शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘अर्थमन्त्रीलाई केही थाहा छैन भन्ने भ्रम नहोस्’

पुँजीबजारमा विकृति मान्य छैन
बिहीबार, १९ फागुन २०७८, १४ : २१
बिहीबार, १९ फागुन २०७८

धितोपत्र बोर्डकै तत्कालीन नेतृत्वबाट शेयर कारोबारमा चलखेल भएको भन्ने सूचना आएपछि हामीले प्रारम्भिक अध्ययन गर्‍यौँ । हाम्रो पुँजीबजारका संरचनाहरू नियमन र सञ्चालन गर्ने निकायमै समस्या देखिए । ती समस्या समाधान गर्न तदारुकताका साथ स्थापित मान्यता र कानुन, विधि र प्रक्रियाका आधारमा कदम चाल्यौँ । छानबिन प्रक्रिया अघि बढ्यो । केहीले राजीनामा दिनुभयो । धितोपत्र बोर्डका अध्यक्षलाई सरकारले निलम्बन गर्‍यो । त्यसको मुख्य उद्देश्य पुँजीबजारमा देखिएका समस्या समाधान गर्ने र सर्वसाधारण जनताको लगानीको संरक्षण गर्ने नै थियो । 

कोरोना महामारीका कारण अहिले अर्थतन्त्रमा गहिरो असर परेको छ । यो परिस्थितिमा पुँजीबजारको परिचालन र सञ्चालन कसरी गर्ने भनी हामीले सिक्नुपर्ने कुराहरू छन् । अन्य मुलुकको पुँजीबजार कसरी चलेको छ भनी हेर्नु आवश्यक छ । हामीसँग भएको अहिलेको संरचना हेर्दा पुँजीबजारका लागि आवश्यक औजारहरू न्यून भएको अवस्था देखिएको छ । सामान्य बुझाई भएको मैले हेर्दा पनि यस्तो देखेको छु । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नवनियुक्त प्रमुखहरूले हाम्रो पुँजीबजार अवस्थाबारे अवश्य नै विस्तृतमा बुझ्नुभएको होला । अब हामीले के कस्तो व्यवस्था गर्ने ? पुँजीबजारबाट पुँजी निर्माण कसरी गर्ने ? लगानीकर्तालाई प्रतिफल प्रदान गर्न के भूमिका खेल्न सक्छौँ ? राष्ट्रिय महत्त्वका आयोजनाहरूमा कसरी लगानी पनि व्यवस्था गर्नसक्छौ लगायतका विषयहरूमा ध्यान दिनुपर्छ ।

नेपालको पुँजीबजार धेरैले बुझिनसकेको, तर लाखौँ मानिस यसमा सहभागी भएको देखियो । पुँजीबजारमा ‘इन्साइडर ट्रेडिङ’ भएका घटनाहरू हामीले पायौं । उच्च अदालतका पूर्वन्यायाधीश नेतृत्वमा विज्ञहरू राखेर छानबिन समिति बनायौँ । प्रतिवेदनका आधारमा हामीले कारबाही गर्नुपरेको हो । यो कुनै व्यक्तिलाई मात्र कारबाही गरेर समाधान हुने विषय चाहिँ होइन । प्रवृत्तिलाई नै कसरी निरुत्साहित गर्ने र फेरि दोहोर्‍याउन नदिने भन्नेतर्फ ध्यान दिनुपर्छ । सुधारका कामलाई कसरी अघि बढाउने भन्नेबारे सेबोन र नेप्सेको नयाँ नेतृत्वले ध्यान दिनुपर्छ । 

पहिलो कुरा त २०७५ सालमै ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस) भित्रिएको रहेछ । कारोबारमा केही सहज भएको पनि रहेछ । तर, अझै प्रयोगकर्तामैत्री नभएको सुनिन्छ । एपीआई (एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस) को विकास अहिलेसम्म गरेको देखिँदैन । जसकारण सम्बन्धित मानिसले यथार्थ तथ्याङ्क (रियल डाटा) पाउन सकिरहेका छैनन् । नेप्सेको भेन्डरबाट रियल डाटा प्राप्त गर्न नसकेको गुनासो आइरहेको छ । नेप्से र सेबोनबीच आपसी तालमेलमै पनि समस्या भएको कुराहरू मैले सुनेँ । नेप्सेले सेबोनमा पठाउने सूची पठाउँदा नै समस्या भएको सुनिन्छ । अर्थमन्त्रीलाई यसबारे केही थाहा छैन भन्ने भ्रम नहोस् । म कहाँ सबै सूचना आइपुग्छ । अहिले आएको नेतृत्वले उल्लेखित सबै समस्या समाधान गर्नतर्फ गम्भीरतापूर्वक लागोस् । नेपालको पुँजीबजारमा नयाँ उचाइ दिन म यी कुरा भन्दैछु ।

पुँजीबजारमा कारोबार गर्न अझै प्राविधिक सीमितताहरू छन् भन्ने पनि सुनेँ । प्रविधियुक्त अहिलेको समयमा पनि किन यस्तो समस्या सुन्नुपरेको हो ? लगानीकर्ताहरू विभिन्न स्तरका छन् । त्यसैले, साना र स्टार्टअप कम्पनीहरूलाई पनि पुँजीबजारमा प्रवेश गराउने बाटो के हो ? एमएईज् र ओटीसी बजार हुन्छ भन्ने सुनेको छु । अब त्यो तयार गर्नुपर्‍यो । यसका लागि नीति या संरचना के आवश्यक हो, भन्नुपर्‍यो । पुँजीबजारमा तत्कालै गर्नुपर्ने धेरै काम छन् भन्ने मलाई लागेको छ । 

सूचीकरणमा आउन नसकेका र आईपीओका लागि योग्य नभएका पब्लिक कम्पनीको शेयरलाई हामीले एउटा ओटीसीमार्फत कसरी कारोबारमा ल्याउने वा डिजिटलाइज कारोबारमा कसरी लैजाने भन्ने सवाल पनि महत्त्वपूर्ण हो । अहिले नेपालको पुँजीबजारमा ५० लाखभन्दा धेरैसँग हितग्राही (डिम्याट) खाता छ । दोस्रो बजारमा कारोबारका लागि ११ लाखभन्दा धेरैले खाता खोलेका छन् । यी लगानीकर्तालाई सहजीकरण गर्न हामीले विभिन्न काम गर्नुपर्नेछ । संस्थागत क्षमता नै विकास गर्नुपर्नेछ । अहिलेको हाम्रो संस्थागत र संरचनागत क्षमताले नपुग्ने देखिन्छ ।

अहिलेसम्म नेपालमा ‘इन्ट्रा डे’ अर्थात् एकै दिनमा किनबेच गर्ने सुविधा छैन । अरू देशमा यो व्यवस्था भएको देखियो । अब यहाँ पनि त्यस्तो सुविधा हुनुपर्छ । यो व्यवस्था मिलाउनुपर्छ । कारोबारका अन्य विभिन्न विधि र सुविधाहरू, जो नेपालमा छैनन्, त्यो पनि अब विकास गर्नुपर्छ । यसतर्फ पुँजीबजारसम्बद्ध सबैको ध्यान जाओस् । लिलामीबाट बिक्री हुन नसकेका शेयरलाई सबै लगानीकर्ताले किन्न पाउने अवसर दिनुपर्छ । हामीकहाँ ब्रोकरहरू छन् । उनीहरूको क्षमता बढाउनका लागि अबम मोडलहरू विकास गर्नुपर्छ । नियामकको काम ब्रोकर लाइसेन्स दिनेमात्र होइन, पूर्ण सुविधायुक्त ब्रोकर बनाउने पनि हो । ब्रोकरहरूले खरिद–बिक्रीमात्र गर्ने नभई लगानीकर्तालाई कहाँ लगानी गर्दा राम्रो हुन्छ भन्ने अनुसन्धानमूलक सुझाव पनि दिन सक्नुपर्छ । हामीकहाँ लगानीकर्ताको लगानी सुरक्षित गर्न सघाउने ब्रोकरहरू आवश्यक छ, अन्य देशहरूमा त्यस्तो व्यवस्था रहेको मैले पाएँ ।

हामीसँग सेटलमेन्ट ग्यारेन्टी फण्ड छैन । अन्यत्र त यस्तो फण्ड पनि हुने रहेछ । नेप्से, सेबोन, सीडीए र ब्रोकरहरू मिलेर यो फण्ड बनाउन सक्छन् । भविष्यको मूल्याङ्कन गरेर आज किनबेच गर्ने सिस्टम पनि छैन । डेरिभेटिभ बजारबारे पनि अझैसम्म खास काम हुन नसकेको देखियो । कमोडिटी ऐन बनेको ४ वर्ष भयो, काम अघि बढेको रहेनछ । अब काम अघि बढाउनुपर्छ । पुँजीबजारबारे ज्ञान राख्ने व्यक्तित्वहरूसँग कुरा गर्दा यी समस्या रहेको जानकारी मलाई प्राप्त भएको छ । 

अब हामीले वैज्ञानिक तवरले निर्धारण हुने नयाँ परिसूचक तय गर्नुपर्छ । अन्यत्र कसरी परिसूचक तयार गरिएको छ, त्यो हेरेर हामी पनि अद्यावधिक हुनुपर्छ । मार्केट क्यापलाई लार्जर, मिडियम र स्मल क्याप बनाएर परिसूचकलाई थप व्यवस्थित गर्नुपर्छ । यहाँ त एउटै घानमा एकै प्रकारका झालेमाले देखियो । यसो हुँदा खरिदकर्ताले समस्या भोगिरहेका छन् । बाहिर रहेकालाई पुँजीबजारमा ल्याउन बुक ब्यूल्डिङ प्रणाली लागू गर्नुपर्नेछ । इन्डेक्स र ट्रेड फण्ड शुरूवात गर्नुपर्नेछ । प्रारम्भिक रूपमा बजारमा आउनेले राम्रा कम्पनी मिलाएर किन्दा तत्कालै नोक्सानी हुँदैन । हामीसँग ब्रोकर मार्जिन लेन्डिङ सुविधा पनि छैन । लगानीकर्तालाई ऋण दिन सक्ने अवस्थामा ब्रोकरहरूलाई पुर्‍याउनुपर्छ । ब्रोकर कम्पनीहरूबाट मार्जिन लेन्डिङ गराउने प्रक्रिया थाल्नुपर्छ । 

पुँजीबजारसम्बन्धी हाम्रा नीति नियममा समयानुकूल परिमार्जन गर्नुपर्नेछ । बजार पुँजीकरण बढिरहेको छ । लगानीकर्ताहरू थपिइरहेका छन् । जोखिम पनि बढ्दो छ । मौजुदा ऐनमा परिमार्जन गर्नुपर्ने हो भने सेबोन र नेप्सेले जानकारी देओस् । ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) त भनियो, तर त्यसबाट सबै सेवा दिन सकिएको छैन । अब टीएमएसमा लगानीकर्ताले आवश्यक सम्बन्धित सबै सुविधा पाउनुपर्‍यो ।

नेपालको पुँजीबजारमा सर्कुलर कारोबार भइरहेको छ । सेटिङ मिलाएर दुई–चारजनाले भाउ घटाउने/बढाउने र बजारमा फालिदिने अर्थात् ‘पम्पिङ एण्ड डम्पिङ’ भइरहेको छ । आवश्यक प्रविधि र औजारहरू नआए पनि नेपालको पुँजीबजारमा विकृतिहरू चाहिँ आइसकेका छन् । कसरी यस्तो धन्दा गर्छन् भन्ने थाहा भइसकेको छ । यी समस्याहरूलाई नयाँ नेतृत्वले समाधान गर्नुपर्छ । पुँजीबजारको कुरा कारोबारको कुरामात्र होइन । ठूला पूर्वाधारहरू निर्माण गर्न, उत्पादनमा पुँजी लगानी गर्न र पुँजी सङ्कलन गर्न ध्यान दिनुपर्छ । जनतामा भएको रकम पुँजीबजारमा आउने भयो, तर आएपछि पुँजी निर्माण, ठूला आयोजना निर्माण र लगानीका लागि विशेषगरी धितोपत्र बोर्डले ध्यान दिनुपर्छ । 

अर्को, हाम्रो पुँजीबजारमा कारोबार भयो । तर, चेतनायुक्त कारोबार भएन । अब चेतनासहितको कारोबार हुनुपर्छ । अब चेतनायुक्त कारोबारका लागि पुँजीबजारसम्बन्धी तालिमहरू चलाउनुपर्छ । अरू देशमा नियामककै तालिम केन्द्रहरू छन् । छरिएको पुँजी एकत्रित गरी उत्पादन, उद्योग र व्यापारमा लगाउन अघि बढ्नुपर्छ । यो बीच प्रक्रिया लामो हुँदा सेबोन र नेप्सेमा नेतृत्व छनोट गर्न समय लाग्यो । तर, अर्थ मन्त्रालयले पुँजीबजारलाई प्राथमिकतामा राखेको छ । म मन्त्री भएर आउनासाथ पुँजीबजारमा देखिएका समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्न खोजें । 

यहाँ विभिन्न भ्रमण छरेर पुँजीबजारभित्र राजनीति गर्न खोजियो । पुँजीबजार राजनीति गर्ने ठाउँ होइन । यो स्वचालित र पारदर्शी ढंगले चल्न दिनुपर्छ । यहाँ त ‘फलानो मन्त्री भएका यस्तो भयो’ भन्दै राजनीतिकरण गरियो । यो गलत हो । सबै लगानीकर्ता पुँजीबजारप्रति संवेदनशील हुनुपर्छ, यो कुरा बुझ्नुपर्छ । म मन्त्री भएर आउनासाथ पुँजीबजारका समस्या पहिचान गर्न लागें । समस्या पहिचान भएको छ । यसअघि कसले ‘इन्साइडर कारोबार भयो, पम्पिङ एन्ड डम्पिङ भयो, सर्कुलर कारोबार भयो’ भनेका थिए ? 

मलाई विश्वास छ : सेबोन र नेप्सेका प्रमुखहरूले कतैबाट प्रभावित नभई स्वतन्त्र ढंगले पुँजीबजारका लागि काम गर्नुहुनेछ । कुनै पनि दबाबमा पर्नुभएन । दबाबमा पर्दा यी संस्थामा काम हुँदैन । पुँजीबजार सुधार गर्नुस् । लगानीकर्तालाई शिक्षासहित कारोबारमा सहभागी गराउने योजना तयार पार्नुस् । के कस्ता नियम या नीति चाहिन्छ, अघि बढ्नुस् । नेप्सेले कारोबारलाई प्रभावकारी बनाउनुपर्छ । पुँजीबजारमा आएको पुँजीको हिस्सालाई उत्पादनमूलक क्षेत्रमा लगाउनेतर्फ पनि काम गर्नुपर्छ । हामीलाई विकासका लागि वार्षिक १८/२० खर्ब रुपैयाँ आवश्यक छ । त्यसको केही हिस्सा पुँजीबजारबाट आओस् ।

अबउप्रान्त म अर्थ मन्त्रालय या अर्थमन्त्रीले यसो र उसो गर्‍यो भनेको सुन्न चाहन्नँ । यो मन्त्रीको जिम्मेवारी पनि होइन । सेबोन र नेप्सेका प्रमुखहरूले सेयरबजार सुधार गरेर जवाफ दिनुस् । लगानीकर्तालाई सहजीकरण र संरक्षण गर्नुस् । फेरि पनि भन्छु–पुँजीबजारमा विकृति मान्य छैन । 

(अर्थमन्त्री शर्माद्वारा मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा व्यक्त धारणा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जनार्दन शर्मा ‘प्रभाकर’
जनार्दन शर्मा ‘प्रभाकर’
लेखकबाट थप