अर्थ–विश्लेषण

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

person explore access_timeफागुन १९, २०७८ chat_bubble_outline0

अहिले भइरहेको रुस र युक्रेनको युद्धले हामीजस्तो आयातमुलक अर्थतन्त्र भएको मुलुकमा ठूलै असर पर्ने देखिन्छ । हाम्रो सबैभन्दा ठूलो आयात हुने वस्तु भनेको पेट्रोलियम पदार्थ हो । हाम्रो मुलुकमा पेट्रोलियम पदार्थको आयात बढी देखिन्छ । त्यसको मूल्य अब स्वतः बढेर जाने देखिन्छ । क्रमशः बढ्दै गएको पनि छ ।


यसका साथै खाने तेलमा पनि युद्धको असर ठूलो मात्रामा आउने देखिन्छ । किनभने, युक्रेन एउटा यस्तो देश हो, जसले सूर्यमुखी तेलको ८० प्रतिशत कच्चा पदार्थ उत्पादन गर्दछ । तोरी तेलको कच्चा पदार्थ उत्पादन गर्ने देशमा पनि युक्रेन सबैभन्दा ठूलो देशमा पर्छ । युक्रेन भनेको कृषि उत्पादक देश हो । 



अहिले सूर्यमुखी र तोरी तेलको मूल्य पनि बढिरहेको देखिएको छ । सूर्यमुखीको विकल्प भटमासको तेल हुन सक्छ । भटमासको मूल्य पनि अन्तराष्ट्रिय बजारमा साढे १८ सय डलर प्रतिटन मूल्य पुगेको छ । त्यो भनेको अहिलेको कल्पनाभन्दा बाहिरको कुरा हो । त्यो कारणले आजको दिनमा पाम तेल पनि लगभग सोयाविन तेलकै हाराहारी साढे १८ सय डलर छेउछाउ कै मूल्यमा छ ।



विगतको डाटालाई पनि हेर्ने हो भने वीरगञ्ज भन्सारबाट मात्रै युक्रेन वरिजिनको माल नेपालमा करिब ६ अर्ब रुपैयाँको आएको देखिन्छ । त्यो पनि ठूलो आयात हो । युद्धको कारणले गर्दा अब युक्रेनबाट आउने सामान अर्को ७/८ महिना आउन नसक्ने अवस्था छ । किनभने ती बाटाघाटा बनाउनु पर्‍यो, सिपोर्टलाई जोडिएका सञ्चार, लजिष्टीकका कुरालाई मिलाउनुपर्ने अवस्था छ । त्यसले पनि मूल्य बढ्छ ।

अर्को कुरा, मैले हिजोमात्रै रिपोर्ट हेरिरहेको थिएँ । अब जौको मूल्य पनि बढ्छ । रसिया र युक्रेन सबैभन्दा धेरै जौ उत्पादन गर्ने देश हो । रसियामा मात्रै लगभग १८ करोड टन जौ उत्पादन हुन्छ । युक्रेनमा पनि लगभग करिब ८०/९० लाख टन जौ उत्पादन हुन्छ । यसको प्रभाव विश्वभरि हुन्छ । अब खनिज पदार्थ कोइलामा पनि अचाक्ली मूल्य बढ्छ । यसले गर्दा सबै सामानमा भाउ बढ्छ । सँगसँगै ग्यास, अरु खनिज पदार्थ जिङ्क, सुनचाँदी वा धातुयुक्त वस्तुको भाउ पनि महंगो हुने देखिन्छ । 

कोभिडको महामारीपछिको असरले मात्रै विश्वमा २० देखि २५ प्रतिशत मूल्यवृद्धि भएको थियो । त्यो भनेको धेरै ठूलो हो । त्यसमा कोरोनाको प्रभाव भनौं वा लकडाउन वा समयमा जहाज नपाउनु जस्ता कुराले हो । त्यसले २५ प्रतिशतसम्म मार्केटलाई मूल्य बढाएको थियो भने अहिलेको युद्धले पनि त्यही किसिमको अवस्था ल्याउँछ कि जस्तो मलाई लाग्छ । किनभने, आपूर्ति त चाहियो । पेट्रोलियम पदार्थको होस्, खाने तेल होस वा गहुँ पनि महँगो हुने देखिन्छ । गहुँपनि रुस र युक्रेन ठूलो निर्यात गर्ने देश हुन् । गहुँ त हाम्रो दिनचर्याको कुरा हो । ब्रेड, रोटीलगायत दैनिक जीवनसँग जोडिएका विषय हुन् ।

नेपालको भान्सामा असर

खाने तेलको असर ठूलो छ । त्यसले गर्दा मूल्य बढेर जान्छ, अझै बढ्छ । अर्को कुरा के आइरहेको छ भने युक्रेनबाट लोड हुने जति पनि सूर्यमुखी तेल वा तोरी होस् । फोर्स मेजरमा सेलरको हातभन्दा बाहिरको अवस्था सिर्जना भयो भने कन्ट्र्याक जिरोजिरो अवस्थामा टुट्न सक्न । युद्धको कुरा छन् अरु फोर्स मेजरहरू छन् । सरकारले लगाएका नीति नियमहरू छन् । अचाक्ली निर्यातमा प्रतिबन्ध लगाइदियो, ड्युटी बढाइदियो, युद्ध भयो भने यो अवस्थामा फोर्स मेजर आउँछ ।

फेब्रुवरीमा मात्रै नेपालको १८ हजार टनको जहाजबाट हुने ढुवानी क्यान्सिल भइसकेको अवस्था छ । मार्चको जहाज पनि क्यान्सिल भएको छ । यसकारणले भोलीका दिनमा हामीलाई ठूलो अभाव आउने देखिँदैछ । हामीसँग स्टक पनि थिएन । अन्तराष्ट्रिय बजारमा मूल्य बढ्दै जाँदा किन्न सक्ने हाम्रो क्षमता पनि कम हुँदै गएको अवस्था छ । त्यो कारणले र युद्धको वितण्डाले गर्दा आजको मूल्यमा ल्याएर यहाँको स्थानीय बजारले पनि सपोर्ट गर्दैन । हामीले जुन निर्यात गर्दै थियौं त्यसले पनि सपोर्ट गर्दैन जसको कारण खानेतेल तथा कोइला लगायतमा ठूलो असर गर्ने देखिन्छ । 

नेपालका तेलजन्य उद्योगलाई असर

तेल उद्योगहरूमा यसको ठूलो प्रभाव आउला जस्तो लाग्छ । मूल्य जुन लेबलबाट बढ्दै गएको छ, हामीले कच्चा पदार्थ किन्नै नसक्ने अवस्था छ । त्यो मूल्यमा किन्दा लोकल मार्केटले सपोर्ट गर्नसक्ने अवस्था छैन । युद्धभन्दा पहिले १५ देखि १६ सय डलर कच्चा पदार्थ बढेर अहिले साढे १८ सय भन्दामाथि गएको अवस्था छ । त्यो मूल्यको माल ल्याएर बजारमा बेच्न सक्ने अवस्था छैन । १५/१६ सय डलरको माल नै बेच्न सक्ने अवस्था थिएन ।

हाम्रो स्थानीय मार्केट भनेको २३ सय साढे २३ सय रुपैयाँ प्रति कार्टुन भन्दा माथि छैन । त्यो माल ल्याउँदा २७ सय भन्दा माथि पर्न सक्ने अवस्था छ । त्योबेला पनि किन्न सक्ने अवस्था थिएन । हामीसँग मोटामोटी एक महिना डेढ महिनाभन्दा बढी धान्ने कच्चा पदार्थ छैन । यसले तेलमा धेरै ठूलो समस्या ल्याउने देखिन्छ । 

अबको विकल्प के त ?

युक्रेनबाहेक अन्य मुलुकबाट सूर्यमुखीको आयात सम्भव नै छैन । किनभने विश्वमा ८० प्रतिशत सूर्यमुखी तेलको कच्चा पदार्थ निर्यात गर्ने देश युक्रेन हो । भारत लगायत अन्य मुलुकमा २० प्रतिशत उत्पादन हुन्छ । तोरीको हकमा अलिकति अष्ट्रेलिया र क्यानडा छन् । भारत आफैंमा महँगो छ । तोरीको तेलमा विश्व बजारको मूल्यलाई कन्ट्रोल गर्ने भनेको युक्रेन नै हो ।

युक्रेनको उत्पादनको परिणाममा अरू देशमा कच्चा पदार्थ उत्पादन भएन भने अरु मार्केटमा अभाव देखिन्छ । मुख्य देशसँग नै माल उत्पादन हुने अवस्था भएन भने अरु देशले त्यो तत्काल दिन सक्ने कुरै भएन । जसका कारण बजारमा मूल्यवृद्धि हुने मात्रै होइन कच्चा पदार्थको अभाव उच्च हुन्छ ।  

नेपालले आन्तरिक उत्पादनमा जोड गर्नुपर्छ

हामीले कृषिसँग सम्बन्धीत कुरालाई बढाउनका लागि तेलहन बालीहरू बढाउनुपर्छ भन्ने चर्चा र माग निजी क्षेत्रले गरिरहेको छ । तोरी आजभन्दा २५/३० वर्षअगाडि आफैं उत्पादन गर्ने र आफैं खपत गर्ने अवस्थामा हामी थियौं । विस्तारै विस्तारै तोरीको खेती र उत्पादन घट्दै गयो । अनि हामी बाहिरी देशमा निर्भर भयौं । त्यस्तै सूर्यमुखी, भटमास पनि हाम्रो देशको पश्चिममा धेरै उत्पादन हुन्थ्यो । भटमासलाई सरकारले नै तेलहनबालीमा राखेन । गेडागुडीमा राखेपछि तेल निकाल्ने कुरा भएन । तरकारी वा गेडागुडीको रुपमा खाने मात्रै भयो । तेलहनमा राखेको भए उत्पादन बढ्थ्यो । राज्यले पनि त्यो अग्रसरता लिनुपर्थ्यो । भटमास हाम्रो देशमा राम्रो उत्पादन हुनसक्थ्यो ।

भारतमा पनि ठूलो मात्रामा १२० लाख टन भटमास उत्पादन हुन्छ । अमेरिका र ब्राजिलमा पनि उत्पादन हुन्छ । त्यो कुरा आज तत्कालै नेपालमा हुने कुरा त होइन । यसकारण पनि तत्काल चाहिँ संकट नै देखिन्छ । त्यसलाई समाधान गर्नका लागि ड्युटीलाई घटाउने हो कि ? अन्तराष्ट्रिय बजार जुन हिसावले मूल्य बढिरहेको छ, त्यसमा अहिले हामीसँग तत्कालै रोक्न सक्ने क्षमता छैन ।

तेल बजार मनिटरिङ गर्ने भनेको सिकागोको सि पोर्टबाट हो । त्यो सिपोर्टको आजको अवस्था भनेको ७७ ब्यारेल्सभन्दा माथि हामीले देखिरहेका छौं । २ दिन अगाडि मात्रै ७४ थियो । यसलाई पर्खेर हेर्नु भन्दा अर्को विकल्प हामीसँग छैन । 

जुन तरिकाको मूल्यलाई स्थानीय बजारले सपोर्ट गर्नुपर्‍यो । कि भारतले कभर गर्नुपर्‍यो । उसलाई पनि आयातमा भर छैन । सूर्यमुखी त भारतले पनि कभर गर्न सक्दैन । विकल्प त मानिसले खोज्छ । खानेतेल भटमास, सनफ्यावर, तोरी तेल वा बदामको तेल हो । बदामको धेरै उत्पादन छैन । सूर्यमुखी र तोरी तेलको उपभोगमा भने संकट आउने देखिन्छ ।

हाम्रो कृषिमा उदासीनता अहिले पनि छ ।  अब राज्यले कृषि उत्पादनलाई अनुदान वा सहुलियत दिनु पर्‍यो । बालिनालीको बिमाको कुरा, औषधोपचार, मल, बिउ समयमै पाउने अवस्था सिर्जना गरेर आन्तरिक उत्पादन बढाउनु पर्छ ।

तेलको कालोबजारी हो त ?

कतिपय सञ्चार माध्यममा युक्रेनको युद्धको बहानामा तेलको मूल्य बढायो भन्ने आएको छ । तर, तथ्यांकलाई हेरेर मात्रै कुरा गर्नुपर्‍यो । कोभिड अगाडि सोयाविन तेलको मूल्य ८ सयदेखि साढे ८ सय डलर थियो । पाम तेल ६ सयदेखि साढे ६ सय हाराहारीमा थियो । सनफ्लावर ९ सय साढे ९ सय डलरको थियो । कोभिड लागेपछि संसार ६ महिना बन्द भयो । त्योबेला तेल उत्पादन भएन । जहाजहरू चलेनन् । मूल्य बढेर १ हजार डलरको सेराफेरोमा पुग्यो । त्यसपछि पुनः बढ्दै १३ सय डलरसम्म पुग्यो ।

गत वर्ष सनफ्लावर १५ सय, सोयाविन १४ सय, पाम ११ सयसम्म पुग्यो । त्यो मूल्य आजको मूल्य साढे १९ सय डलर त सोयाविनको मात्रै छ । मूल्य तीन गुणाले बढ्यो । वास्तवमा हेर्ने हो भने यहाँका उद्योगीले त्यो हिसावले मूल्य बढाएका छैनन् । जस्तैः भटमासको तेल साढे २१ सय प्रतिकार्टुन हो । आज त्यो मूल्य २२ सय २३ सय छ । अहिले युक्रेन युद्धपछि १५० सम्म बढेको देखिन्छ । कच्चा पदार्थको मूल्य तीन गुणा बढेको छ । तर, हाम्रो उद्योगले सो अनुसार मूल्य बढाएको छैन ।

पाम तेल इन्डोनेसियाबाट आयात हुन्छ । इन्डोनेसियाले नयाँ सर्कुलर लगाएर २० प्रतिशत स्थानीय बजारमा विक्री गर्नुपर्ने र ३० प्रतिशत बायोडिजलमा विक्री गर्नुपर्ने नियम बनाएको छ । त्यसले गर्दा ५० प्रतिशत उनीहरूले नै खपत गर्ने हुँदा यसको मूल्य पनि अटोमेटिक बढेको छ । 

(बोहरा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा च्वाइस सनफ्लावर तेल उत्पादक कम्पनी बोहरा ग्रुपका डाइरेक्टर हुन् । उनीसँग रातोपाटीकर्मी अर्जुन आचार्यले कुराकानीका आधारमा यो सामग्री तयार पारेका हुन्)

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।