यौनजीवन

गर्भनिरोधक साधन र स्थायी बन्ध्याकरण महिलाको ठेक्का !

गर्भ निरोधक साधन प्रयोग गर्ने पुरुषभन्दा महिला चार गुणाले बढी

person explore access_timeफागुन १८, २०७८ chat_bubble_outline0

सिन्धुलीकी ३१ वर्षीया मनिता मोक्तान (नाम परिवर्तन) एक छोरी र एक छोराकी आमा हुन् । ‘दुई सन्तान, ईश्वरका वरदान’ भनेझैं उनी स्थायी बन्ध्याकरण गरेर सुखी जिन्दगी बिताउन चाहन्छिन् । तर श्रीमान्ले इजाजत नदिदा करिब ६ वर्षको अवधिमा उनले दुई पटक गर्भपतन गराइसकिन् । उनका श्रीमान्ले स्थायी बन्ध्याकरण गरे तिमीलाई गाह्रो हुन्छ भन्दै बारम्बार अस्थायी साधन प्रयोगमै जोड दिन्छन् ।


‘फरक फरक अस्थायी साधन प्रयोग गर्दा शारीरिक रुपमा कमजोर महशुस हुन्छ । तर श्रीमान्ले न स्थायी बन्ध्याकरण गर्न दिन्छन्, न त अस्थायी साधनको प्रयोग गर्न मान्छन् । अब सन्तानको रहर पुगिसक्यो ।’ मोक्तानले भनिन् । ३६ बर्षीया सपना प्रधान तीन सन्तानकी आमा हुन् । यस बीचमा उनले पनि दुइपटक गर्भपतन गराइ सकिन् । उनका श्रीमान प्रायः रोजगारको सिलसिलामा विदेश बस्छन्, बर्षमा डेढ÷दुई महिना घर आउँछन् । घर आउँदा श्रीमान्लाई उनले कन्डमको प्रयोग गर्न आग्रह गर्दा समेत मान्थेनन् । स्थायी बन्ध्याकरणको त कुरै सुन्न मन पराउँदैनथे । सो अवधिमा विभिन्न किसिमका गर्भनिरोधक साधन प्रयोग गर्थिन् । प्रधानले गर्भ निरोधकका साधन श्रीमान बसुन्जेल प्रयोग गरेपनि शारीरिक पीडा भने श्रीमान पुनः घरमा फकिर्ने बेलासम्म भोग्न पथ्र्यो । किनभने न त महिनावारी सही समयमा हुन्थ्यो, महिनावारी हुँदा कहिले धेरै रगत बग्ने, कहिले वजन बढ्ने कहिले घट्ने, चक्कर आउने हँुँदा शारीरिक रुपमा कमजोर भइन् । अहिले पाठेघरमा नै समस्या देखिएपछि चिकित्सकले अप्रेशनको सल्लाह दिएका छन् । उनी भन्छिन्, ‘जव मैले गर्भपतन गराएँ, आराम गर्न पाइनँ । शरीर कमजोर हुँदा पनि बाबुनानी ख्याल गर्नुपर्यो । पाठेघरमा समस्या भएकाले अप्रेशन गर्ने अवस्थामा पुगें ।’



पुरुषभन्दा महिला चार गुणाले बढी



मनिता मोक्तान र सपना प्रधान त उदाहरण मात्र हुन्, जसलाई सन्तानको रहर पुगिसक्दा पनि स्थायी बन्ध्याकरण गर्ने इजाजत छैन । गर्भ निरोधक साधन प्रयोग गर्ने पुरुषभन्दा महिला चार गुणाले बढी छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य क्षेत्रमा महिलाहरु स्वनिर्णय गर्न नसक्ने भएकाले अस्थायी बन्ध्याकरण र स्थायी परिवार नियोजन गर्ने महिलाको सङ्ख्या बढेको हो । लामो समयदेखि महिला स्वास्थ्य र विकासमा काम गर्दै आएकी योशानकी सहसंस्थापक नर्स दुर्गा सापकोटाले गर्भनिरोधक साधनका नाममा विश्वमा नै महिलाको शरीरमाथि शोषण भइरहेको बताउँछिन् । उनका अनुसार गर्भनिरोधक साधनको प्रयोग र स्थायी बन्ध्याकरण अपवादमा बाहेक स्वनिर्णय नभई महिलाको लागि बाध्यता भएको छ ।

स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको तथ्याङ्कलाई केलाउँदा पनि नेपालमा गर्भ निरोधक साधन प्रयोग गर्ने र स्थायी साधन प्रयोग गर्ने महिला बढी छन् । यस वर्ष ११ लाख ४४ हजार ८३५ जना पुरुष र महिलाले गर्भनिरोधक साधन प्रयोग गरेका थिए । जसमा अस्थायी साधनको प्रयोगकर्ता जम्मा १ लाख ६२ हजार ५३९ जना मात्र पुरुष रहेका छन् । जसले गर्भनिरोधक विधि कन्डम प्रयोग गरे ।

सात प्रदेशमा परिवार नियोजन सेवा औसतमा ३७.४ प्रतिशतले लिएका छन् । जसमा सबैभन्दा बढी मधेश प्रदेशबाट ४३.५ प्रतिशतले तथा सबैभन्दा कम बाग्मती प्रदेशमा ३१.७ प्रतिशतले सेवा लिएका छन् ।

परिवार कल्याण महाशाखाका अनुसार २०७६–७७ मा २४ लाख ४४ लाख ४१७ जनाले स्थायी र अस्थायी साधन प्रयोग गरेको पाइएको छ । स्थायी बन्ध्याकरण गर्ने १२ लाख ९९ हजार ५५२ छन्, जसमा महिलाको संख्या ९ लाख ९२ हजार ३६ तथा ३ लाख ७ हजार ५१६ पुरुषले बन्ध्याकरण गरेका छन्  ।

परिवार योजना तथा प्रजनन् स्वास्थ्य शाखा प्रमुख कविता अर्यालका अनुसार गर्भनिरोधकका साधनका प्रकार पुरुषको भन्दा महिलाको बढी भएकाले महिलाको सङ्ख्या बढी देखिनुका कारणमध्ये एक हो । महिलाले गर्भ निरोधकका लागि प्रयोग गर्ने साधन इम्प्लान्ट, खाने चक्की (पिल्स), तीन महिने सुई (डिपो सुर्ई), आईयुसीडी छ । पुरुषका लागि कण्डम मात्रै हो ।

बलपूर्वक गर्भनिरोधक साधनको प्रयोग

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा परिवार नियोजनको अधिकारमा बलपूर्ण लिखित मन्जुरीबिना परिवार नियोजनका साधन प्रयोग गराउन नहुने उल्लेख छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा २ को (ङ) र (च) ले गर्भ निरोधकको बारेमा परिभाषा गर्दै दफा ३ को उपदफा (१) ले प्रत्येक महिला तथा किशोर किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि शिक्षा, सूचना परामर्श तथा सेवा प्राप्त गर्ने अधिकार स्पस्ट व्यवस्था गरिएको उल्लेख छ ।

प्रत्येक महिलाले आत्मसम्मानपूर्वक गुणस्तरीय तथा छनौटका विकल्प सहितको प्रजनन स्वास्थ्य सेवा पाउने, सेवा प्रदायक चिकित्सक, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाले थोपरेको नभई यससम्बन्धि शिक्षा, सूचना, परामर्श तथा सेवा आत्मसम्मानपूर्वक पाउने र छनौट गर्न पाउने अधिकार हुन्छ । नेपालमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विषयमा शिक्षा प्रवाह अतिआवश्यक पर्ने अर्यालको भनाइ छ ।

नेपालको सन्दर्भमा प्रजनन् स्वास्थ्यसम्बन्धी कानूनी व्यवस्था राम्रो भएपनि व्यवहारिक रुपमा लागू नभएको अधिवक्ता सविन श्रेष्ठ बताउँछन् । नेपालमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार नेपाली नारीले स्वेच्छाले यसको प्रयोग गर्न पाएका छैनन् ।

३७.४ प्रतिशतले लिए परिवार नियोजन सेवा

सात प्रदेशमा परिवार नियोजन सेवा औसतमा ३७.४ प्रतिशतले लिएका छन् । जसमा सबैभन्दा बढी मधेश प्रदेशबाट ४३.५ प्रतिशतले तथा सबैभन्दा कम बाग्मती प्रदेशमा ३१.७ प्रतिशतले सेवा लिएका छन् । क्रमशः प्रदेश नम्बर १ मा ३९.७ प्रतिशत, गण्डकीमा ३२.८ प्रतिशत, लुम्बिनीमा ३७.३ प्रतिशत, कर्णालीमा ३५.६ प्रतिशत र सुदूरपश्ञ्चिममा ३५.६ प्रतिशतले परिवार नियोजन सेवा लिएका छन् । 

२० बर्ष नपुग्दै बच्चा जन्माउँदा आमा र बच्चा स्वस्थ्य नहुने चिकित्सकहरु बताउँछन् । त्यसैले, नेपालमा नारा छ, ‘बिहेवारी, बीस वर्ष पारी ।’ कानुनतः नपाइए पनि नेपालमा २० वर्ष नपुग्दै विवाह भएको धेरै पाइन्छ । परिवार योजना तथा प्रजनन् स्वास्थ्य शाखा प्रमुख अर्यालका अनुसार कम्तीमा दुई वर्षको जन्मान्तर कायम गरेको खण्डमा मातृ मृत्यु दर ३० प्रतिशतसम्म तथा शिशु मृत्यु दर १० प्रतिशतसम्म घटाउन सकिन्छ ।

योशानका सहायक संस्थापक सापकोटा भन्छिन्, ‘जहिले पनि महिलाको शरीरलाई उपभोग र नियन्त्रण गरिएको छ । विश्वमा नै परिवार नियोजनको साधन प्रयोग गर्ने महिलाको मात्र जिम्मेवारी हो जस्तो गरिएको छ ।’ परिवार नियोजनका साधन महिलालाई मात्रै लक्षित गरी बनाइएको उनको जिकिर छ ।

पुरुषहरुमा स्थायी बन्ध्याकरण गरे कमजोर हुने भ्रम कायम रहेको योशानका सहायक संस्थापक सापकोटा बताउँछिन् । जबकि स्थायी बन्ध्याकरण गर्दा पुरुषलाई भन्दा महिलालाई धेरै गाह्रो हुने उनको भनाइ छ । ‘पुरुषको स्थायी बन्ध्याकरण सजिलो हो । तर, उनीहरु यौन शक्ति घट्ने डरले बन्ध्याकरण गर्न चाहदैँनन् ।’

परिवार नियोजन गर्ने महिलाको सङ्ख्या बढ्दो

महिलाले परिवार नियोजन गर्ने दर नेपालमा मात्रै नबढेर विश्वमा नै बढेको पाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार परिवार नियोजन गर्न चाहने महिलाको सङ्ख्या विगत दुई दशकमा उल्लेख्य रुपमा बढेको पाइएको छ । सन् २००० मा ९० करोड रहेकोमा २०२० मा झण्डै १ अर्व १ करोड पुगेको छ ।

विश्वभर प्रजनन् उमेर १५–४९ वर्षको १.९ अरब महिलाहरुमध्ये १.१ बिलियन परिवार नियोजनको साधनको आवश्यकता पर्छ । जसमध्ये ८४२ मिलियन गर्भनिरोधक विधि प्रयोग गरिरहेका छन् । त्यस्तै, २७० मिलियनले गर्भनिरोधक साधनको आवश्यक पर्ने उल्लेख गरिएको छ । आधुनिक गर्भनिरोधक विधि प्रयोग गर्ने महिलाको सङ्ख्या ६६ करोड ३० लाखबाट बढेर ८५ करोड १० लाख पुगेको छ । गर्भनिरोधक प्रचलन दर ४७.७ बाट ४९.० प्रतिशतमा बढेको छ । सन् २०३० सम्ममा थप ७ करोड महिला थपिने प्रक्षेपण गरिएको छ । 

बन्ध्याकरण सम्बन्धमा भ्रम

परिवार योजना तथा प्रजनन् स्वास्थ्य शाखा प्रमुख अर्याल   अन्धविश्वास र भ्रमका कारण स्थायी बन्ध्याकरण गर्न पुरुषहरु अघि नसर्ने बताउँछिन् । ‘धेरै पुरुष अस्थायी साधन प्रयोग गर्न मान्दैनन् । गर्भ बस्यो भने दुख्न भोग्ने मैले नै हो भन्दै स्थायी बन्ध्याकरण गर्न अघि तम्सिने हुँदा पनि महिला बढी देखिएका हुन्,’ उनी भन्छिन् ।

पुरुषहरुमा स्थायी बन्ध्याकरण गरे कमजोर हुने भ्रम कायम रहेको योशानका सहायक संस्थापक सापकोटा बताउँछिन् । जबकि स्थायी बन्ध्याकरण गर्दा पुरुषलाई भन्दा महिलालाई धेरै गाह्रो हुने उनको भनाइ छ । ‘पुरुषको स्थायी बन्ध्याकरण सजिलो हो । तर, उनीहरु यौन शक्ति घट्ने डरले बन्ध्याकरण गर्न चाहदैँनन् ।’ सापकोटाका अनुसार कमाएर घरपरिवारलाई हेर्नुपर्छ, बन्ध्याकरण गर्दा कमजोर भइन्छ भन्ने मानसिकताका कारण पुरुष अघि सर्दैनन् ।

यस्तै, पुरुषहरु जस्तै महिलामा पनि स्थायी बन्ध्याकरण सम्बन्धमा भ्रम छ । ‘कमाएर ख्वाउने श्रीमान्ले अप्रेशन गर्दा कमजोर हुनुभयो भने परिवारलाई कसले हेर्छ ?’ प्रजनन् स्वास्थ्य शाखा प्रमुख अर्याल भन्छिन्, ‘गाह्रो भएपनि सजिलो भए पनि म आफै बन्ध्याकरण गर्न आएको भन्दै महिला नै पुगेको देखिन्छ ।’

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।