चितवन काँग्रेसको नेतृत्वका लागि ५ जनाको दावी
नेपाल काँग्रेस चितवनको जिल्ला अधिवेशन बिहीबारदेखि सुरु हुँदैछ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुन लागेको अधिवेशनका लागि नारायणगढस्थित नारायणी कला मन्दिरमा अधिवेशन स्थल तयार पारिएको छ । विविध कारणले पटक–पटक तोकिँदै र रोकिँदै आएको अधिवेशन निश्चित भएसँगै नयाँ नेतृत्व चयनका लागि कसरत बढेको छ । अधिवेशनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ भने तीन क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्य पनि छान्ने तयारी रहेको छ ।
अधिवेशन उद्घाटन सत्र सामान्य हुने नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।
यस्तो छ निर्वाचन कार्यतालिका
अधिवेशन अन्तर्गत आज बिहिबार बिहानबाट निर्वाचन प्रक्रिया प्रारम्भ भएका निर्वाचन अधिकृत ज्ञानेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । निर्वाचन तालिका अनुसार बिहीबार बिहान ७ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै मतदाता नामावली प्रकाशन लगत्तै बिहान ८ देखि दिउँसो १ बजेसम्म उम्मेदवार मनोनयन दर्ताको कार्यक्रम संचालन हुने उनले बताए ।
त्यस्तै दिउँसो १ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिने र २ बजेसम्म मनोनयन उपर दावी विरोधको कार्यक्रम रहको अधिकारीले बताए ।
दावी विरोध पश्चात उम्मेदवारहरूको दोस्रो नामावली प्रकाशन हुने र त्यसपछि ३ः३० बजेसम्म उम्मेदवारी फिर्ताको समय निर्धारण गरिएको छ । उम्मेदवारी फिर्ताको कार्यक्रम सम्पन्न भएपछि दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने अधिकारीले बताए ।
काँग्रेस चितवनको नयाँ नेतृत्व चयनका लागि भोलि शुक्रबार बिहान ९ बजेदेखि मतदान प्रक्रिया अघि बढ्ने निर्वाचन अधिकृत अधिकारीले बताए । मतदान अपरान्ह ५ बजेसम्म मतदान संचालन हुने उनले बताए ।
मतदान सकिएलगत्तै आवश्यक प्रक्रिया पुरा गरेर मतगणना गरिने उनको भनाई छ । शुक्रबारको मतदानमा नेपाली काँग्रेस चितवनका विभिन्न वडाका वडा सभापति, प्रतिनिधिसभा र प्रदेशसभाका सभापति एवम् प्रतिनिधि र बुथ प्रतिनिधि गरेर २ हजार ९०६ मतदाता सहभागि हुनेछन् ।
काँग्रेस चितवनको नेतृत्वका लागि ५ जनाको दावी
नेपाली काँग्रेस चितवनको नयाँ नेतृत्वका लागि पाँच जनाले दावी पेश गरेका छन् । उनीहरु उम्मेदवारी घोषणा लगायतका कार्यक्रम संचालन तथा आफ्नो पक्षमा नतिजा पार्न मतदाता भेटघाटमा सक्रिय रहेका छन् ।
काँग्रेस चितवनको नेतृत्व सर्वसम्मत रुपमा चयनका लागि बुधबार राति अबेरसम्म भएको छलफल निष्कर्षमा पुग्न नसक्दा निर्वाचनमा जाने निश्चित भएको छ ।
काँग्रेस चितवनको नेतृत्वको लागि संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा पक्षबाट सभापति लागि एक मात्र उम्मेदवार निर्धारण भइसकेको छ भने संस्थापन इतर पक्षमा ४ जना उम्मेदवार देखिएका छन् ।
चितवन काँग्रेसको नेतृत्वको लागि हालका बागमती प्रदेशका उद्योग तथा वाणिज्य मन्त्री मिलनबाबु श्रेष्ठ संस्थापन पक्षका उम्मेदवार बन्ने निश्चित भएको छ भने संस्थापन इतरले साझा उम्मेदवार चयन गर्न सकेको छैन ।
संस्थापन इतर समूहबाट हालका जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, राजेश्वर खनाल र डा.सूर्यकान्त घिमिरे उम्मेदवार हुने देखिएको छ । घिमिरे नेविसंघका पूर्व जिल्ला सभापति एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्ट्रार हुन् ।
यस अघि काँग्रेस चितवनको सभापति पदमा आकांक्षा व्यक्त गरेका विजय भुषाल भने उम्मेदवारीबाट पछि हटेका छन् । काँग्रेसको विधान अनुसार सभापति पदमा निर्वाचित हुन लागि कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउनु पर्ने हुन्छ । निर्वाचनमा रहेका उम्मेदवारहरूले ५१ प्रतिशत मत ल्याउन नसके खण्डमा सबैभन्दा बढी मत ल्याउने दुई जना उम्मेदवार बीच दोस्रो चरणमा पुनः मतदान गर्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचन : हेटौँडा–१२ का उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त
-
स्थानीय तहको उपनिर्वाचन : कर्णालीमा महाबु गाउँपालिकाको अध्यक्ष पदमा दलहरूको चासो
-
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
-
आमा-छोराको हत्या गरी फरार अभियुक्त ४ वर्षपछि पक्राउ
-
सुदूरपश्चिम भ्रमणको तयारीमा पूर्वराजा शाह
-
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै