शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा–धनगढी सीधा हवाई उडान सुरु

बुधबार, १८ फागुन २०७८, १६ : १३
बुधबार, १८ फागुन २०७८

पर्यटकीय सहर पोखराबाट धनगढी सीधा उडान सुरु भएको छ । बुद्ध एयरले बुधबारदेखि उडान सुरु गरेको हो । नेपाल टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको पहलमा सीधा उडान सुरु गरिएको हो । योसँगै पोखराबाट प्रदेश १ र कर्णालीबाहेक सबै प्रदेशमा सीधा हवाई कनेक्सन जोडिएको छ । धनगढीमा साताको हरेक आइतबार, बुधबार र शुक्रबार उडान हुने छ । 

बिहान ११ः ४० मा पोखराबाट धनगढी उड्ने जहाज धनगढीबाट १२ः ५० मा फर्किनेछ । ५५ मिनेट उडानका लागि ६ हजार नौ सयदेखि १२ हजार दुई सयसम्म भाडा तोकिएको छ । 

बुधबार नाट्टाको टोली पर्यटन प्रवद्र्धन भ्रमणका लागि धनगढीतर्फ लागेको छ । शुक्रबार सुदूरपश्चिमका तीन जना मन्त्रीसहित टोली पोखरा आउने नाट्टाका अध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिए । नाट्टाकै समन्वयमा यसअघि मधेश प्रदेशका मुख्यमन्त्री डा.लालबाबु राउतको टोली पोखरा भ्रमणमा आएको थियो । 

केही समयपछि नै भद्रपुर र विराटनगरमा पनि हवाई उडानको तयारी छ । यसअघि मधेश प्रदेशको सिमरा, बागमतीको राजधानी काठमाडौंसहित भरतपुर, लुम्बिनीको भैरहवा र नेपालगन्जमा पोखराबाट सीधा उडान हुँदै आएको छ । बुद्ध एयरले पोखरालाई केन्द्र बनाएर नजिकका सहरमा उडान भर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप