शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीमा नारायणकाजी पक्षधरको निष्कर्ष : प्रचण्ड अब सुध्रिँदैनन्, सँगै बस्नुको अर्थ छैन !

बिहीबार, १९ फागुन २०७८, १४ : ०९
बिहीबार, १९ फागुन २०७८

महाधिवेशनको निर्णयविपरीत अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गरेसँगै सत्तारुढ दल नेकपा माओवादी केन्द्रमा ‘गम्भीर मतभेद’ उत्पन्न भएको छ । यो मतभेदले पार्टी नै विभाजनको संघारमा पुगेको स्वयं माओवादी केन्द्रका नेता कार्यकर्ताले बताउन थालेका छन् ।

एमसीसी अनुमोदन गरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी निर्णयको गम्भीर उल्लङ्घन गर्नुका साथै पार्टीको क्रान्तिकारी छवि समेत धुमिल पारेकाले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा रहिरहन नसक्ने नेता नारायणकाजी श्रेष्ठ पक्षको निष्कर्ष छ । ‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराइ छाडे,’ आइतबार संसद्बाट एमसीसी अनुमोदन भएपछि सामाजिक सञ्जालमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले लेखेका थिए, ‘आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रूपमा लिनेछन् । सम्पूर्ण देशभक्त शक्तिहरू एकबद्ध होऔँ, नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौँ ।’ श्रेष्ठको यो स्टाटसले नै माओवादीमा एमसीसीबारे विवाद कस्तो रहेछ भनेर सहजै बुझ्न सकिन्छ ।

प्रचण्डको पछिल्लो कार्यशैलीलाई लिएर खास गरी माओवादी केन्द्रमा रहेका पूर्व एकता केन्द्र समूहका नेताहरू श्रेष्ठसहित लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, पेशल खतिवडा लगायतका नेताहरू रुष्ट बनेका हुन् । श्रेष्ठ रुष्ट बनेपछि अध्यक्ष प्रचण्ड मंगलबार उनलाई भेट्न उनको निवास हात्तीवन पुगेका थिए भने बिहीबार बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा दुई नेताबीच पुनः भेटवार्ता भएको थियो । दुवै भेटवार्तामा अध्यक्ष प्रचण्डले नेता श्रेष्ठलाई पार्टी विभाजनको बाटो नरोज्न आग्रह गरेका थिए । जवाफमा श्रेष्ठले पत्रकार सम्मेलन गरेर आफूमाथि बढाएको दबाब के हो ? भनेर प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले अवेशमा आएर त्यसो भनेको जिकिर गरेका थिए ।

प्रचण्डसँग खटपट भएपछि पूर्व एकता केन्द्र पक्षधर नेताहरूले बुधबार र बिहीबार कसरी अघि बढ्ने भनेर ललितपुरमा गोप्य छलफल समेत गरेका छन् । उक्त छलफलले पनि प्रचण्डसँगको सहकार्य अव लगभग समाप्त भएको निष्कर्ष निकालेको नेताहरूले बताएका छन् ।

‘एमसीसी पास भएपछि अव माओवादी क्रान्तिकारी र कम्युनिस्ट पार्टी रहेन, नेतृत्व असक्षम साबित भयो’, पूर्व एकता केन्द्रका एक नेता भन्छन्, ‘अध्यक्ष प्रचण्डले दुई दिन अघिसम्म एमसीसी पास गर्न हुन्न भन्नुभयो र दुई दिनपछि आफै पास गर्न लाग्नुभयो, त्यसैले अव यो पार्टीमा बस्नुको कुनै अर्थ छैन भन्ने हाम्रो ठहर रह्यो ।’

उनले एमसीसी पास गरेपछि माओवादी वामपन्थी, क्रान्तिकारी र राष्ट्रवादी पनि नरहेको आफूहरूको निष्कर्ष रहेको सुनाए । ‘अव माओवादीमा बस्नुहुन्न भनेर नारायणकाजी श्रेष्ठलाई उनका पक्षधरहरू प्रदेश, जिल्ला, पेशागत संघ संगठनका नेताहरूले चर्को दबाब दिइरहेका छन्’, ती नेताको भनाइ छ । बुधबार र बिहीबार नेता श्रेष्ठले राखेको आफूपक्षीय केन्द्रीय सदस्यहरुको भेलामा सहभागी ती नेताले भने, ‘बाहिरका वामपन्थी पार्टीहरू विप्लव समूह र मोहन विक्रम नेतृत्वको मसालका नेताहरूले समेत नयाँ ढंगले ध्रुवीकरण थाल्न सुझाव दिएका छन् तर निर्णय भैसकेको छैन ।’

श्रेष्ठ निकट मानिएका नेता गिरिराजमणि पोखरेल घट्नाक्रमहरुले सोच्नुपर्ने अवस्थामा पुर्‍याएको बताउँछन् । ‘हाम्रो चाहना पार्टी विभाजन गर्ने होइन, तर अहिले सोच्नुपर्ने अवस्थामा पुर्‍यायो’, पोखरेलले भने, ‘महाधिवेशनले यथास्थितिमा एमसीसी पास नगर्ने भनेपछि उहाँले भनेको कुरा महाधिवेशनको लाइन हो वा हामीले भनेको महाधिवेशनको लाइन हो भन्ने कुराको फैसला हुनुपर्छ ।’

भेलामा सहभागी अधिकांशले अलग पार्टी बनाउनुपर्ने सुझाव दिएको ती नेताको भनाइ छ । ‘फुटको पक्षमा ९० प्रतिशतको आवाज उठ्यो । किनभने प्रचण्डलाई करेक्सन गर्न सकिँदैन र उहाँबाट अव पार्टी बन्दैन भन्ने नै रह्यो’, ती नेताको भनाइ छ ।  

एमसीसी अनुमोदनपछि अध्यक्ष प्रचण्डले मंगलबार गरेको पत्रकार सम्मेलनपछि श्रेष्ठ पक्षधर थप बिच्किन पुगेको उनीहरूको भनाइ छ । ‘अध्यक्ष प्रचण्डले खुमलटारमा गरेको पत्रकार सम्मेलनमा पार्टीलाई एकताबद्ध बनाएर लैजाने भन्दा पनि नारायणकाजी श्रेष्ठको नामै लिएर वामदेव गौतम र प्रेम सुवालसँग तुलना गर्दै ‘खाए खा नखाए घिच’ को नीति लिएको देखियो, यो नीतिबाट उहाँ सुध्रने संकेत देखिँदैन, बरु थप पेलेरै जाने देखियो’, श्रेष्ठ निकट अर्का नेता भन्छन्, ‘यसरी बस्नुभन्दा अलग हुनु नै राम्रो हो भन्ने मत धेरै छ ।  त्यसका लागि आन्तरिक छलफल भइरहेको छ । के गर्ने भन्ने कुरा बिहीबार बेलुकासम्म वा केन्द्रीय कमिटी बैठकपछि निर्णयमा पुग्न सकिन्छ ।’  

ती नेताका अनुसार पार्टीमा फागुन २० बाट सुरु हुने केन्द्रीय कमिटी बैठक नै बहिस्कार गर्नुपर्ने आवाज समेत उठेको छ । तर केही नेताहरूले उक्त दिन डाकिएको केन्द्रीय समिति बैठक बहिस्कार गर्नुभन्दा त्यही बैठकमा घनिभूत छलफल गर्नु उपयुक्त हुने सुझाव समेत दिएका छन् ।

श्रेष्ठ निकट मानिएका नेता गिरिराजमणि पोखरेल घट्नाक्रमहरुले सोच्नुपर्ने अवस्थामा पुर्‍याएको बताउँछन् । ‘हाम्रो चाहना पार्टी विभाजन गर्ने होइन, तर अहिले सोच्नुपर्ने अवस्थामा पुर्‍यायो’, पोखरेलले भने, ‘महाधिवेशनले यथास्थितिमा एमसीसी पास नगर्ने भनेपछि उहाँले भनेको कुरा महाधिवेशनको लाइन हो वा हामीले भनेको महाधिवेशनको लाइन हो भन्ने कुराको फैसला हुनुपर्छ ।’ पोखरेलले आफूहरूले महाधिवेशनको स्प्रिटमा मात्रै चल्नुपर्छ भन्ने मान्यता अघि सारेको बताउदै शुक्रबारबाट हुने केन्द्रीय कमिटी बैठकमा आफूहरु सहभागी हुने बताए । उनले विभिन्न पक्षबाट छलफल र कुराकानी भइरहेको भन्दै अहिले नै केन्द्रीय कमिटी बैठक बहिस्कार गर्ने वा फरक पार्टी घोषणा गर्ने भन्ने निर्णय भई नसकेको पनि बताए । ‘हामी अहिले नै कुनै निर्णयमा पुगेका छैनौ । केन्द्रीय कमिटी बैठकमा जान्छौ, बहिस्कार सहिस्कार गर्ने भन्ने त्यस्तो अहिले केही छैन’, पोखरेलको भनाइ छ ।

प्रचण्ड पक्षधर भन्छ–बार्गेनिङमात्रै हो

यता प्रचण्ड निकट नेताहरू भने श्रेष्ठ पक्षधर नेताहरूले एमसीसीमा अनावश्यक निहुँ खोजेको बताउँछन् । ‘उहाँहरू मन्त्रिपरिषद् विस्तारदेखि नै असन्तुष्ट हुनुभएको हो । अहिले एमसीसी थप निहुँ बन्यो’, प्रचण्ड निकट एक नेता भन्छन्, ‘नारायणकाजी कमरेडहरू बेलाबेला आफूलाई ठुलो क्रान्तिकारी देखाउन अनेक उपाय अपनाउने गर्नुहुन्छ, एमसीसी प्रकरण पनि त्यहीमात्र हो ।’

ती नेताका अनुसार नारायणकाजी श्रेष्ठ पहिलेदेखि नै कुनै पनि विषयमा ठुलो क्रान्तिकारी देखिने र अन्त्यमा गएर पदमा बार्गेनिङ गरेर बस्ने प्रवृत्ति रहेको छ । ‘अहिले पनि उहाँले पार्टी नै विभाजन गर्नुहुन्छ भन्ने लाग्दैन । बरु पार्टी पदाधिकारी र केन्द्रीय सदस्यमा उहाँले केही आफ्ना मान्छे थप गर्न सक्नुहुन्छ’, ती नेताको भनाइ छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप