बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुइबा : नेपाल–चीन संस्कृतिको सेतु

बिहीबार, १९ फागुन २०७८, १० : २९
बिहीबार, १९ फागुन २०७८

“उपन्यास हाम्रो समयमा साहित्यिक विकासरूपी नाटकको प्रमुख नायक बनेको छ किनभने यसले अझै पनि निर्माणमा रहेको नयाँ संसारको प्रवृत्तिलाई झल्काउँछ ।”

रुसी दार्शनिक तथा साहित्यकार मिखाइल बाख्टिनको यसै भनाइलाई आधार मान्ने हो भने साहित्यमा आख्यानको राज अझै धेरै वर्ष चल्ने देखिन्छ किनकि नेपाली साहित्य मात्र नभएर विश्व साहित्य बजार नियाल्ने हो भने पनि आख्यानको दबदबा अझै बरकरार छ । यसो हुनुमा सायद कविताले भन्दा कथा, उपन्यास आदिले लिएको धरातल फराकिलो र बोधगम्य भएर हुनसक्छ ।

नेपाली साहित्य बजारलाई नै हेर्ने हो भने पनि विगत केही वर्षदेखि नेपाली उपन्यासले बजार आकर्षित गरेकै छ, ख्याति कमाएकै छ, पाठकलाई तताएकै छ, प्रकाशकलाई व्यस्त बनाएकै छ । कहिलेकाहीँ त लाग्छ अब लेख्न बाँकी केही छैन, सबै लेखिसकियो । अब नयाँ कथा, उपन्यास कुन विषयमा लेखिएलान्, विषय नै सक्किसक्यो । तर नयाँ कृतिहरू बजारमा आइरहेकै छन् । तिनलाई पल्टाएर हेर्याे भने पुनः पाठकलाई भान हुन्छ– अरे ! यो विषय अथवा यो पाटो त बाँकी नै रहेछ नि !

यही सन्दर्भ हो आख्यानकार, पत्रकार चेतनाथ आचार्यको हालसालै बजारमा आएको उपन्यास ‘रुइबा’ पनि ।

चेतनाथ पेसाले पत्रकार हुन् र कर्मले लेखक । उनी आख्यानमा रमाउन मन पराउने कलमकर्मी हुन् । एक सफल रेडियोकर्मी, एक असल कलमसाधक आचार्यको बोल्ने शैली जस्तो छ, त्यस्तै छ लेखनकला पनि । त्यही भएर पनि रुइबा उनको लेखनकलाको एक उच्चतम् परीक्षा बनेर पाठकमाझ बजारमा आएको छ यतिबेला ।

नेपालको धादिङ जिल्लाको एक विकट गाउँलाई पृष्ठभूमि बनाएर लेखिएको यस उपन्यासले त्यस भेगमा रहेको सीमान्तकृत वर्गको आवाजलाई मात्र मुखरित गरेको छैन, सिङ्गो नेपालको आर्थिक तथा सामाजिक र सांस्कृतिक पक्षको पनि मिहीन चित्रण गर्ने चेष्ठा गरेको छ ।

यसरी हेर्दा रुइबालाई तीनवटा फरक फरक कोणबाट विश्लेषण गर्न सकिन्छ ।

सीमान्तकृतको आवाज र मौलिक संस्कृतिको घेरामा रुइबा 

धादिङ जिल्लाको पाबाङ गाउँमा रहेको एक तामाङ बस्ती र सोही समुदायको पनि सबैभन्दा तल्लो तख्तामा रहेकी न्याउली तामाङको जीवनवृत्तमा उपन्यास दौडिएको छ । उपन्यासले सोही तामाङ समुदाय र संस्कृतिको विम्ब बोकेको छ तथापि कथानक भने नेपालको सामाजिक परिदृश्यमा केन्द्रित देखिन्छ ।

दुर्गम पहाडमा गरिबी र अभावसँगै भए पनि रमाइरहेकी न्याउली जसले पिछडिएका हरेक नेपाली जाति, वर्ग र समाजको प्रतिनिधित्व गर्दछे, अचानक सामाजिक संरचनाको चौघेरामा परेर मीठो सपना बुन्न थाल्दछे । सोझी न्याउलीलाई पढेलेखेको, जानकार, धनी भनाउँदो वर्गले बारम्बार आफ्नो चङ्गुलमा पार्ने प्रयास गरिरहन्छ । अन्ततः फेरिँदै गएको सामाजिक संरचनाको कठघरामा ऊ होमिन बाध्य हुन्छे; जसको आवाज सुन्ने कोही हुँदैन ।

रुइबाको कथा न्याउलीको आत्मकथा हो; जहाँ उसले सदैव अभाव, हन्डर, पीडा र बेचैनीमा बाँच्नु परेको छ । पाबाङको सुन्दर बस्तीमा अभाव नै भए पनि बरु ऊ बढी सुरक्षित र खुसी थिई । तर जब अभावशून्य आनन्ददायी जीवनको कल्पना गर्दै उसले पाबाङबाट आफ्ना पाइलाहरू सहरतर्फ बढाई, उसको नारकीय जीवनको शृङ्खला त्यहीँबाट सुरुआत भयो ।

आफ्नो समुदायको रहन–सहन, बोलीचाली, चाडपर्व र दैनिकीमा राम्ररी भिजेकी न्याउलीको कथा नेपाली तामाङ समुदायको प्रतिनिधि कथा हो; जुन विरलै मात्र कथित सम्भ्रान्त वर्गसम्म सुनिन्छ, पढिन्छ । स्थानीय तामाङ भाषामा ‘ल्हापसाङकर्पाे’ पुकारिने गणेश हिमाल प्रकृतिपूजक संस्कृतिको एक नमुना हो भने छ्योर्तेनको श्रद्धा त्यस समुदायको अविछिन्न परम्परा हो ।

तामाङ समुदायको दैनिक कामकाज, परम्परा, बिहेबारी सम्बन्ध विस्तार, जन्म–मृत्यु संस्कार, कुनै कार्य थालनीको संस्कार, कार्यसिद्धि र शुभ–अशुभ साइत परम्परा, चराचुरुङ्गी र जनावरहरूसँग मानिसको अन्योन्याश्रित सम्बन्धको शृङ्खला, परिवार र पारिवारिक सम्बन्ध, आस्था र श्रद्धाको परम्परा आदिसँग जोडिएको न्याउलीको कथाले हाम्रो नेपाली समाजमा रहेको गहन मौलिक संस्कृतिलाई कथित उपल्लो वर्गसामु सुनाउने सफल प्रयास गरेको छ रुइबाले ।

झट्ट हेर्दा अविकसित र पुरातन भनेर हल्का टिप्पणी गर्ने वर्गलाई पनि यस उपन्यासले सभ्यताको असली चिनारी के हो भनी प्रश्न गर्ने ल्याकत राखेको छ । हरेक समुदायको आफ्नै मौलिक परम्परा छ, जीवन जिउने शैली छ, उसको रहनसहन छ र संस्कार छ । त्यसैले उसको सभ्यताको चिनारी उसैको संस्कारसँग जोडिएको हुन्छ । मौलिक संस्कारको धनी तामाङ समुदायको मौलिक परम्परा किन सदियौँदेखि सीमान्तकृत भएर रह्यो ? यसभित्र केकस्ता नवीन चेत र मौलिक आस्था रुमलिएका छन् ? यी प्रश्नहरूको खोजी पनि हो रुइबा उपन्यास ।

फेरि उपन्यासले कसैको कथा सुनाउँदैन बरु पात्र स्वयं आफ्नो कथा बोलेर उपन्यासभरि दौडन्छ । न्याउलीको स्थानीय लवज, स्थान, सम्बन्ध, परम्परा र सामाजिक चित्र उतार्न तामाङ भाषाकै मौलिक शब्दहरूको प्रयोगबाट के देखिन्छ भने उपन्यासले दूरदराजमा रहेका जाति समुदायहरूलाई मूलधारको भाषा, शैली र परम्परामाझ आफूलाई त्यतिकै दर्बिलो रूपमा उभ्याउने प्रयास गरेको पाइन्छ ।

उपन्यासको पूर्वाद्र्ध खण्डमा भएको तामाङ संस्कृतिको प्रचुरता र उत्तराद्र्ध खण्डमा गरिएको चिनियाँ संस्कृतिको वर्णन–विश्लेषणले के देखाउँछ भने हामी हाम्रा मौलिक संस्कृतिमा उत्तिकै सफल छौँ जति विकसित भनिएका देशका संस्कृतिहरू छन् । यसरी हेर्दा रुइबा नेपालमा रहेका सीमान्तकृत वर्ग र संस्कृतिको अन्तर्राष्ट्रियकरण गर्नमा सफल रहेको छ भन्न सकिन्छ ।

विकृत नेपाली समाजको चङ्गुलमा रुइबा

रुइबा उपन्यासले उजागर गरेको अर्काे पाटो नितान्त फरक सामाजिक परिवेश पनि हो । पाबाङ, जसले नेपाली ग्रामीण समाजको प्रतिनिधित्व गर्छ र काठमाडौँ; जसले नेपाली सहरिया परिवेश अथवा विकसित समाजको प्रतिनिधित्व गर्छ । उपन्यासमा यी दुई परिवेशलाई राम्ररी चित्रण गर्ने प्रयास गरिएको छ ।

पाबाङको समस्या गरिबी र अभाव हो भने काठमाडौँको समस्या मानवीय मूल्य र मान्यताको ह्रास हो । यही यथार्थ भावलाई उपन्यासमा राम्ररी केलाइएको छ । सोझा गाउँलेको मजबुरीसँग खेल्दै दलालले गाउँ गाउँबाट कसरी तिनीहरूलाई यो कङ्क्रिटको मन भएको सहरमा ल्याउँछन् र कसरी उनीहरूको जीवनमा नसोचेको बज्र पदर्छ भन्ने गहिरो चिन्तन पाबाङबाट काठमाडौँसम्मको न्याउलीको यात्राले गरेको छ । साँच्चै उपन्यासकारले भनेझैँ यो कङ्क्रिटभित्र एउटा मन कता बिलायो कता ।

काखे छोरीसँग आएकी न्याउलीलाई विमला दिदी (साहुनी) ले गरेको व्यवहार, छोरी सिकिस्त हुँदा अस्पताल लाने विषयमा साहुनीको प्रहार, काठमाडौँका मान्छेको एक नारीलाई हेर्ने दृष्टिकोण, पैसाका निम्ति जस्तोसुकै घृणित कार्य गर्न तम्तयार एक समूह र इमानमा रहेर दुःख भोग्न बाध्य न्याउलीका बीचको अनन्त द्वन्द्वले उपन्यासको कथालाई नितान्त कथाभन्दा पनि सहरको विदीर्ण चित्रलाई उजागर गरेको प्रतीत हुन्छ ।

एक इमानदार, सोझी र आत्मसम्मानमा बाँचेकी गाउँले न्याउलीलाई गरिबी, अभाव र विवशता देखाएर कसरी यो कठोर सहरले विक्षिप्त बनाउँछ भन्ने यथार्थ न्याउलीले गोंगबुको होटलमा भोग्नुपरेको शोषणबाटै प्रष्ट हुन्छ । मानिसको पाशविक चरित्रको चित्रण गर्न न्याउलीका यी वाक्यहरूभन्दा बढी अरू कुनै व्याख्या सायद आवश्यक पर्दैन होला–

