आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

देउवा सरकार युक्रेनको पक्षमा ढल्कियो, के भन्छन् परराष्ट्रविद् ?

बुधबार, १८ फागुन २०७८, १६ : ४८
बुधबार, १८ फागुन २०७८

अघिल्लो साता बिहीबारदेखि रुसले आफ्नो छिमेकी देश युक्रेनमाथि सुरु गरेको सैन्य कारबाही जारी छ । रुस–युक्रेन विवादलाई हेर्ने सन्दर्भमा विश्वका विभिन्न देशहरू यतिबेला फरक फरक ध्रुवमा बाँडिएका छन् । सोमबार जेनेभामा भएको संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मा युक्रेनबारे छलफल हुनुपर्ने प्रस्तावमा भएको मतदानमा नेपालले युक्रेनको पक्षमा भोट हालेको छ । तर नेपालका दुई छिमेकी देशहरू चीनले विपक्षमा भोट हालेको छ भने भारत तटस्थ  बसेको छ ।

युक्रेनबारे छलफल हुनुपर्ने प्रस्तावको पक्षमा परिषद्मा रहेका ४७ सदस्य मध्ये २९ मत पक्षमा, विपक्षमा ५ मत र १३ मुलुक भने अनुपस्थित भएर तटस्थता जनाएका थिए । भारतले युद्धको असरका कारण उत्पन्न मानवीय संकट समाधानका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता भने जनाएको छ । उता अमेरिका भने युक्रेनको पक्षमा खुलेर लागिरहेका बेला नेपालले पनि युक्रेनको पक्षमा लाग्नुलाई अमेरिकासँगको सम्बन्ध कारक त हैन भनेर आशंकाले हेर्न थालिएको छ ।

नेपालमा हालै अमेरिकी सहयोग परियोजना एमसीसी पारित हुनु, मंगलबारमात्रै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र प्रधानमन्त्री शेरबहादुर देउवाबीच युक्रेनकै विषयमा कुराकानी हुनु, भारत तटस्थ र चीन विपक्षमा रहेका बेला नेपाल भने युक्रेनको पक्षमा रहनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बिहान ट्वीट गर्दै अमेरिकी विदेशमन्त्रीसँग कुराकानी भएको र सो कुराकानीमा युक्रेनको बारेमा पनि कुरा भएको खुलाएका छन् । मंगलबार बेलुका भएको विदेश मन्त्री एन्टोनी ब्लिन्केन र देउवाबीचको कुराकानीमा नेपालको गरिबी निवारण, विकास र जलवायु परिवर्तनका विषयमा छलफल भएको देउवाले उल्लेख गरेका छन् । साथै युक्रेनको सार्वभौमसत्ताको पक्षमा नेपाल रहेकोबारे पनि छलफल भएको देउवाले उल्लेख गरेका छन् । देउवाले ट्वीटरमा लेखेका छन्–‘हामी हाम्रो प्रगतिको लागि ७५ वर्षको निरन्तर अमेरिकी समर्थनको कदर गर्छौ  । हामीले युक्रेनमा रुसको आक्रमण र युक्रेनको सार्वभौमसत्ताप्रतिको हाम्रो समर्थनबारे पनि छलफल गर्‍यौँ ।’

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपालले मतदान गर्नुअघि नै नेपालको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देश विरुद्ध बल प्रयोग नगरी संवाद र कूटनीतिको माध्यमबाट विवादको शान्तिपूर्ण समाधान गर्न आग्रह गरेको थियो । रुसले युक्रेनमाथि आक्रमण गर्नु संयुक्त राष्ट्रसंघको बडापत्र प्रतिकूल रहेको नेपालले जारी विज्ञप्तिमा उल्लेख गरेको थियो ।

नेपाल पहिलेदेखि नै अन्तर्राष्ट्रिय विवादहरूमा असंलग्न राष्ट्रका रूपमा रहँदै आएको छ । नेपालमा एमसीसी परियोजना पास हुनु र सो परियोजनालाई इन्डोप्यासिक अमेरिकी सैन्य रणनीतिसँग जोडेर प्रचार भइरहेका बेला अमेरिकाले समर्थन गरेको देशलाई नेपालले पनि समर्थन गरेको सन्दर्भलाई फरक फरक कोणबाट विश्लेषण हुन थालेको छ ।  

यसो भन्छन् नेपालका परराष्ट्र मामिलाका जानकार :

युक्रेनको पक्षमा नेपालले मत दिएर ठीक गरेको छ : शम्भुराम सिम्खडा, परराष्ट्रविद्

युक्रेन मामिलामा भारत र चीनले छुट्टै मत राखेका बेला नेपालले एउटा स्वतन्त्र देशको हैसियतले नेपालले आफ्नो मत राख्नु स्वाभाविक भएको परराष्ट्रविद् शम्भुराम सिम्खडा बताउँछन् ।  रातोपाटीसँगको कुराकानीमा उनले भने–‘युक्रेनमा एउटा सानो राष्ट्रलाई एउटा शक्तिशाली राष्ट्रले आक्रमण गरेको बेला नेपालले असहमति जनाएछ । त्यसमा चीन र भारतले असहमति जनाउनुपर्ने कारण देख्दिन । एउटा सार्वभौम राष्ट्रमाथि अर्को राष्ट्रले आक्रमण गर्छ, हस्तक्षेप गर्छ भने त्यस्तो अवस्थामा चुप लागेर अछुतो बस्न सकिँदैन । स्वीट्जरल्याण्ड जस्तो ऐतिहासिक रूपमा तटस्थ बस्ने देशले समेत अहिलेको अवस्थामा यूरोपियन युनियनले गरेका कुराहरूलाई समर्थन गरिरहेको छ । मलाई के लाग्छ भने अहिले नेपालले गरेको काम ठीक छ ।’

उनले अमेरिकासँगको प्रभावमा परेर नेपाल युक्रेनको पक्षमा लागेको हुन नसक्ने बताए । साथै नेपाल अमेरिकाको डलर कूटनीतिबाट प्रभावित भएको भन्नेमा पनि विश्वास गर्न सकिने आधार नभएको उनले बताए । सिम्खडाले नेपालको विकासका लागि यान पनि लिने, डलर पनि लिन सकिने बताउँदै नेपालको राष्ट्रिय हित जे मा देखिन्छ सोही अनुसार सहयोग स्वीकार गर्ने बताए । उनले यो प्रकरणलाई डलर कूटनीतिसँग जोड्न नहुने बताउँदै एउटा स्वतन्त्र सार्वभौम राष्ट्रको पक्षमा नेपाल रहेको हुनसक्ने उनको भनाई छ ।

नेपाल युक्रेनको पक्षमा रहनु एमसीसी वा अमेरिकासँग जोडिएको विषय हैन : प्रकाश शरण महत, पूर्व परराष्ट्रमन्त्री

पूर्व पराराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसका प्रवक्ता प्रकाश शरण महतले नेपाल युक्रेनको पक्षमा रहनुमा एमसीसी परियोजना वा अमेरिकी प्रभाव नरहेको बताए । उनले भने–‘अमेरिका युक्रेनको पक्षमा भयो भनेर हामीले युक्रेनको पक्षमा मतदान गरेका हैनौँ । युक्रेनमा सैन्य आक्रमण भयो । रुस पनि हाम्रो मित्रराष्ट्र हो । रुसको युक्रेनसँग कुनै चिन्ता चासो छ भने त्यसलाई कूटनीतिक माध्यमबाटै समाधान गर्नुपर्छ युद्धबाट हैन । युक्रेनको जुन सार्वभौम राष्ट्रिय अखण्डता छ त्यसको रक्षा हुनुपर्छ । हामीले यसो भन्यो भनेर हामीले भनेका हैनौँ, त्यो शुद्ध रूपमा हामीले भनेका हौँ । कहीँबाट आक्रमण भयो भने हामीले पनि पीडा भोग्छौँ ।’

उनले नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी पारित हुनु, अमेरिकी विदेशमन्त्रीसँग कुराकानी हुनु युक्रेनको पक्षमा नेपाल रहनु संयोग मात्र रहेको बताए । उनले भने–‘हाम्रो बराबरीका आधारमा सबै मित्रराष्ट्रहरूसँग सम्बन्ध रहेको छ । चीन र नेपालबीचको विषयवस्तु छ भने हामी आफै त्यो विषय टुङ्ग्याउँछौ त्यसमा अरू देशले हस्तक्षेप नगरोस् भन्ने हामी चाहन्छौँ । भारत र नेपालबिच केही छ भने पनि हामी आफै टुङ्ग्याउँछौँ । न यो एमसीसीसँग जोडिएको छ न अरू कुनैसँग जोडिएको छ । शुद्ध रूपमा नेपालको हितलाई हेरेर अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरिएको छ । जुन रूपमा अन्तर्राष्ट्रिय जगतमा घटनाहरू घट्ने गर्छ त्यही रूपमा नेपालले आफ्नो प्रतिक्रिया जनाउने गर्दछ ।’

उनले युक्रेनमा दसौँ लाख मानिसहरू विस्थापित भइरहेको, हजारौँ मानिसहरू मरिरहेको र वमवर्षा भइरहेको बेला रुसले गरेको यो काम ठीक छ भनेर हामी बोल्न सक्छौँ ? भन्दै प्रश्न गरे ।

असंलग्न परराष्ट्र नीतिलाई कायम राख्नुपर्छ : रूपक सापकोटा, परराष्ट्र मामिलाका जानकार

परराष्ट्र मामिलाका जानकार रूपक सापकोटा नेपाल असंलग्न परराष्ट्र नीतिबाट कतै विमुख हुन खोजेको हो कि भन्ने आंशका बढेको बताए । रातोपाटीसँग कुरा गर्दै उनले अहिले युक्रेनको सन्दर्भलाई हेर्दा पञ्चशीलमा आधारित रहेर नेपालले अपनाउँदै आएको असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकता अझै बढेर गएको बताए । विश्वमा शक्ति राष्ट्रहरुबीचको प्रतिद्वन्द्विता बढिरहेको अवस्थामा नेपालले आफ्नो संवेदनशील भूराजनीतिलाई समेत मध्यनजर गरेर असंलग्न परराष्ट्र नीतिलाई कायम राख्नुपर्ने उनले बताए । सोही आधारमा नेपालले आफ्नो परराष्ट्र सम्बन्ध अघि बढाउनुपर्ने बताए ।

अमेरिका युक्रेनको पक्षमा रहेको बेला नेपाल पनि सोही पक्षमा रहनुलाई नेपाल अमेरिकाको गठबन्धन वा अमेरिकी रणनीति अन्तर्गत रहेको मान्न नहुने बताए । बरु त्यस्तो अवस्था सिर्जना होला भन्ने सन्दर्भमा सचेत रहनुपर्ने बताए ।

उनले भने–‘अमेरिकाले नेपाललाई आफ्नो गठबन्धन शिविरभित्र राख्न खोज्छ, आइदिओस् भन्ने चाहना हुन सक्छ । नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई जसरी अगाडि बढाउँदै आइरहेको छ, सोही रूपमा लैजानुपर्छ । हालसालैको अमेरिकी सहयोग सम्झौता पारित गर्ने क्रममा नेपालले १२ बुँदामा आफ्नो दृष्टिकोण पारित गरेको छ । पहिलो नम्बरमै नेपाल असंलग्न परराष्ट्र नीति अँगाल्दै कुनै प्रकरण सैन्य गठबन्धन रणनीतिमा सामेल नहुने व्याख्यात्मक घोषणा गरिएको छ ।’

युक्रेनको विषयमा नेपाल अमेरिकाको पक्षमा लागेको भन्दा पनि एउटा स्वतन्त्र राष्ट्रको हैसियतले युक्रेनको सार्वभौमिकता, राष्ट्रिय अखण्डको पक्षमा नेपाल रहेको बुझ्नुपर्नेमा जोड दिए । यसो भन्दै गर्दा नेपालले सचेत हुँदै होसियारीपूर्वक कूटनीतिक सम्बन्ध कायम राख्नुपर्ने उनको भनाई छ ।  सापकोटाले भने–‘अमेरिका जस्तो देशले आफ्नो रणनीतिक शिविरभित्र नेपाल जस्तो मुलुकलाई उभ्याउन खोज्छ वा आइदिओस् भन्ने चाहना हुन सक्छ । जसरी हामीले विगतदेखि अन्तर्राष्ट्रिय सम्बन्धलाई परिभाषित गर्दै आइरहेका छौँ, हाम्रो विगतको अभ्यासलाई कायम राख्दै स्वतन्त्र ढङ्गले आफ्नो दृष्टिकोण बनाउनुपर्छ । यसको मतलब हामीले युक्रेनको बारेमा बोल्दा रसियासँग पनि उक्तिकै मित्रवत् कूटनीतिक सम्बन्ध कायम राख्न चाहन्छौँ । अहिले शक्ति राष्ट्रहरूबीच भूराजनीतिक टकराव उत्पन्न भइरहेका बेला नेपालले पञ्चशीलका सिद्धान्तलाई अवलम्बन गर्दै असंलग्न परराष्ट्र नीतिलाई कायम राखेर अघि बढ्नुपर्छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप