शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकारहरुको तलव २५ प्रतिशतले वृद्धि गर्न सरकारसमक्ष सिफारिस

बुधबार, १८ फागुन २०७८, १८ : ५१
बुधबार, १८ फागुन २०७८

न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारहरुको आधारभूत तलव २५ प्रतिशतले वृद्धि गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।  समितिले बुधवार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ‘श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस–२०७८’ प्रतिवेदन पेश गर्दै श्रमजीवीको तलव २५ प्रतिशतले वृद्धि गर्न सिफारिस गरेको हो । 

प्रतिवेदन पेश गर्दै समितिका अध्यक्ष राजेन्द्र अर्यालले श्रमजिवीहरुको आधारभूत आवश्यकता, बजारको अवस्था, मौद्रिकमा आएको उतारचढाव र अन्य क्षेत्रमा कार्यरत श्रमजिवीहरुको आधारमा २५ प्रतिशतले तलव वृद्धिको सिफारिस गरिएको बताए । उनले समितिको कार्यक्षेत्र बढाई पारिश्रमिक निर्धारण तथा अनुगमन बोर्ड बनाउन पनि सिफारिस गरिएको बताए । 

यस्तै, ऐन, नियमावली कार्यान्वयन नगर्ने सञ्चार प्रतिष्ठानलाई राज्यले दिने सेवा सुविधामा रोक लगाउन, छुट्टै प्रेस रजिष्टारको व्यवस्था गर्न, प्रत्येक सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकार ऐन नियमावली अनुसार कल्याणकारी कोषको स्थापना गर्न र कोभिड प्रभावित पत्रकार, कर्मचारी÷कामदारलाई विशेष राहत प्याकेज घोषणा गरी कार्यान्वयन गर्न सिफारिस गरिएको अध्यक्ष अर्यालले जानकारी दिए ।

प्रतिवेदन बुझ्दै मन्त्री कार्कीले समितिको सिफारिस कार्यान्वयनका लागि छलफल गर्ने बताए । उनले पत्रकारहरुलाई उत्साहका साथ काम गर्ने अवसर दिलाउन राज्य सचेत रहेको बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा राज्यले उदासिनता देखाएको भन्दै ऐन सम्पूर्ण रुपले कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप