फड्को मार्दै अनलाइन पत्रकारिता, चुनौतीका चाङ उस्तै
सन् १४५६ मा प्रिन्टिङ प्रेसको आविष्कार भएपछि सुरू भएको पत्रकारिता वर्तमान समयसम्म आइपुग्दा छापा, रेडियो, टेलिभिजन हुँदै आज अनलाइन पत्रकारितासम्म आइपुगेको छ । इन्टरनेटको सन्जालभित्र विभिन्न वेब साइटमा सूचना तथा समाचार उपलब्ध गराउने प्रक्रियालाई अनलाइन पत्रकारिता भनिन्छ । अनलाइन पत्रकारिताको सुविधा भनेको आफ्नो इच्छा अनुसार वेभसाइटमा भिजिट गरी पढ्न र हेर्न सकिनु हो । नेपालमा पनि प्रायः सबै अखबारहरु इन्टरनेटमा गइसकेकाले तिनलाई पाठकले आफ्नो इच्छा अनुकूल पढ्न सक्छन् ।
नेपालमा मर्कन्टाइल प्रालिले ‘नेपाल न्यूज डटकम’ नामक वेवसाइटमार्फत् विस २०५६ सालदेखि पहिलो अनलाइन पत्रकारिता सुरु गरेको हो । त्यसपछिको नेपाली ई–पत्रिकाको रूपमा ‘नेपालीपोष्ट डटकम’लाई लिइन्छ । पत्रकार गिरिश पोखरेलले अमेरिकाबाट सुरु गरेको यो अनलाइन अहिले पनि सञ्चालनमा छ । यो नेपाली भाषाको पहिलो अनलाइन पत्रिका हो । अहिले विश्वमा इन्टरनेटको लोकप्रियतासँगै अनलाइन पत्रकारिताले तीव्र गति लिँदैछ ।
ई–पत्रकारिताको इतिहास
सन् १९६९ मा अमेरिकी रक्षा विभागका अनुसन्धान विशेषज्ञले चार वटा कम्युटरको नेटवर्क अपार्नेटबाट प्रयोगात्मक रूपमा सूचना आदान प्रदान गर्न सुरु गरेका थिए । एक वर्ष पछि सन् १९७० मा यो टेलिटेक्स र भिडियो टेक्सको रूपमा विकास भयो । तर १९८६ मा भिडियो टेक्स पूर्ण रूपमा बन्द भयो । सन् १९९० मा बेलायती वैज्ञानिक टीम वर्नर लीले वेभसाइट बनाउनक अत्यावश्यक एटीएमएल कोडको विकास गरे, जसबाट वेबपेजको निर्माण सम्भव भयो । सन् १९९२ मा अमेरिकाको शिकागो दिव्यन अनलाइनको रुपमा इन्टरनेटमा प्रकाशित भयो, त्यसपछि नै अनलाइन पत्रकारिताको सुरुवात भएको मानिन्छ ।
प्रारम्भमा सीएनएन, बीबीसी तथा अन्तराष्ट्रिय सञ्चारमाध्यम हरू धेरै अगाडि अनलाइन संस्करणमा गए । त्यसो त नेपाल पनि यसमा त्यति पछाडि भने देखिदैन । सन् १९९३ वाट विश्वभर नै अनलाइन पत्रकारिताको विकासले तिव्रता पाएको थियो भने नेपालमा पनि सन् १९९५ मै यसको प्रारम्भ भइसकेको थियो । मर्कन्टाइल प्रालिले सन् १९९५ मा साउथ एसिया इट कम मार्फत कान्तिपुर पब्लिकेशन हाउसको अङ्ग्रेजी दैनिक दि काठमाडौं पोस्टलाई आफ्नो साइटमा राखेर अनलाइन पत्रकारिताको प्रारम्भ गरेको थियो । यसले सन् १९९८ मा नेपाल न्यूज डटकमको रूपमा आफ्नै अनलाइन पत्रिका सुरु गरेको थियो ।
प्रारम्भमा नेपाल न्यूजले आफ्नै समाचार राख्नेदेखि लिएर अन्य पत्रिकाहरुलाई समेत आफ्नो साइटमा हालिदिने काम गर्दै अनलाइनको संसारमा प्रवेश गरायो । उसले प्रारम्भमा कान्तिपुर पब्लिकेशन, गोरखापत्र संस्थान, कामना प्रकाशन लगायत अन्य थुप्रै साप्ताहिक र मासिक पत्रिका नेपाल न्यूजको वेभसाइटमार्फत् प्रकाशन गर्ने महत्वपूर्ण काम गर्यो ।
अनलाइन पत्रकारिताको रफ्तार बढ्दै गएपछि कुनै प्रकाशन गृह बिना नै स्वतन्त्र रूपमा समेत समाचार पोर्टलहरूको प्रारम्भ हुन थाल्यो । विस्तारै यसमा नेपाल बाहिर रहेका नेपालीहरुको सक्रियता बढ्न थाल्यो भने नेपाल भित्र पनि ई–पत्रिकाको संख्या बढ्दै गए । अनलाइन पत्रिकाको माग बढ्दै गएपछि छापा, ध्वनि र दृष्यमा आधारित सञ्चार माध्यम पनि अनलाइनमा छिरेका छन् । अहिले नेपालका दैनिकदेखि साप्ताहिकसम्म धेरैजसोको अनलाइन संस्करण छ । नेपालमा हाल २ हजार ३ सय २५ अनलाइन समाचार पोर्टल दर्ता भएका छन् । दिनहुँ दर्ता हुने क्रम रहेकाले यो संख्या बढ्दै गएको छ ।
अनलाइन पत्रकारिताको सवल पक्ष
सम्बन्धित व्यक्तिलाई नै नभेटी, कुनै अनुसन्धान नै नगरी हतारमा स्रोत नखुलाई खबर सम्प्रेषण गरिने भएकाले अनलाइनमा झूटो खबरको संभावना बढी हुन्छ । यति हुँदा हुँदै पनि यसका सवल पक्ष बढी छन् ।
–पाठकले आफ्नो इच्छा अनुसार फुर्सदको बेलामा आवस्यकता अनुसार पढ्न सक्छन् ।
—छापावाल अखबार भन्दा यो छिटो र सुविधा जनक हुन्छ ।
–यस्को वेब स्पेस असीमित भएकाले धेरै बिषयबस्तु, सामग्री समेट्न सक्छ ।
–पाठकले पढिसक्ने बित्तिकै तुरुन्तै प्रतिक्रिया दिन सक्छन् ।
–कम लगानी र थोरै जनशक्तिको प्रयोग गरेर पनि सञ्चालन गर्न सकिन्छ ।
–थोरै समयमा नै आमसर्वसाधारण माझ घटनाको विस्तृत जानकारी पुर्याउन सक्छ ।
अनलाइन पत्रकारिताको चुनौती
विकसित राष्ट्रहरूमा परम्परागत मिडियालाई विस्थापित गराउने हदसम्मको पहुँचमा अनलाइन पत्रकारिताको विस्तार भएपनि नेपालमा आशा अनुरूपको विकास हुन सकेको छैन । अनलाइन पत्रकारहरुको लामो सङघर्षपछि सरकारले अनलाइन पत्रकारितालाई समेत राज्यस्तरबाट मान्यता दिए पनि सरकार यसलाई सहयोग गर्ने सवालमा अझै पनि अन्यौल देखिन्छ । अनलाइन पत्रकारितालाई परिभाषित गरी वर्गीकरण गर्ने विषयमा सरकार उदासीन छ । भौगोलिक विकटता, कम गतिको इन्टरनेट र त्यसमा पनि अनलाइनको पाठक सीमित छन् ।
अनलाइनमा स्रोत नखुलाइ हतारमा सम्प्रेषण गरिएका सामग्रीले सर्वसाधारणमा विश्वास जाग्न सकिरहेको छैन । युट्युव तथा केही अनलाइन पत्रकारहरू अनुसन्धान नै नगरी सम्बन्धित व्यक्तिलाई नै नभेटी मनगढन्ते समाचार सम्प्रेषणमा दौडिन्छन् । इन्टरनेट साइट खोल्न जोसुकैले पनि पाउने र यस प्रकारका सामग्रीमा पत्रकारिताको कुनै सिद्धान्त पूरा गरेको नदेखिने भएका कारण आचारसंहिताको पक्षमा बेला बेलामा कुरा उठ्ने गरेको छ ।
नेपालमा अनलाइन पत्रकारिताको टाउकोमाथि बाँधिएको तरबारको रुपमा विधुतिय कारोबार ऐन २०६३ को दफा ४७ रहेको छ । यो दफा अनुसार कम्युटर, मोबाइल इन्टरनेटलातका विद्युतीय सञ्चारमाध्यमहरु मार्फत प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न भनी रोक लगाएका सामग्री प्रशारण वा प्रकाशन गर्न पाइने छैन । कानुनले बन्देज लगाएका सामग्री इन्टरनेट मार्फत प्रकाशन वा प्रशारण गरेमा ५ वर्ष सम्मको कैद वा एक लाख सम्मको जरिबना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
२०७५ साल भाद्र १ गतेबाट लागू हुने फौजदारी कसूरहरूलाई नियमन गर्ने अपराधसंहितामा इन्टरनेटसँग प्रत्यक्ष सरोकार राख्ने केही कसूरहरू छन् । मुलुकी अपराधसहिंता २०७४ को परिच्छेद ५ को दफा १२१ मा अश्लील प्रकाशन र प्रचारप्रसारका बारेमा व्यवस्थामा कसैले पनि शारिरिक उत्तेजना बढाउने, चरित्रहीन बनाउने कुनै किताब, प्रचारप्रसार चलचित्र, तस्विर वा अन्य कुनै वस्तु बनाउन वा प्रकाशित गर्न वा विद्युतीय संचार माध्यमबाट प्रचारप्रसार गर्न पाइने छैन । त्यस्तो कानुनले बन्देज गरेको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रूपैयाँ सम्मको जरिबाना वा दुवै सजायको व्यवस्था गरिएको छ । यति व्यवस्था हुँदा हुँदै पनि केही अनलाइनले अश्लील पत्रकारिता पनि गरिरहेका छन् । यसलाई प्रेस काउन्सिलले नियमन गर्न सक्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकारको सम्पत्ति कति छ ?
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
सुकुटी बेचेर मासिक दुई लाख आर्जन
-
पूर्वाञ्चल विश्वविद्यालयले विराटनगरमा बालविकासबारे अन्तर्राष्ट्रिय सम्मेलन गर्दै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति छ ? (सूचीसहित)
-
वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले दियो यस्तो सुझाव