बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरका स्थानीय जनप्रतिनिधिः ५ वर्षे कार्यकाल उत्पादनमुखी योजनाविहीन

सडक, पुल निर्माण मात्रै विकास भएको बुझाई
बिहीबार, १९ फागुन २०७८, ०९ : ००
बिहीबार, १९ फागुन २०७८

दश वटा स्थानीय तह रहेको छ, मकवानपुरमा । औसत रुपमा मकवानपुरका गाउँपालिकाले समेत करिव अर्बको हाराहारीमा हरेक वर्ष बजेट पारित गर्ने गरेका छन् । तर कुनै पनि स्थानीय तहले यो ५ वर्षको अवधिमा जनतालाई उत्पादनसँग जोड्ने कुनै खास योजना प्रस्तुत गर्न सकेनन् । अधिकांश स्थानीय तहमा कम्यूनिष्ट पार्टीको नेतृत्व रहेको मकवानपुरे जनप्रतिनिधिहरुले उत्पादनलाई भन्दा बढी जोड सडक, पुल निर्माणमा दिँदा जनताको आर्थिक उन्नतिको मूल विषय पछि पर्यो ।

चालु आर्थिक वर्षमा मात्र मकवानपुरको विकट कैलाश गाउँपालिकाले ५३ करोड ६६ लाख रुपैयाँको बजेट ल्यायो तर सो बजेटमा विकास निर्माणका योजनाले नै प्राथमिकता पायो । कृषि क्षेत्रको विकासमा विषयले केही स्थान पाएपनि उत्पादन क्षेत्रलाई बजेटले सम्बोधन गरेन ।

हरेक वर्ष भोकमरीको चपेटामा पर्ने गरेको मकवानपुरको कर्णालीको रुपमा परिचित गाउँपालिका हो राक्सिराङ । चालु आर्थिक वर्षमा त्यस गाउँपलिकाले ५४ करोड ७३ लाख रुपैयाँको बजेट पारित गर्यो । चेपाङ समुदायको बाहुल्यता रहेको सो गाउँपालिकाको बजेट पनि विकास निर्माणमा मात्र सीमित रह्यो । उत्पादन र उत्पादनमुखी क्षेत्रलाई सो बजेटले पनि छुन सकेन ।

बागमती प्रदेशकै एक मात्र उपमहानगरपालिका हेटौंडाको बजेट करिव ३ अर्वको हाराहारीमा रहेको छ । शहरी परिवेशमा विकास भइरहेको हेटौंडाले पनि उत्पादनमुखी योजनाहरु बजेटमार्फत् प्रस्तुत गर्न सकेको छैन । ५ वर्षको अवधिमा करिव १० अर्व भन्दा बढी बजेट ल्यायो हेटौंडा उपमहानगरपालिकाले । उसले उत्पादनमुखी उद्योग तथा व्यवसाय सञ्चालन गरी आर्थिक उपार्जनमा जनतालाई जोड्न सक्ने आधारहरु थिए । तर, हरेक वर्षका बजेट विकास निर्माणमै केन्द्रीत भए ।

कृषि तथा पर्यटनको महत्वपूर्ण सम्भावना बोकेको थाहा नगरपालिकाले पनि विगत ५ वर्षमा उत्पादनका क्षेत्रमा खासै काम गर्न सकेन । चालु आर्थिक वर्षमा करिव अर्वको बजेट ल्याएको यस नगरपालिकाले पनि जनतालाई उत्पादनसँग जोड्ने योजना प्रस्तुत गर्ने सकेन ।

यता पर्सा र चितवन राष्ट्रिय निकुञ्जसँग सिमाना जोडिएको मनहरी गाउँपालिका पनि उत्पादनको हिसावले महत्वपूर्ण रहेको छ । चालु आर्थिक वर्षमा करिव ८३ करोड ६७ लाखको बजेट ल्याएको मनहरीले पनि उत्पादनमुखी उद्योग, कृषि तथा पर्यटनका सम्भावनाहरुलाई छाँयामा पारेको देखिन्छ ।

मकवानपुरको पर्यटन र कृषिको अर्को महत्वपूर्ण सम्भावना बोकेको पालिका हो इन्द्रसरोवर गाउँपालिका । यो पालिकाको बजेट पनि पर्यटन प्रवद्र्धनसँगै कृषि उत्पादनका क्षेत्रमा फितलो सावित भएको छ । चालु आर्थिक वर्षको ३८ करोड ४१ लाख रुपैयाँको बजेटमा पनि उत्पादनका क्षेत्र खासै समेटिएको देखिदैन ।

चालु आर्थिक वर्षमा ६५ करोड ४१ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको भीमफेदी गाउँपालिकाले पनि उत्पादनका क्षेत्रमा काम गन सकेको छैन । चालु आर्थिक वर्षमा ५३ करोड ६६ लाख रुपैयाँ बजेट रहेको बागमती गाउँपालिका, ६२ करोड ८३ लाख रुपैयाँ बजेट रहेको बकैया गाउँपालिका र ६२ करोड ९२ लाख रुपैयाँ बजेट रहेको मकवानपुरगढी गाउँपालिका पनि उत्पादनका क्षेत्रमा काम गर्न सकेनन् ।

चालु आर्थिक वर्षमा मात्र कुल ८ अर्ब २३ करोड ४२ लाख रुपैया बजेट ल्याएका मकवानपुरका स्थानीय तहले जनतालाई उत्पादनसँग जोड्ने योजना ल्याउन सकेनन् ।

पूर्वधार निर्माण नै विकास भन्ने अवधारणाः विज्ञ

स्थानीय तहका जनप्रतिनिधिको मानसिकतामा सडक, पुल, भवन निर्माण विकास हो भन्ने अवधारणा परेको कारण उत्पादनका योजनाहरु छुट्ने गरेको विज्ञहरुको भनाई छ ।  जनप्रतिनिधिहरुले निर्वाहमुखी कृषि उत्पादनमा केन्द्रीत बजेट ल्याउँदा विगत ५ वर्षको समयमा उत्पादनमुखी अर्थतन्त्रको क्षेत्र ओझेलमा परेको प्रदेश योजना आयोगका एक सदस्य बताउँछन् । योजना तर्जुमाका लागि भएका विभिन्न चरणका छलफल, गोष्ठीमा उठेका विषयहरु पनि जनप्रतिनिधिहरुले बजेटमा समावेश नगर्दा जनतालाई उत्पादनसँग जोड्न नसकिएको उनको भनाई छ ।

हाम्रा जनप्रतिनिधिको ५ वर्ष सडक खन्नमा केन्द्रीत हुँदा उत्पादनको विषय पछि परेको उनले बताए । उत्पादनका क्षेत्रको ज्ञान र अर्थ विज्ञहरुको अभावका कारण पनि मकवानपुरका स्थानीय तह उत्पादनमुखी कृषि व्यवसाय र उद्योग स्थापनामा चुकेका देखिन्छ । स्थानीय तहले उत्पादनको विषयलाई अनुदानबाट समेट्ने प्रयास भने गरेका छन्

विभिन्न साना कृषि पकेट क्षेत्र निर्माण गरेर होस् वा रैथाने बाली संरक्षण तथा व्यवसायिक कृषिका बहानामा होस्, उत्पादनका क्षेत्रमा स्थानीय तहहरु प्रवेश गर्ने प्रयासमा रहेको भने देखिन्छ ।

उत्पादनको क्षेत्रमा प्रयास

भौगोलिक विकटताका कारण पनि उत्पादनका क्षेत्रमा सोचेअनुरुप काम गर्न नसकेको मकवानपुरका स्थानीय तहका जनप्रतिनिधिहरुको भनाई छ । उत्पादनका योजनाहरु हुँदा पनि भौतिक पूर्वाधारका कारण ती योजना कार्यान्वयनमा लैजान समस्या भएको उनीहरुको जिकिर छ ।

पालिकाहरुले कृषि उत्पादनलाई बढावा दिन विभिन्न रुपमा अनुदानका कार्यक्रम अघि सारेको मकवानपुरगढी गाउँपालिकाका प्रमुख विदुर हुमागाईले रातोपाटीलाई बताए । सहकारीलगायत विभिन्न माध्यमबाट उत्पादनलाई जनतासम्म जोड्ने योजना प्रस्तुत गरेको उनको भनाई छ । मकवानपुर र मकवानपुरगढी भौगोलिक रुपमा विकट रहेकाले पर्याप्त रुपमा उत्पादनका योजना ल्याउन नसकेको उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप