शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक फागुन २९ गते बस्ने

बुधबार, १८ फागुन २०७८, १८ : १६
बुधबार, १८ फागुन २०७८

बागमती प्रदेशसभा बैठक फागुन २९ गतेका लागि आह्वान गरिएको छ । करिव साढे दुई महिनादेखि बस्न नसकेको प्रदेशसभाको बैठक पुनः आह्वान गरिएको हो । प्रदेशसभा सचिवालयले बुधबार दिउँसो एक सूचना जारी गर्दै फागुन २९ गतेका लागि बैठक आह्वान गरेको हो । बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि स्थगित भएको जनाएको थियो । सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तरको अवरोधका कारण गत पुस ८ गतेदेखि प्रदेशसभाको बैठक बस्न सकेको छैन । गत फागुन १६ गतेका लागि आह्वान गरिएको बैठकमा पनि एमालेको अवरोध कायम रहने देखिएपछि अनिश्चितकालका लागि स्थगित भएको थियो ।

लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रदेशसभा बैठक खुलाउन फागुन ४ गते सभामुख सानुकुमार श्रेष्ठको पहलमा सर्वदलीय बैठक पनि राखिएको थियो । बैठकमा सदन चलाउने विषयमा सहमति जुटेपछि फागुन १६ गतेको लागि तय भयो ।

उक्त बैठकले संसद् बोलाउने सहमति गरेको भए पनि फागुन १५ मा पुनः सर्वदलीय बैठक आह्वान गरेर सत्तापक्ष र विपक्षी दलहरूको बीचमा भइरहेको विवाद समाधानको पहल गर्ने तय गरिएको थियो । तर सदनमा एमालेको अवरोध नहट्ने देखिएपछि १६ गतेको बैठक पनि रोकियो र बैठक अनिश्चितकालका लागि स्थगित गरियो ।

बागमती प्रदेशसभामा एमालेको अवरोध कायमै छ । एमालेले विभिन्न माग राख्दै सदन अवरुद्ध गर्दै आएको छ । आफ्ना मागका सम्बन्धमा सरकारको उचित जवाफ नआएसम्म एमाले सदन चल्न नदिने पक्षमा छ ।

एमालेले वर्तमान सरकारले मन्त्रालय विभाजन गरेर ठूलो मन्त्रिमण्डल बनाएको, अघिल्ला सरकारका गौरवका योजनाहरू कटौती गरेको, योजना विहीन रूपमा रकमान्तर गरेको, मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको नेकपा एकीकृत समाजवादी पार्टीको कमिटी नबनेको स्थानमा बजेट दिन्न भन्ने अभिव्यक्ति प्रति एमालेले आपत्ति जनाउँदै सरकारको जवाफ माग सदन अवरुद्ध पार्दै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप