शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनएसएल र शीर्ष डिभिजन क्लबबीच बढ्दो तिक्तता

बिहीबार, १९ फागुन २०७८, १५ : २९
बिहीबार, १९ फागुन २०७८

घरेलु फुटबलकै शीर्ष डिभिजनको लिग समाप्त भएसँगै अहिले फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) हुने तरखरमा छ । लगातार मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग जितेसँगै अब क्लबहरू मोफसल प्रतियोगितामा होमिने तयारीमा छन् । कति क्लब मोफसल खेल्ने विभिन्न स्थलमा पुगिसकेका छन् । 

यहिबीच आगामी २७ चैतबाट एनएसएलको दोस्रो संस्करण आयोजना हुँदै छ । नयाँ थप तीन टिम गरी १० टिमले २२ मार्की प्लेयरलाई छनोट गर्दैछन् । कुल २४० खेलाडी ए, बी र सी श्रेणीमा छुट्याएर अक्सन हुँदै छ । १५० खेलाडी विभिन्न क्लबमा खरिद हुँदै छन् । आयोजकले यस पटक खेलाडीको तोकिएको मूल्यबाट ४० प्रतिशत क्लब (सहिद स्मारक लिग क्लबमा अनुबन्धन भएको) र ६० प्रतिशत खेलाडीले पाउने बताइरहेको छ । 

तर, शीर्ष डिभिजनका क्लब भने मार्की छनोट र अक्सनलाई लिएर असन्तुष्ट जनाइरहेका छन् । लिग विजेता मछिन्द्र, मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब, संकटा क्लब र फ्रेन्ड्स क्लबले संयुक्त विज्ञप्ति निकाल्दै सार्वजनिक चेतावनी नै दिएका छन् । उनीहरूले विज्ञप्तिको अन्तिममा ‘उत्पन्न हुने परिणामको जिम्मा स्वयं एन्फा हुने’ धारणा राखेका छन् । 

यसअघि आठ क्लबले खेलाडी दर्ता, मार्की र अक्सन नगर्न र नगराउन आग्रह गरेको थियो । यस्तै क्लबहरूले मोफसल जारी रहँदा ‘क्लबहरूको भविष्यलाई नै कुठाराघात पार्ने खालको कार्य भइरहेको हुँदा क्लबहरूको अनुमतिबिना नै क्लबमा कानुनी रूपमा आवद्ध रहेका खेलाडीको बोलकबोल नगर्न’ आग्रह गरेको छ । यता, एनएसएलले भने शुक्रबार बिहान १० बजेलाई खेलाडी अक्सन कार्यक्रम राखेको छ । जसका लागि बिहीबार सहभागी टोलीले प्रशिक्षक र मार्की  खेलाडीसमेत टुंगो लगाउँदैछन् । 

विवाद जारी रहँदा काठमाडौं रेजर्सका निर्देशक तथा शीर्ष डिभिजन लिग कमिटी प्रमुख विज्ञानराज शर्माले भने प्रतियोगिता अघि नै खेलाडी फुकुवाको सबै विवाद टुंगो लगाउने र यदि क्लबले खेलाडी रिलिज गर्न नमाने  खेलाडीले एनएसएस नखेल्ने बताए । 

‘एउटै खेलाडीको दुई फरक क्लबमा एकै समयमा सम्झौता हुन सक्दैन । एनएसएलमा खेल्ने समय बाँकी नै छ । अहिलेलाई अनुबन्धन मात्र गरेको हो । अक्सन चाडै भएकाले मार्की खेलाडी घोषणा पनि चाँडो गर्नुपरेको हो । अब सम्बन्धित् क्लबबाट रिलिजको प्रक्रिया सुरु हुन्छ । क्लबले रिलिज नगरे खेलाडीले एनएसएल खेल्दैनन्,’  शर्माले भने । 

यता, शीर्ष डिभिजनको त्रिभुवन आर्मी फुटबल क्लबमा आवद्ध गोलरक्षक विकेश कुथु काठमाडौं रेजर्सका मार्की तथा कप्तान हुन् । उनले हाल आर्मीबाट फुकुवा पत्र नलिए पनि क्लबप्रति आफू विश्वस्त रहने र यदि नदिएको खण्डमा एनएसएल छाड्ने बताए । ‘फुटबल र खेलाडीको राम्रो हुन्छ भने क्लब (आर्मी) ले अवश्य पनि सहयोग गर्छ । रिलिजको प्रक्रिया भइरहेको छ । रिलिज भएन भने एनएसएल खेल्दिनँ, ’ राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका विकेशले भने । 

यता, झापा एफसीले राष्ट्रिय टोलीका फरवार्ड अन्जन  विष्ट, विराटनगर सिटी एफसीले कप्तान तथा मार्कीमा रन्जित धिमाल र धनगढी एफसीले विशाल राई नै निरन्तरता दिएको छ । यस्तै ललितपुर सिटी एफसीले समेत राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीलाई मार्की छनोट गरेको छ । 

गत सिजनका सात र थप तीन टोली गरी आसन्न संस्करणमा कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । आसन्न एनएसएलमा गत संस्करणको विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी एफसी, ललितपुर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी एफसी, पोखरा थन्डर्स, एफसी चितवनसँगै नयाँ क्लबहरू झापा एफसी, स्पोर्टिङ इलाम डि मेची र वीरगञ्ज युनाइटेडले प्रतिस्पर्धा गर्नेछन् । न्युज कारखाना
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप