बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

काँग्रेस नेता तामाङद्वारा पार्टी परित्यागको घोषणा, नेतृत्वलाई लगाए यस्ता आरोप

बिहीबार, १९ फागुन २०७८, १४ : २०
बिहीबार, १९ फागुन २०७८

नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता तथा पार्टीको तर्फबाट  बाह्रविसे नगरपालिका–२ का अध्यक्ष बमबहादुर तामाङले पार्टी परित्यागको घोषणा गरेका छन् ।  बिहीबार एक विज्ञप्ति जारी गर्दै तामाङले सिन्धुपाल्चोक काँग्रेसमा व्यक्तिवादी सोच हावी भएको तथा पार्टीको लागि सँधै राम्रो गर्दा पनि सधै अपमानित भएर बस्न आफूलाई नैतिकताले नदिएको बताएका छन् । 

‘पछिल्लो केही वर्ष यतादेखि नेपाली काँग्रेसमा विशेष गरी सिन्धुपाल्चोकमा व्यक्तिवादी सोच हावी हुँदै गएको छ । पार्टीले आम जनचाहना विपरीत एमसीसी पास गर्ने, आम कार्यकर्ताहरूले भनेको कुनै पनि कुराको सुनुवाई नगर्ने, पेलेर लैजान खोज्ने, विधि विधानभन्दा व्यक्तिवादी सोच बढी हावी हुने जस्ता गतिविधिले हामी आम काँग्रेस कार्यकर्ताहरु निराश भएका छौँ’, उनले भनेका छन् । 

माओवादी द्वन्द्वकालमा समेत पार्टीको गतिविधिमा सक्रिय भएको आफू गोली लागेर पनि बाँचेको स्मरण गर्दै उनले अहिले पार्टी छाड्ने बिन्दुसम्म आउनुपर्दा दुःख लागेको बताएका छन् । 

‘स्थानीय निर्वाचनमा विजय भएर काँग्रेसको नीति सिद्धान्तअनुसार दिनरात नभनी काम गरेपनि पार्टीका नेताहरुले कहिले पनि जस नदिने, सार्वजनिक स्थानमा समेत अपमान गर्ने क्रियाकलाप निरन्तर भइरहे । यसरी एउटा लोकतान्त्रिक पार्टी भित्र काम गर्दै गर्दा पनि सधै अपमानित भएर बस्न मलाई मेरो नैतिकताले दिएन । पार्टीभित्र नैतिकहिन, अनुशासनहीन नेताको कार्यकर्ता भएर नबस्नका लागि म सिन्धुपाल्चोकका आम काँग्रेस नेता कार्यकर्ताहरूसँग आग्रह पनि गर्दछु ।’

उनले भनेका छन्, ‘लोकतान्त्रिक पार्टी भित्रको यो अलोकतान्त्रिक क्रियाकलाप टुलुटुलु हेरेर बस्नुभन्दा पार्टीबाट विद्रोह गर्न मेरो अन्तरआत्माले भन्यो । त्यसैले मेरो अन्तरमनको निर्देशन, आम पार्टीका शुभेच्छुकहरु, मलाई माया गरेर मतदान गर्ने आम मतदाताहरूको सल्लाह बमोजिम मैले ३२ वर्षमा माया गरेको, रगत पसिना बगाएको पार्टी नेपाली काँग्रेस पार्टी आजैको मितिबाट परित्याग गरेको घोषणा गर्दछु ।’

उनले आफू राजनीतिक प्राणी भएकाले फेरि अर्को कुनै राजनीतिक मोर्चाबाट जनतासँगै जोडिने पनि बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप