१५ दिने मिथिला माध्यमिकी परिक्रमा परिक्रमा आरम्भ
होलीको दुई साताअघिदेखि सुरु हुने मिथिला माध्यमिकी परिक्रमा बिहीबारदेखि विधिवतरुपमा सुरु भएको छ । मिथिलालञ्चलको ऐतिहासिक धार्मिक महत्व बोकेको १५ दिने मिथिला माध्यमिकी परिक्रमा धनुषाको कचुरीबाट बिहीबारदेखि शुरु भएको हो ।
फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने माध्यमिकी परिक्रमा अन्तरगत धनुषा, महोत्तरी र भारत बिहार प्रान्तको सीमावर्ती क्षेत्रमा गरेर १ सय २० किलोमिटर पैदलयात्रा गर्ने परम्परा छ । आजैको दिन धनुषाको मिथिला विहारनी नगरपालिका वडा नम्बर ८ कचुरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी तथा कीर्तनसहित रामजानकीको डोला जनकपुरको रत्नसागर मठ हुँदै जानकी मन्दिर ल्याउने परम्परा छ । यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलाहरु समेत समावेश गरि परिक्रमा यात्रा प्रारम्भ भएको मानिन्छ ।
बृहत्त, मध्य र अन्तरगृह गरि ३ प्रकारको परिक्रमा गरिन्छ । तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरूको संख्या उल्लेख्य छ । डोलाको पछि–पछि परम्परागत बाजागाजा, झाँकी कीर्तन सहितका मौलिक पहिरनमा लाखौँ नर–नारीहरु सहभागिता हुने गर्छ । लावालस्कर सहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरूको परिक्रमा गर्ने गरिन्छ । १५ दिने माध्यमिकी परिक्रमालाई मध्यमा परिक्रमा पनि भनिन्छ ।
हनुमानगढीबाट कल्याणेश्वर हुँदै फूलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षीरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), अउढी, करुणा, बिसौल र फेरि कल्याणेश्वर हुँदै फागुन पूर्णीमाको दिन जनकपुर फर्कन्छ र नगरको पाँचकोशे अन्तर्गृह परिक्रमा गरि समाप्त हुन्छ ।
नेपाल–भारत सामाजिक सांस्कृतिक तथा सद्भावको प्रतीक
नेपाल–भारतबीचको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्राको नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् । मिथिला महात्मयमा विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे बेग्लाबेग्लै रुपमा चर्चा गरिएको स्थलप्रति भक्तजनमा अटुट विश्वास रहेको पाइन्छ ।
मिथिला महात्म्य अनुसार १८ औँ शताब्दीदेखि धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाको रुपमा मनाइँदै आएको छ । यस यात्रामा सहभागी हुने श्रद्धालु भक्तजनले नेपालको १ सय ७ तथा भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिका पैदलयात्र तय गर्ने परम्परा रहेको छ । परिक्रमामा भारतको अयोध्या, मथुरा, हरिद्वार, दरभंगहा, सितामढी, बैजनाथधामका साधुहरु उल्लेख्य रुपमा सहभागी हुने गर्छन् भने नेपालका विभिन्नस्थलबाट प्रतिनिधिमूलक उपस्थित साधुुसन्तको रहने गरेको छ ।
महाशिवरात्री सम्पन्न लगत्तै प्रारम्भ हुने यस धर्मिकयात्रा १५ दिन भित्र जनकपुर पुगी होली खेलेर फागूपुर्णिमा तिथि पारी समापन गर्ने परम्परा छ । यस परिक्रमामा सहभागि भएमा मन, वचन र कर्मले भएका अनेकन पाप तथा अन्याय नष्ट भएर मनोकामना पुरा हुने एवं मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहेको साधुसन्तहरूको भनाइ रहँदै आएको छ ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहको छ ।
यसलाई मिथिलाञ्चल क्षेत्रकै महाकुम्भ भनेर पनि चिनिने गरिन्छ । तर, मिथिला महात्मयमा माध्यमिकी परिक्रमा गर्न नसक्नेहरुले छोटो दुरीको अन्तःगृह परिक्रमा गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । अन्तःगृह परिक्रमाको सीमा क्षेत्र जनकपुरधाम उपमहानगरपालिका भित्र पर्छ ।
मिथिला महात्म्यमा हरिहर क्षेत्रबाट प्रारम्भ भई गण्डकी नदीको किनार हुदै हिमालय क्षेत्र, कोशी नदी भएर पुनः हरिहर क्षेत्रमा समापन हुने वृहत् परिक्रमाको चर्चा गरिएको छ । भारतको पटनास्थित गंगा नदीको तटमा हरिहर क्षेत्र अवस्थित छ ।
वृहत् माध्यमिकी र अन्तःगृह परिक्रमा मंसिर, माघ, फागुन र वैशाख महिनामा गर्नसक्ने वैदिक मान्यता भएपनि ती परिक्रमा फागुन महिनामै हुने परम्परा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समीर भट्टको फिल्म ‘बलिदान’को रिलिज कहिले ?
-
स्वास्थ्य सेवा ऐन ल्याउने तयारी, ५८ हजारभन्दा बढी कर्मचारी लाभान्वित हुने
-
कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समर्थकको प्रदर्शन (तस्बिरहरु)
-
दरबारमार्गमा सुरु भयो एमालेको जागरणसभा (LIVE)
-
महालक्ष्मी विकास बैंकको कार्यालय भवन निर्माण हुँदै
-
कम्बोडियामा हुने आईक्याप सभामा भाग लिन माओवादी प्रतिनिधिहरू किन गएनन् ?