शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रचण्ड र नारायणकाजीबीच आज पनि छलफल, शुक्रबारको बैठकमा घमासान पर्ने

बुधबार, १८ फागुन २०७८, ०७ : ४३
बुधबार, १८ फागुन २०७८

एमसीसी अनुमोदनको विषयलाई लिएर नेकपा माओवादी केन्द्रभित्र चर्किएको विवाद अझै सेलाउने छाँट देखिएको छैन । एमसीसी अनुमोदनको विपक्षमा उभिएका पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई फकाउन अध्यक्ष प्रचण्ड मंगलबार हात्तीवनस्थित श्रेष्ठ निवासमा पुगेका थिए । दुई नेताहरूबीच मन माझामाझ नभएपछि प्रचण्डले आज श्रेष्ठसँग पनि छलफल गर्ने भएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले सोमबार आफ्नै निवासमा गरेको पत्रकार सम्मेलनमा नारायणकाजी श्रेष्ठलाई वामदेव गौतमसँग तुलना गर्दै पार्टी छाडेर जान सक्ने सङ्केत गरेपछि श्रेष्ठ चिढिएका छन् । पूर्व एकता केन्द्र समूहका नेतासमेत रहेका श्रेष्ठले पार्टीबाट विद्रोह गर्न सक्ने सङ्केत पाएपछि प्रचण्ड मंगलबार उनलाई भेट्न हात्तीवन गएका हुन् ।

मंगलबारको भेटमा प्रचण्डले सोमबारको अभिव्यक्तिप्रति आत्मालोचना गर्दै मिलेर अघि बढ्न आग्रह गरेको श्रेष्ठ निकट एक नेताले बताए । ती नेताले रातोपाटीसँग भने, ‘बुधबार पनि उहाँहरूबीच भेटवार्ता हुँदैछ । शुक्रबारको केन्द्रीय कमिटी बैठकमा हामी आफ्ना कुराहरू राख्छौँ ।’

पूर्वएकताकेन्द्रका ती नेताले भने, ‘बैठकमा हामी जान्छौँ । प्रचण्डजीको एकल पार्टी हो भने त हामीलाई जाओ भनिसकिहाल्नुभो । मुद्दाको हिसाबले उहाँमा कुनै रियलाइजेसन छ कि छैन भन्ने हामी हेर्छौँ । एमसीसी अनुमोदन गर्ने निर्णय महाधिवेशनको नीति विपरीत छ । महाधिवेशनको निर्णय हामीले भनेको कुरा हो कि उहाँले भनेको सही हो, हामी बैठकमा छलफल गर्छौँ ।’

प्रचण्डले माओवादी पार्टीलाई विघटनको दिशातिर लगेको ती नेताले आरोप लगाए । उनले भने, ‘प्रचण्डजीले माओवादी पार्टीलाई सिध्याउनुभो । महाकाली सन्धिको पनि बचाउमा बोल्नुभयो । वामदेव गौतमलाई भनेको हेर्नु न, उहाँ त कहाँ जानुभो ? विधिको दृष्टिकोणले पनि यो त भिन्न विचारप्रति असहिष्णुता भो नि । उहाँको त शेरबहादुर देउवाजीसँग मिलेर पत्र पठाउने बेलादेखि नै देखियो नि । एकाएक आएको त कुरा हैन ।’

अब संसदीय राजनीतिमा माओवादी पार्टीको अस्तित्व कसरी धान्न सकिन्छ भन्ने कुराबाट प्रेरित भएर प्रचण्ड काँग्रेससँग मिलेको नारायणकाजी निकट ती नेताले आरोप लगाए । उनले भने, ‘यसमा नेपाली काँग्रेस सफल भयो । यो माओवादीलाई सिध्याउने अमेरिकी योजना हो । यो एमसीसीको इस्युमा अब माधव नेपालका मान्छे पनि रहँदैनन् माधव नेपालसँग । उनीहरू अब एमालेमै फर्किन्छन् । एमसीसी पास भएपछि माओवादीकै मान्छे एमालेमा गएका छन् ।’

पूर्व एकता केन्द्रले अहिलेसम्म गुटबन्दी नगरेको र पूर्व समूहको बैठक नराखेको ती नेताले बताए । उनले भने, ‘अहिलेसम्म हामीले समूह चलाएका छैनौँ । गुट बनाएका छैनौँ । वैचारिक ढंगले निकटताका आधारमा जाने कुरा भयो । साथीहरू आ–आफ्नो ढंगले स्वतः स्फूर्त बोलिराख्नुभएको छ । साथीहरू शुक्रबारको बैठकमा आउनुहुन्छ, हामी उहाँहरूका कुरा सुन्छौँ ।’

यसअघि नेकपा माओवादी केन्द्रको महाधिवेशनले संशोधनविना एमसीसी पारित नगर्ने निर्णय गरेको थियो । तर, व्याख्यात्मक घोषणाका आधारमा एमसीसीलाई संसद्‍बाट अनुमोदन गर्न प्रचण्ड तयार भएपछि नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, राम कार्की लगायतका नेताहरू यसको विरोधमा उभिएका छन् । यीमध्ये केही नेताले संसद्‍मा समेत एमसीसी विपक्षमा बोलेका थिए । सुरुमा एमसीसीको विरोध गरेका देव गुरुङले भने पार्टीको निर्णयलाई मानेको प्रचण्डले सोमबारको पत्रकार सम्मेलनमा बताएका छन् ।

​नेकपा माओवादी केन्द्र ०६२/०६३ को आन्दोलनपछि नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्र र प्रचण्ड नेतृत्वको नेकपा माओवादीबीच एकता भएर बनेको पार्टी हो । शुरुमा यो पार्टीको नाम एकीकृत नेकपा माओवादी (एमाओवादी) राखिएको थियो । पछि मोहन वैद्यसँग अलग्गिएका बादल, देव गुरुङ, पम्फा भुसालहरु पार्टीमा फर्किएपछि एमाओवादीको नाम फेरेर नेकपा माओवादी केन्द्र बनाइएको हो ।

अहिले एमसीसी प्रकरणमा पार्टीभित्र विवाद देखिएसँगै पूर्वएकताकेन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, विश्वनाथ साह, सांसद अञ्जना बिसंखे र युवा नेता जीवन गौतम लगायतले विद्रोह गरेर पार्टी फुटाउने हुन् कि भन्ने प्रचण्डमा त्रास बढेको छ ।

प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णयपछि पूर्व एकता केन्द्र समूहका नेता मात्रै नभएर पूर्वमाओवादीकै नेता कार्यकर्तासमेत प्रचण्डसँग असहमत र रुष्ट बनेका छन् । पूर्वमाओवादी समूहकै कृष्णबहादुर महरा, राम कार्की, लेखनाथ न्यौपाने लगायतका नेताहरूले समेत प्रचण्डको लाइनको विरोध गरेका छन् । यही कारणले गर्दा शुक्रबार सुरु हुने केन्द्रीय कमिटीको बैठकमा घमासान पर्न सक्ने नेताहरू बताउँछन् । बैठकमा एमसीसी विरोधी पक्षले प्रचण्डमाथि प्रेसर गर्ने सम्भावना बढेको छ । जनयुद्ध लडेर आएको पूर्वमाओवादी समूहले पूर्वएकताकेन्द्र समूहलाई हेप्ने र अपमान गर्ने गरेको पनि नारायणकाजी पक्षधर नेताहरूको गुनासो छ ।    

शुक्रबार बस्ने भनिएको माओवादीको केन्द्रीय कमिटी बैठकको मुख्य कार्यसूची महासचिव लगायतका पदाधिकारीहरू छान्ने हो । तर, सो बैठकमा एमसीसी प्रकरणले उग्र रूप लिन सक्ने सङ्केत देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप