बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

नरभक्षी पाटेबाघ नियन्त्रणमा, निकुञ्जमा बुझाइँदै

बुधबार, १८ फागुन २०७८, १३ : १५
बुधबार, १८ फागुन २०७८

बाँकेमा मान्छेमाथि आक्रमण गरी ज्यान लिइरहेको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरको जंगलबाट बुधबार बिहान साढे १० बजे बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइएको हो । 

फत्तेपुरस्थित सिक्टाको पूर्वी नहर पारि राप्तीपीडित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिए । उनले भने, ‘बिहान ९ः४० बजेतिर डाट हानेको बाघलाई साढे १० बजे फेला पारिएको हो । करिब आठ वर्षको अजंगको भाले बाघ नियन्त्रणमा आएको छ ।’

उक्त स्थानमा बाघको आहाराका लागि १२ दिनदेखि पाडो बाँधेर राखिएको थियो । बाघले पाडोलाई मंगलबार नै सिकार गरेकोमा आज बिहान नियन्त्रणमा लिन सफल भएको कँडेलले बताए । पाडोलाई सिकार गरी मासु खान आएको बाघलाई राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय वन उपभोक्ता समितिलगायतको टोलीले नियन्त्रणमा लिएको हो ।

बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा गरी पाँच महिनामा बाघको आक्रमणमा परेर पाँचजनाले ज्यान गुमाइसकेका छन् । धेरै प्रयास गर्दा पनि लामो समयसम्म नरभक्षी बाघ नियन्त्रणमा लिन सकिएको थिएन । बाघ नियन्त्रणमा नआउँदा स्थानीय बासिन्दा त्रासमा बसिरहेका थिए । 

यसैबीच सो बाघलाई बाँके राष्ट्रिय निकुञ्जलाई जिम्मा लगाउन आवश्यक तयारीसहित ओभरी शम्शेरगञ्ज लैजान लागिएको प्रमुख वन अधिकृत कँडेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप