपसभापति सन्तोष यादव, कोइराला–पौडेल समूहबाट संविधान सभा सदस्य दिनेश प्रसैला यादव र निवर्तमान उपसभापति विमलेन्द्र निधि समूहबाट क्षिरेश्वर नगरपालिका मेयर योगेन्द्र पजियारले उम्मेदवारी दिएका हुन् ।
उनीहरूले जनकपुरस्थित काँग्रेस निर्वाचन समिति धनुषाको कार्यालयमा गएर आ–आफ्ना उम्मेदवारी दर्ता गराएका हुन् । तीनै जना उम्मेदवारले आफ्ना समूहका नेता तथा कार्यकर्ता लिएर प्रचारप्रसार गर्दै उम्मेदवारी दर्ता गराएका हुन् ।
उनीहरूले आ–आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । तर, पार्टीको जिल्लाका नेताहरूको चुनावी समीकरणले पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउने अवस्था नरहेको काँग्रेसकै नेताहरूले बताउँदै आएका छन् । दोस्रो चरणमा मात्र जिल्ला सभापति चयन हुन सक्ने आंकलन गरिएको छ ।
काँग्रेस जिल्ला निर्वाचन समिति धनुषाको अनुसार बिहीबार उम्मेदवारी दर्ता र उम्मेदवारको नामावली प्रकाशन र शुक्रबार बिहान ९ देखि ११ बजेसम्म उम्मेदवारी फिर्ता, ११ बजेदेखि १ बजेसम्म दाबी विरोध, १ बजेदेखि ३ बजेसम्म दाबी विरोधको छानबिन, ३ देखि ५ बजेसम्म अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ ।
त्यसैगरी शनिबार र आइतबार प्रचारप्रसार र २३ फागुन सोमबार बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान र सोही दिन साँझ ७ बजेदेखि मतगणनाको कार्यक्रम तोकिएको निर्वाचन समितिले जनाएको छ । काँग्रेसको धनुषा जिल्ला अधिवेशनमा तीन हजार १८७ मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ
-
प्रधानमन्त्री ओली र विप्लवबिच के भयो कुराकानी ?
-
खेलाडीहरू माथि खेलबाड गर्न हुँदैन : मन्त्री महर्जन
-
एजुकेशन प्लानेटलाई दक्षिण एसियाका लागि प्रतिष्ठित ‘टप अफ द टावर’ अवार्ड