सहरमा मान्छेहरू चुप लागेपछि कुकुरहरू भुक्न थाल्दा रहेछन् । हुलका हुल कुकुर भुकेपछि भरोसा लाग्यो । कमसेकम साथ दिने कुकुरहरू त थिए । कुकुर भुकुन्जेल कुनै मान्छेको पदचाप र आवाज सुन्नु परेन । (पृष्ठ १२७)

पटकपटक लुटिएकी न्याउली, पटक पटक मरेर बाँचेकी न्याउलीलाई मन्दिरको शरणमा पुग्दा पनि कुनै भगवानले बचाउन सकेन । समाजको पथप्रदर्शक भनिएका नेता भनाउँदाले समेत उसको कलकलाउँदो जीवनसँग सौदाबाजी ग¥यो । न्याउलीलाई अब यो विकृत समाजमाथि नै वितृष्णा पैदा भयो । के सोचेर पाबाङबाट टिमुरेका पछि लागेकी न्याउली छोरी सोममायाको उज्ज्वल भविष्यलाई बन्धकी राखेर आज के गर्न बाध्य भई ? कथाले साँच्चै नै मुर्छित बनाउँछ ।

भनिन्छ, जब मानिसले प्रायः सबै सम्भावनाका ढोकाहरू बन्द भएको अनुभूति गर्छ तब उसले अप्रिय निर्णय लिन्छ । तर यस्तो कारुणिक अवस्था बेहोर्दासम्म पनि न्याउलीले हार मानेकी भने छैन । लागू पदार्थ ओसारपसामा सम्लग्न हुनु उसको कुनै रहर हैन, उसले जानेर त्यो गरेकी पनि हैन । जीवन बाँच्ने सिलसिलामा सोझी ऊ दलालहरूको चङ्गुलमा पर्न गई र परदेशमा जीवनको अन्तिम घडी कुर्न बाध्य भई ।

रुइबाको अर्काे पाटो नेपालबाट लागूपदार्थको ओसारपसार कुन वर्गबाट, कसरी, कहाँबाट हुन्छ भन्ने विषयको रहस्योद्घाटन गर्नु पनि हो । यस विकृत कार्यमा ठूला माछाहरूले साना माछाहरूलाई कसरी जालमा पार्छन् र तस्कर तथा दलालहरूको त्यो जालोमा कसरी निर्दाेष सोझा गाउँहरूले वर्षाैंदेखि बलिको वेदीमा चढिरहनुपरेको छ भन्ने विषयको उठान यस उपन्यासको अर्काे दर्बिलो पक्ष हो ।

पहिले फकाएर नभए थर्काएर भए पनि आफ्नो कार्य सिद्धिमा लगाउने धूर्त, राक्षसी स्वभावका तस्करहरूको जालोमा परेकी न्याउली आफू के गर्दैछु भन्नेसम्म थाहै नपाई आफ्नो अत्यन्त संवेदनशील अङ्ग (योनी) मा लागूपदार्थ बोकेर विदेशी भूमिमा यात्रा गर्न बाध्य बनाइएकी छे । सोही अपराधमा उसको पूर्णजीवन चिनियाँ जेलमा सडेर सकिने लागेको कथा कम अश्रुपूर्ण छैन ।

यहाँ प्रश्न उब्जन्छ, लागूपदार्थ तस्करको यस्ता अमानवीय हर्कतहरूका कारण कति सोझा, इमानदार नेपालीहरूले कहाँ कहाँ आफ्नो जीवन सड्न बाध्य बनाउनुपरेको होला ?

अन्तरदेशीय संस्कृतिको सेतुका रुपमा रुइबा

रुइबा उपन्यासको अर्काे सशक्त पाटो भनेको नजानिँदो किसिमले नेपाली र चिनियाँ संस्कृतिको तुलनात्मक सर्वेक्षण गर्नु पनि हो । कथाको पूर्वाद्र्ध खण्डमा न्याउलीका मुखबाट नेपाली मौलिक कला, परम्परा र संस्कृतिको एक उत्कष्ट चित्र कोरिएको रुइबामा कथाको झन्डै झन्डै उत्तरार्द्ध खण्डमा पुग्दा त्यसरी नै चिनियाँ जीवनशैली, सम्बन्ध, परम्परा र संस्कृतिलाई परोक्ष रूपमा घुसाएर उपन्यासकारले उपन्यासलाई अन्तरदेशीय संस्कृतिको सेतुको रूपमा उभ्याउन पनि सफल भएका छन् ।

न्याउली जो चिनियाँ जेलमा पुगेपछि ‘स्याउन्याओ’ भएकी छे; ऊसँगै जेलमा आइरहने र छुटिरहने कैदीहरूका स–साना उपकथाहरूबाट चिनियाँ जीवनशैली, कानुन, सामाजिक परम्परा आदिको शाब्दिक दृश्यावलोकन गर्न यस उपन्यासले सहजता प्रदान गरेको प्रतीत हुन्छ ।

चीनका विशेष दिवसहरू, विभिन्न चाडपर्वहरू र चिनियाँ लवजमा प्रयोग भएका नेपाली वर्णयुक्त चिनियाँ शब्दहरूको प्रयोगले कताकता उपन्यासकारले नेपाली मौलिक तामाङ संस्कृतिसँग झन्डैझन्डै निकटस्थ रहेको चिनियाँ संस्कृति–परम्पराको नजानिँदो उत्खनन गरिरहेका त छैनन् ? यो आम पाठकका लागि प्रश्न र अध्ययनको विषय हुनसक्छ ।

चिनियाँ पर्व ‘चुङ छ्यो च्ये’लाई साङ्केतिक रूपमा कथामा प्रयोग गर्दै र विभिन्न खानाका परिकार र क्रियाकलापहरूलाई न्याउलीका अधीनमा जोड्दै उपन्यासकारले सम्भावित पुनर्मिलनको अपेक्षा पनि गरेका हुन् कि ? ‘युए पिङ’ खाँदै चन्द्रमालाई एकोहोरो हेरिरहँदा आफूले भेट्न चाहेको, चिताएको व्यक्तिलाई त्यहाँ देखिन्छ भन्ने विश्वासमा चिनियाँहरूले चन्द्रमालाई हेर्नु र ल्हापसाङकर्पाेलाई भाकल गरेर मनोकाङ्क्षा पूरा हुने विश्वास गर्ने पाबाङबासी बीचमा कतै नजानिँदो सम्बन्ध त छैन ? प्रश्न रहस्यकै गर्भमा छ ।

भूगोल र भाषाले फरक बनाए पनि सांस्कृतिक सामीप्यताको कसीमा दुवै समाजका बीचमा समानान्तर तर अन्योन्याश्रित सम्बन्धको सेतु यस उपन्यासले जन्माएको प्रतीत हुन्छ । पाठकले न्याउलीका विषयमा भएको अदालती प्रक्रिया, जेलर र अन्य कर्मचारीहरूसँगको सम्बन्ध, कैदीबन्दीहरूबीचका विभिन्न उठबसहरू र बेलाबखत आइरहने सामाजिक–सांस्कृतिक पर्व र भेटघाटहरूमा रुमलिँदै त्यहाँको न्यानो हार्दिकता महसुस गर्दछ ।

चीनजस्तो आर्थिक, प्रशासनिक एवं राजनीतिक रूपले अब्बल देशको सांस्कृतिक पक्षलाई नजानिँदो किसिमले नेपालको त्यो पनि एक सीमान्तकृत समुदाय विशेषको संस्कृतिसँग समानान्तर दृष्टि दिएर उपन्यासकारले नेपाली मौलिक संस्कृति विश्वको एक पृथक् पहिचान बोकेको अब्बल संस्कृति हो र यस्ता परम्परा नेपाली माटोका अब्बल गहना हुन्, जो यत्रतत्र छरिएका छन्; जसलाई खोजी गरेर विश्वसामु पस्कनुपर्ने आवश्यकताको उजागर गरेका छन् आफ्नो उपन्यास मार्फत ।

निष्कर्ष

यसरी हेर्दा उपन्यासकार चेतनाथ आचार्यको रुइबा बहुपठन गर्न सकिने वर्तमान समयको एक अब्बल कृति हो भन्दा अत्युक्ति नहोला । न्याउलीको वेदनामा बगिरहेका पाठक भने उपन्यासकारसँग उपन्यासको अन्त्य हुँदा पक्कै केही रुष्ट नै हुन्छन् किनकि पाठकले न्याउलीका हरेक हन्डरहरूको अवश्यम्भावी समाधान चाहेका हुन्छन् । तर उपन्यासको अन्त्य न्याउलीलाई त्यो महाविपत्तिमा छोडेर ‘मैले गरेर नहुने रहेछ’को अवस्थामा लेखकले उपन्यासको लगभग बिट मारेका छन् ।

हुन त उपन्यासको अन्त्यमा न्याउलीलाई उद्धार गरिएको भए त्यो कथा पक्कै पनि यान्त्रिक हुने थियो । एउटा लेखक, पत्रकारको पहुँचभन्दा बाहिरको विषय हुन्थ्यो त्यो । तर पाठकले पक्कै अपेक्षा गर्छ नै । कथाभरि रोइसकेपछि कतै न कतै हाँस्ने ठाउँ खोज्छ पाठकले । तर सबै कुरा खुसीमा मात्र टुङ्गिन्छ भन्ने पनि हुँदैन । आखिर यथार्थ त न्याउलीले भोगिरहेको समय न हो ।

पक्कै पनि कथाकै रूपमा भए पनि रुइबाले एक गम्भीर विषयको उठान गरेको छ । एक निर्दाेषले जीवन बलि दिइरहँदा ती तस्करहरू; जसले त्यो अवस्थाको सिर्जना गरे, तिनीहरूलाई नेपालको राज्य प्रणालीले कुनै खोजी नगर्नु, अझ त्योभन्दा बढी निर्दाेष न्याउलीका बारेमा सिङ्गो राज्य बेखबर हुनुले राज्यको नागरिकप्रतिको दायित्वमा प्रश्न त पक्कै उठाउँछ ।

न्याउली एक प्रतिनिधि पात्र मात्र हुन्, त्यस्तै कयौँ न्याउलीहरू अरबमा, युरोपमा या विश्वका कति ठाउँमा जिउँदो लास बाँचिरहेका होलान् । यो एक गम्भीर बहस र खोजको विषय हुन सक्छ ।

भारी मन बोकेर न्याउलीसँग छुटिरहँदा उपन्यासकारले साङ्केतिक रूपमा न्याउलीको जिउँदो लास बनेको शरीर जिउँदै फर्काउन नसकिने कुराको आँकलन गरेर कम्तीमा उसको रुई (जेल जीवनपछिको अवस्था)लाई माइती देश नेपालले ल्याएमा मात्र उसको आत्माले मुक्ति पाउने सङ्केत गरेका त छैनन् ? कतै यस उपन्यासको शीर्षकले तामाङ संस्कृतिको पृष्ठभूमिबाट माथि उठेर पराइ देशमा भएकी चेलीको रुई पर्खिरहेको हाम्रै देशको करुण चित्रलाई त देखाइरहेको छैन ?

विषय रहस्यको गर्भमा नै रहनेछ जब रुइबाले अर्काे ‘सिक्वेल’ पाउँदैन र आख्यानकार चेतना आचार्य यस कार्यका लागि अब्बल छन् भन्ने मेरो ठम्याइ पनि हो ।

(ज्ञानु विद्रोही नेपाल संस्कृत विश्वविद्यालयका अङ्ग्रेजी विषयका उपप्राध्यापक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप