शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

काँग्रेस मकवानपुरमा नयाँ समिति : पदाधिकारीमा संस्थापन इतरको वर्चश्व

बुधबार, १८ फागुन २०७८, ०९ : १३
बुधबार, १८ फागुन २०७८

नेपाली काँग्रेसको जिल्ला अधिवेशन अन्तर्गत सोमबार भएको पदाधिकारीतर्फ संस्थापन इतर पक्षले जित हात पारेको छ । बुधबार सार्वजनिक भएको पदाधिकारीको अन्तिम परिणाममा संस्थापन पक्षका उम्मेदवारलाई पछि पार्दै इतर पक्ष उम्मेदवारले जित निकालेका हुन् ।

कुल ६ जना पदाधिकारीका लागि भएको निर्वाचनमा संस्थापन पक्षले एक सहसचिव पदमा जित निकाल्दा ५ जना संस्थापन इतरबाट विजयी भएका छन् । मकवानपुरमा संस्थापनको नेतृत्व बुद्ध लामा र आनन्द पराजुलीले गरेका थिए भने इतर पक्षको नेतृत्व जयराम लामिछानेले गरेका थिए ।

पदाधिकारी तर्फ कुल १७ सय ७१ मत गणना हुँदा उपसभापतिमा इतर पक्षका आनन्द कठायत र धर्म लामिछाने विजयी भएका छन् । कठायतले ६११ भने लामिछानेले ६०६ मत प्राप्त गरेका छन् । उनीहरूले उपसभापति पदमा उम्मेदवार रहेका गोपीलाल विश्वकर्मा, रामबाबु बानियाँ, भीम लामा, रमेश गिरी र चन्द्रबहादुर पौडेललाई पराजित गरे ।

विश्वकर्माले ५४२ मत पाउँदा बानियाँले ४८७ पाए भने लामाले ४६३, गिरीले ३५३ र पौडेल ८२ मत प्राप्त गरे । त्यस्तै सचिव पदका पनि इतरका उम्मेदवार विजयी भएका छन् । इतर पक्षबाट उम्मेदवार रहेका भीमसेन महतले ८१३ र इश्वर पाठकले ७३५ मत प्राप्त गरी विजयी भएका हुन् । उनीहरूले संस्थापन पक्षका यतिराज सापकोटा, अर्जुनप्रसाद चौलागाईंले, प्रदीप कोइराला र मानबहादुर पाटा मगरलाई पराजित गरे । सचिव पदका उम्मेदवार सापकोटाले ५४८ मत पाउँदा, चौलागाईंले ३९७, कोइरालाले ३६८ र मगले २५० मत पाए ।

यता सहसचिव पदमा भने संस्थापन पक्षबाट एक जना र इतरबाट एक जना विजयी भएका छन् । सहसचिव पदमा संस्थापन इतर पक्षबाट इन्दिरा न्यौपाने र संस्थापनबाट ताराचन्द्र बजगाईं विजयी भएका छन् । न्यौपानेले ८५० मत र बजगाईंले ५६२ मतका साथ जित हात पारेका हुन् ।

उनीहरूले सहसचिव पदका अन्य उम्मेदवार मिरा स्याङतान, रत्नबहादुर गोले, अर्जुनप्रसाद तिवारी, कृष्णप्रसाद दाहाल र सुमन कार्कीलाई पछि पार्दै जित हासिल गरेका हुन् । निर्वाचनमा स्याङतानले ५२० मत, गोलेले ४१४ मत, तिवारीले ३६२ मत, दाहालले २६९ मत र कार्कीले १२६ मत प्राप्त गरे ।

काँग्रेस मकवानपुरको सभापतिमा भने संस्थापन पक्षका उम्मेदवार बुद्ध लामा सर्वसम्मत चयन भएका छन् । अधिवेशन अन्तर्गत आइतबारबाट सुरु भएको निर्वाचनको प्रक्रिया अन्तर्गत सभापति पदका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा निर्वाचन प्रक्रिया पुगेको थियो । दोस्रो चरणका लागि संस्थापन पक्षका दुई उम्मेदवार लामा र आनन्द पराजुली बीच प्रतिस्पर्धा हुने भएपछि शीर्ष नेतृत्वको पहलमा भएको छलफलबाट भद्र सहमति गर्दै सभापतिमा लामालाई चयन गरिएको हो ।

पहिलो चरणमा भएको निर्वाचनको मत परिणाम अनुसार लामाले पहिलो, पराजुलीले दोस्रो र लामिछानेले तेस्रो स्थान प्राप्त गरेकाले सोही अनुसार लामालाई सभापति छेडिएको थियो । निर्वाचनमा लामाले ५९५ मत, पराजुलीले ५४५ मत र लामिछानेले ५३१ मत प्राप्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप